८ वैशाख २०८१ शनिबार
राजनीति

यस्तो छ मोदीको सुरक्षा तयारी

मोदीको स्वागतका लागि जानकी मन्दिर–बाह्रबिघा सडक खण्डसँग जोडिएको भित्तामा मिथिला चित्रकला कोर्दै कलाकार। तस्बिरः सुरेश/नागरिक

काठमाडाै‌ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर गृहमन्त्रालयले सुरक्षा तयारी थालेको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा तयारी थालेको हो। मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा बनेको सुरक्षा समितिले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा तयारीका लागि समन्वय थालेको हो।

सो कार्यविधिअनुसार मोदीको सुरक्षाका लागि पहिलो घेरामा रहने नेपाली सेना तैनाथ हुने भएकाले सुरक्षाको सबै जिम्मेवारी नेपाली सेनाले नै लिनेछ। गृहमन्त्रालयले भ्रमण हुने संभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सम्बन्धित जिल्ला सुरक्षा समितिसँग आवश्य समन्वय गरिरहेको छ। मन्त्रालयका सहसचिव एवं शाीनत सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीले अतिविशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि २०७० अनुसार मन्त्रालयले तयारी गरिरहेको बताए। ‘भ्रमणको जहाँ जहाँ संभाव्यता छ त्यहाको प्रमुख अधिकारी तथा जिल्लास्थित सुरक्षा समितिसँग समन्वय हुने कार्यभैरहेको छ जनकपुर र मुक्तिनाथको भ्रमण हुने सम्भावना रहेकाले त्यहाँ प्रमुख अधिकारी र सुरक्षा प्रमुखसँग समन्वय गर्ने काम भैरहेको छ’, सहसचिव सुवेदीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदैछन्। उनको दुईदिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन महानगरीय प्रहरी कार्यालयले दुई दिने विशेष सुरक्षा योजना तयार पारेको छ।

‘भ्रमणको जहाँ जहाँ सम्भाव्यता छ त्यहाको प्रमुख अधिकारी तथा जिल्लास्थित सुरक्षा समितिसँग समन्वय हुने कार्यभैरहेको छ जनकपुर र मुक्तिनाथको भ्रमण हुने सम्भावना रहेकाले त्यहाँ प्रमुख अधिकारी र सुरक्षा प्रमुखसँग समन्वय गर्ने काम भैरहेको छ।’

सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी काठमाडौमा आउँदा जनकपुर र मुक्तिनाथ जाने कार्यक्रम तय भए पनि त्यसबेला स्थगित गरिएको सो कार्यक्रम अहिले निरन्तर हुने भएकाले त्यहा पनि सुरक्षा तयारी भैरहेको मन्त्रालयले जनाएको छ ।भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा नेपाली सेनाकै जिम्मेवारी भएकाले त्यसै अनुसार तयारी भैरहेको सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायकरथि गोकुल भण्डारीका अनुसार भिभिआइपीको सुरक्षा नीति अनुरूप परिचालित हुनेछ। ‘सरकारले तय गरेको कार्यविधि अनुसार नेपाली सेनाले उहाँको भ्रमणको बेला सुरक्षा तयारी थालिसकेको छ’, सहायकरथि भण्डारीले भने। उनका अनुसार नेपाल प्रवेश गर्ने हवाईमार्गमा पर्ने स्थल मार्ग र मुक्तिनाथ जाने हवाईमार्गमा पर्ने स्थलमार्गपनि बाटोमा पर्ने सेनाका सबै युनिटलाई ‘हाइअलर्ट’ मा राखिने छ। ‘कुनै पनि बेला आकस्मीक अवतरण गर्ने अवस्था आए नेपाली सेनाले नै सुरक्षा दिन्छ त्यसकारण बाटोमा पर्ने सबै युनिट ‘हाइअलर्ट’ मा राखिनेछ’, सहायक रथि भण्डारीले भने।

विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। महानगरीय प्रहरी कार्यालय, परिसरले त्यसको तयारी गरिरहेका छन् । वैशाख २८ गते बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतीय प्रधानमन्त्री मोदी बस्नका लागि तय गरिने होटलसम्मको सुरक्षा व्यवस्था कडा गर्नुका साथै सो समयमा सुरक्षा निकायले तय गरेका बाहेक सडकमा सवारीसाधान चल्ने छैनन्। उनले यात्रा गर्ने ‘बुलेटप्रुफ’ गाडीको पछुवामा विशेष प्रवधि जडित ‘जामर’ गाडीसहित र दाँया–बाँया तथा अगाडि पछाडिबाट छ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतको दाबी छ। उनले नेपाल भ्रमणको क्रममा प्रयोग गर्ने ‘बुलेट प्रुफ’ गाडी भने भारतबाटै ल्याउन लागिएको हो। उनको आन्तरिक (भित्री) सुरक्षामा भारतीय सेनाको ‘स्पेसल’ कमान्डोलाई नेपाली सेनाले नै परिचालन गर्नेछ भने त्यहाँ नेपाली सेनाको स्पेसल कमान्डो खटिनेछ।

बाह्य सुरक्षा, सूचना सङकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिनेछ। तर, सुरक्षाको कारण देखाउँदै उनले प्रयोग गर्ने सवारी रुटबारे भने जानकारी दिइएको छैन। उहाँ काठमाडौँ पुगेर जनकपुर जाने वा जनकपुर हुँदै काठमाडौंँ आउने भन्ने विषयमा पनि अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। यस्तै, जनकपुरमा हुने नागरिक अभिनन्दन र मुक्तिनाथको धार्मिक भ्रमणका क्रममा सेनाको विशेष कमान्डो र हेलिकोप्टरसहितको टोलीले उच्चस्तरीय सुरक्षा प्रदान गर्ने भएको छ। प्रहरीका अनुसार, काठमाडाैँ बाहिरको सुरक्षा व्यवस्था स्थानीय प्रहरीले नै गर्नेछ। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला जनकपुरको शान्ति सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइने दुवै सीमानामा क्षेत्रहरुमा समेत सुरक्षा निगरानी बढाइएको गृहमन्त्रालयले जनाएको छ। काठमाडौंमा हुने नेपाली सेनाको तर्फबाट ‘गार्ड अफ अनर’ दिइनेछ भने नागरिक अभिनन्दन भने हुने वा नहुने भन्ने कुनै कार्यक्रम तय भएको छैन। काठमाडौमा नागरिक अभिनन्दन भएमा काठमाडौ महानगरपालिकाले कार्यक्रम तय गर्नेछ। जनकपुरमा हुने कार्यक्रमको सबै तयारी भने त्यहाँको प्रदेश सरकारले गर्नेछ।

प्रकाशित: २३ वैशाख २०७५ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App