काठमाडौं– प्राणघातक रोग एचआईभी एड्स रोकथामका लागि सचेतना फैलाउने ‘मिडिया म्यासेज’ निर्माणको काम थालिएको छ।
स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक सहयोगमा सञ्चालित ‘कम्प्रिहेन्सीप प्याकेज फर लेबर मोबिलाइजेशन एण्ड दियर स्पाउस’ कार्यक्रमअन्तर्गत नागार्जुन डेभलपमेन्ट कमिटीले रोजगारीका लागि विदेश जाने समूहलाई लक्षित गरी सचेतना जगाउने प्रचार साम्रगी निर्माण गर्न लागेको हो।
नागार्जुनले एचआईभी रोकथाम तथा जोखिम न्युनिकरणका लागि देशका ३८ जिल्लामा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
‘मिडिया (भिडियो, अडियो र पेपर)मा कसरी म्यासेज मोबिलाइजेसन गर्ने, प्रभावकारी विज्ञापन कसरी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ’, नागार्जुनका कार्यकारी निर्देशक जगदिशचन्द्र भट्टले भने– ‘हाम्रो फोकस सचेतना, उपचार, उद्दार र पुनर्स्थापनामा रहेको छ।’ उनका अनुसार रोजगारीका लागि भारत तथा खाडी मुलुक जानेलाई लक्षित गरी मिडिया म्यासेज (जनचेतनामुलक विज्ञापन प्रकाशन तथा प्रशारण गरिनेछ। साथै होडिङ बोर्ड समेत राखिनेछ।
यसै विषयमा नागार्जुनले शनिबार सरोकारवाला निकायसँग छलफल गरेको छ। छलफल कार्यक्रममा एचआईभी रोकथामको क्षेत्रमा लामो समयदेखि सक्रिय विज्ञहरुले प्रभावकारी म्यासेजका लागि विभिन्न सुझाव दिएका थिए। उनीहरुले सचेतना कार्यक्रमलाई ३ महिना मात्रै नभई वर्षैभरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
डा पुलकित चौधरी, बालकृष्ण सेडाई, ऋषि ओझा, कृष्ण सापकोटा र कृष्णप्रसाद नागिला लगायत विज्ञले एचआईभी रोकथामका लागि स्थानीय सरकारले सचेतना कार्यक्रमको स्वामित्व लिनुपर्ने र स्थानीय स्रोत प्रयोग तथा परिचालन हुनुपर्ने सुझाव दिएका थिए।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसीएसस)का निर्देशक वासुदेव पाण्डेले एचआईभी सचेतनासँगै मानव बेचविखनलाई पनि सँगसँगै लिएर जान सुझाव दिए। ‘यसका लागि के के सहयोग गर्नुपर्छ ? हामी तयार छौं। तपाई प्रस्ताव लिएर आउनुस्’, उनले भने।
प्रकाशित: २३ वैशाख २०७५ ०९:१८ आइतबार