७ वैशाख २०८१ शुक्रबार
कला

नाफामा नाटक!

काठमाडौं – न करोड लगानी न त धेरै जनशक्ति। सीमित बजेट, सीमित कलाकार अनि पुग्दा दर्शक। जहाँ फिल्म लगानी उठाउन संघर्ष गरिरहेका छन् त्यही राजधानीमा मञ्चन भइरहेका नाटकले भने घाटा बेहोर्नु परिरहेको छैन। फिल्मका लागि कलाकार जन्माउने नाटकघरमा पछिल्ला वर्षमा नाटकसँगै  दर्शकको संख्या बढ्दै गएपछि नाटकहरू व्यावसायिक रुपमा पनि सफल बनिरहेका छन्। रिहर्सल, मञ्च सजावटदेखि मञ्चनसम्म लाग्ने खर्च नाटकघरले नाटक देखाएरै मात्र उठाउन थालेका छन्।

राजधानीका मण्डला थिएटर, सर्वनाम थिएटर, शिल्पी थिएटर र थिएटर मलमा अघिल्लो वर्ष झण्डै ३६ को हाराहारीमा नाटक मञ्चन भए। केही अपवादबाहेक अधिकांश नाटकले लगानी सुरक्षित गरेका छन्।

राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा २०७४ मा एघार नाटक मञ्चन भए। जसमा ६ नाटक मण्डलाकै उत्पादन थिए भने बाँकी ५ नाटक नाटकघरलाई भाडामा दिएर सञ्चालन गरिएको थियो । मण्डलाले उत्पादन गरेका प्रायः सबै नाटकको लगानी सुरक्षित छ। ‘हाम्रो ठूलो खर्च रिहर्सल, मञ्च  व्यवस्थापन र प्रप्समा हो। यो सबै खर्च मञ्चन भएका नाटकले नै उठाइरहेका छन्,’मण्डला नाटकघरकी मेनेजर तथा सेयर सदस्य नविना अर्याल भन्छिन्,‘अहिलेसम्म हामीले देखाएका नाटकले लगानी सुरक्षित गरेका छन्। नाटकहरु कुनै एक महिना, तीन हप्ता वा दुई हप्तासम्मका हुन्छन्। प्रोडक्सन, हल भाडाको खर्च कटाएर कलाकारलाई दामासाही पैसा बाँड्न पुगेको छ।’ केही अपवाद बाहेक अधिकांश नाटक आर्थिक रुपमा सुरक्षित छन्।

फिल्मका लागि कलाकार जन्माउने नाटकघरमा पछिल्ला वर्षमा नाटकसँगै  दर्शकको संख्या बढ्दै गएपछि नाटकहरू व्यावसायिक रुपमा पनि सफल बनिरहेका छन्। रिहर्सल, मञ्च सजावटदेखि मञ्चनसम्म लाग्ने खर्च नाटकघरले नाटक देखाएरै मात्र उठाउन थालेका छन्।

उनका अनुसार मण्डलाले एउटा नाटकका लागि अधिकतम डेढ लाख रुपैंयाँ खर्च गर्ने सीमा निर्धारण गरेको छ। ‘कहिलेकाँही नाटकमा बजेट बढी खर्च पनि हुनसक्छ। यो बेला हामी नाटकको मार्केटिङ गर्छौ। सामाजिक सञ्जालदेखि मिडियामार्फत नाटकको प्रचार गर्छौ। जसकारण नाटक हेर्ने दर्शकको मात्रा बढ्छ,’अर्यालले भनिन्,‘बजेट बढी हुँदा पनि लगानी जेनतेन उठेको छ । एक दुई वर्ष यता नाटक र दर्शकको संख्या बढेकाले लगानी नउठला कि भनेर आत्तिनु पर्ने अवस्था छैन।’ कलेज तहका विद्यार्थीहरूमा नाटक हेर्ने लहर चलेकाले पनि नाटकघर खाली हुने अवस्था नरहेको नविनाको अनुभव छ। स्थापनाको ६ वर्षमा मण्डला थिएटरमा ५७ नाटक मञ्चन भइसकेका छन्।

डिल्लीबजारस्थित सर्वनाम थिएटरलाई नाटकको लगानी उठाउन गाह«ो परेको छैन्। सर्वनामका राज शाहका अनुसार अघिल्लो वर्ष झण्डै एक दर्जनको संख्यामा नाटक मञ्चन हुँदा प्रायः सबै नाटकको लगानी सुरक्षित नै रह्यो। ‘पहिला–पहिला नाटकको लगानी कम थियो। अहिले हामी अधिकतम २ लाखसम्म खर्च गर्छौ। लगानी गरे अनुसार पैसा पनि उठ्छ,’शाहले नागरिकसँग भने,‘किनभने दर्शकको चाप राम्रो छ। जति नाटक मञ्चन भएका छन्। ती नाटकको लगानी उठेर खर्च कटाई कलाकार र निर्देशकमा दामासाही बाँड्दै आएका छौं।’

