१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

काठमाडौ – वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ। 
द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो। 

उक्त संस्थाले हालै सन १९८८ देखि सन २०१७ सम्ममा विश्वभरका विभिन्न मुलुकको सैन्य खर्च सम्बन्धी विवरण सहितको रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा सन २०१७ मा नेपालको सैन्य खर्च ३८६ मिलियन डलर अर्थात ४० अर्ब ३८ करोड २० लाख उल्लेख गरिएको छ । सन २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ रहेको थियो भने सन २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रहेको उल्लेख गरिएको छ। 

रिपोर्टमा नेपालको सैनिक खर्च १० वर्ष अघिको तुलनामा तीन गुणाले बढेको देखाइएको छ । सन २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख गरिएको छ । तीन दशक अगाडी अर्थात सन १९८८ मा नेपालको सैन्य खर्च झण्डै ९० करोड रुपैयाँ रहेको रिपोटमा उल्लेख गरिएको छ। 

सन २०१७ मा नेपालले सैन्य क्षेत्रमा गरेको खर्च कुल ग्राहस्त उत्पादन (जिडिपि) को १.६ प्रतिशत रहेको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा नेपालको उक्त खर्च अर्थसैनिक बलमा गरिएको खर्च बाहेकको भएको जनाइएको छ। 

उक्त संस्थाको रिपोर्टमा दक्षिण एशियाबाट नेपाल सहितका ६ वटा मुलुकको विवरण उल्लेख गरिएको छ । ६ वटा मुलुक मध्य नेपालले अफगानिस्तानलाई उछिनेको छ । अफगानिस्तानको सैनिक खर्च १९१ मिलियन डलर रहेको उल्लेख गरिएको छ । सैनिक खर्चको हिसाबले विश्वकै पाँचौँ स्थानमा परेको भारतको सैन्य खर्च सन २०१७ मा ६३९२४ मिलियन अर्थात ६९.९ बिलियन डलर रहेको छ। 

दक्षिण एशियाबाट दोस्रो स्थानमा पाकिस्तान परेको छ । पाकिस्तानको सैैन्य खर्च २०१७ मा १० हजार सात सय ७७ मिलियन डलर रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बंगलादेशको तीन हजार पाँच सय ९५ मिलियन डलर तथा चौथो स्थानमा रहेको श्रीलंकाको एक हजार आठ सय ६७ मिलियन डलर रहेको छ । दक्षिण एशियाली मुलुक भुटान र माल्दिभ्स भने उक्त रिपोर्टमा सुचिकृत भएका छैनन्। 

२०१७ मा भएको सैनिक खर्चलाई आधार मानेर उक्त संस्थाले सार्वजनिक गरेको रिपोटमा सैनिक खर्चको हिसाबले अमेरिका पहिलो स्थानमा रहेको छ । अमेरिकाले गत वर्ष ६१० बिलियन डलर खर्च गरेको छ । त्यस्तै एशियाली मुलुक चीनले २२८ बिलियन खर्च गर्दै दोस्रो स्थान कायम गरेको छ । अरब मुलुक साउदी अरेयिबा ६९.४ बिलियन डलर सहित तेस्रो, रुस ६६.३ बिलियन डलर सहित चौथो र पाँचौँ स्थानमा दक्षिण एशियाली मुलुक भारत परेको हो। 
सैनिक खर्चको हिसाबले क्रमसः फ्रान्स, बेलायत, जापान, जर्मनी, दक्षिण कोरिया, ब्राजिल, इटली, अष्ट्रेलिया, क्यानडा र टर्की मुख्य १५ मुलुकमा पर्न सफल भएका छन्। 

पहिलो स्थानमा रहेको अमेरिकाको सैन्य खर्च गत वर्षको तुलनामा खासै अन्तर छैन । त्यस्तै दोस्रो ठूलो सैन्य खर्च गर्ने मुलुक चीनले पछिल्लो पटक सैन्य खर्च ५.६ प्रतिशतले बढाएको छ । सन २०१६ मा चीनको सैन्य खर्च २१६ बिलियन डलर रहेको थियो । २०१७ मा रुसले आफ्नो सैन्य खर्चलाई कटौती गरेको छ । रुसले २०१६ मा भन्दा सैन्य खर्च २० प्रतिशतले कम गरेको छ । सन २०१६ मा रुसको सैन्य खर्च ६९.२ बिलियन डलर रहेको थियो। 

सन २०१७ मा विश्वभरको सैन्य खर्च १७३९ बिलियन डलर पुगेको उल्लेख गरिएको छ । यो अघिल्लो वर्ष अर्थात २०१६ को तुलनामा १.१ प्रतिशतले बढि हो । यो खर्च सित युद्ध सकिएपछिको सबैभन्दा उच्च बिन्दु भएको रिपोर्टमा उल्लेख छ । 

प्रकाशित: २३ वैशाख २०७५ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App