coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्षमता भन्दा चारगुणा बढी कैदी

जिल्ला कारागार तेह्रथुम। तस्बिरः भगिश्वर /नागरिक

तेह्रथुम – जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ। २५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको कारगारमा अहिले ९८ जना कैदीबन्दी छन्।

क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार जितेन्द्र कार्कीले बताए। उनले भने, “कारागारमा  क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” जिल्ला कारगारमा अहिले ८१ जना कैदी र १७ जना थुनुवा, ६ जना महिला र १ जना नाबालक गरी जम्मा ९८ जना कैदीबन्दी रहेको जिल्ला कारागार तेह्रथुमका जेलर उमेश घिमिरेले बताए। पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर घिमिरेले बताए।

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई विद्यमान समस्याबारे पटकपटक जानकारी गराउँदै आएपनि सुनवाई नभएको कारागार प्रशासनले जनाएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि रासन, स्वास्थ्य उपचार, विद्युत र पानीको समेत समस्या भइरहेको चौकीदार कार्कीले बताए। क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ।

जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले बर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी मन कुमार लिम्बुले बताए। उनले भने पुरुषको सख्या बढी भए पछि शौचालय जादा समेत पालो पर्खिनु पर्ने समस्या रहेको छ।

जिर्ण भएको कारागार सार्नका लागि यसअघि पटक पटक गृहमन्त्रालयको ध्यानाकर्षण गराएपनि कारागार सार्न नसकिएको जेलर घिमिरेले जानकारी दिए। जिर्ण कारागार नसार्दा कुनै समय ठूलो दुर्घटना हुने सम्भावना रहेकोले कैदी बन्दीहरू चिन्तीत छन्। सदरमुकाम म्याङलुङमा रहेको कारागार २०२८ सालमा निर्माण भएको थियो।

प्रकाशित: २३ वैशाख २०७५ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App