राजको बुझाइमा नाटक फिल्म जस्तो कहिल्यै ‘फ्लप’ हुँदैन। ‘अहिलेका दर्शक धेरै बाठा भइसकेका छन्। उनीहरू कस्तो नाटक रुचाउँछन् भन्ने अध्ययन गरेरै हामी नाटक तयार पार्छौ,’शाहले भने,‘शुक्रबार, शनिबार र आइतबार प्राय थिएटर हाउसफुल हुने र अन्य बार पनि राम्रै मात्रामा दर्शक आउनाले पनि नाटकको लगानी सुरक्षित हुने सम्भावना धेरै हुन्छ।’ उनका अनुसार अघिल्लो वर्ष सर्वनाममा मञ्चन भएका एकादुई नाटकलाई मात्र लगानी उठाउन धौ–धौ परेको थियो। सर्वनाममा एउटा नाटक १ सय ८० देखि अधिकतम २ सय २०सम्म दर्शकले हेर्न सक्छन्।

मण्डला र सर्वनामको भन्दा बत्तिसपुतलीस्थित शिल्पी थिएटरको कथा अलिक फरक छ । अघिल्लो वर्ष यो थिएटरमा आफ्नै, सहकार्यका र भाडाका गरी झण्डै एक दर्जनको हाराहारीमा नाटक मञ्चन भए। शिल्पीका निर्देशक तथा कलाकार घिमिरे युवराज नाटकको लागत कलाकार अनुसार बढ्ने र घट्ने बताउँछन्। ‘नयाँ कलाकार लिएर नाटक गर्दैछौं भने अवश्य पनि त्यसको लागत कम हुन्छ। तर नाम चलेका कलाकार नाटकमा राख्दा त्यसको लागत बढ्छ। किनकि उहाँहरूलाई रिहर्सल अघि नै पारिश्रमिकसहित अनुबन्ध गरिसकेका हुन्छौं,’घिमिरेले खुलाए,‘राम्रो चलेका कलाकारलाई लिएर राम्रो नाटक मञ्चन गर्दा अलिक बढी जोखिम हुन्छ। त्यो हुन नदिनका लागि हामी दर्शकको चासो अनुसारको नाटक बनाउँछौं। सामाजिक सञ्जाल र मिडियाबाट प्रचारप्रसार गर्छौ । घाटैमा जाने अवस्था छ भने नाटक गर्दैनौं।’

त्यसका बावजुद युवराजले कलेजस्तरका मात्र दर्शकको सीमितता भइरहेको नाटकमा उच्च तहका दर्शक र वास्तविक निर्माता ल्याउन नसक्नु दुःखद रहेको बताए। ‘हामीले नाटकको मार्केटिङ गर्न जानेनौं। कर्पोरेट तहसम्म नाटकको मार्केटिङ गर्न सक्यौं भने नाटकलाई ठूलो फाइदा छ। किनकि फिल्ममा जस्तै नाटकलाई पनि ब्रान्डिङ गर्न सकिन्छ,’उनले भने,‘तर ब्रान्डलाई कन्भिन्स गराउन सकिएन। निर्माता र ब्रान्ड नहुँदा पनि दर्शकले नाटकलाई माया गरिरहनुभएको छ। यो नै सुखद कुरा हो।’ शिल्पी थिएटरमा १ सय ८४ दर्शक क्षमता छ।

तीन वर्ष अघि खुलेको थिएटर मल गत वर्ष बन्द भयो। सुन्धारास्थित काठमाडौं मलमा सञ्चालित यो थिएटरले अघिल्लो वर्ष एउटा नाटक ‘आन्दोलन’ मञ्चन गरेर थिएटर बन्द ग-यो । थिएटर बन्द हुनुअघिसम्म यहाँ झण्डै १९ नाटक मञ्चन भए। जसमा मल आफैंले ६ वटा नाटक मञ्चन गरेको थियो । थिएटर मलका केदार श्रेष्ठले पछिल्लो समय नाटकमा गरेको लगानी उठ्ने वातावरण बनिरहेको दाबी गर्छन्। ‘नाटकमा फिल्मको जस्तो हिट र फ्लप हुँदैन। किनकि नाटक फिल्म जस्तो हुँदैन। तर पनि लगानी चाहिँ उठाइरहेका छन्,’केदारले भने,‘पछिल्लो समयमा दर्शकहरू मानवीय संवेदना, हास्यप्रदान नाटकमा बढी आकर्षित देखिएका छन्। नाटकमा लगानी गरेर हतास हुनुपर्ने अवस्था चाहिँ छैन।’

फिल्ममा जस्तो करोड लगानी गरेर फिल्म नचल्दा निर्माताले टाउकोमा हात राख्नुपर्ने अवस्था  नाटकमा छैन। तर कलाकारले यसलाई भरपर्दो पेसाको रुपमा लिनका लागि भने नाटकघरले अझै दर्शक बढाउनु पर्ने देखिन्छ। अहिले पनि कलाकारको मुख्य कमाइ नाटकघरमा मञ्चन हुने नाटकभन्दा एनजिओको चाखमा बनाइने नाटकमा आश्रित छ।

प्रकाशित: २३ वैशाख २०७५ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App