८ वैशाख २०८१ शनिबार
समाज

यात्रु बसबाट चाइनिज स्याउ तस्करी

ठाढी(सिरहा) – करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ । लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ। जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

लहान–भगवानपुर–ठाढी र लहान–सुखिपुर–बरियारपट्टी चल्ने यात्रु बसमा लोड गरी ठाढी र बरियारपट्टी नाका मार्फत भारततर्फ स्याउ तस्करी भैरहेको छ । चाइनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ । लहानबाट दैनिक जाने स्याउ सीमावर्ती बजारमा भण्डारण गरेर भारततर्फ तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्। 

सिरहाको सीमावर्ती सहर ठाढी र बरियारपट्टीमा दैनिक १० किलो स्याउको पनि बिक्री खपत छैन । तर, दैनिक त्यहाँ बस मार्फत १ सयदेखि ५ सय कार्टुनसम्म स्याउ भण्डारण हुने गरेको स्थानीय बताउँछन्।

सिरहाको बरियारपट्टी र ठाढी नाकाबाट पछिल्लो एक सातादेखि बसमा स्याउ भारत तस्करी हुँदै आएको स्थानीय बासिन्दाहरुले बताए। विभिन्न स्थानबाट चाइनिज स्याउ लहानमा स्टोर गरी उक्त सीमावर्ती भूभागसम्म पुर्‍याउने र त्यसपछि सुरक्षाकर्मीबाट सुरक्षित संकेत पाएको समयमा उक्त स्याउ भारततर्फ तस्करी गर्ने गरिएको छ । लहानमा भण्डारण गरिने चाइनिज स्याउ ठेलामा लोड भई ठाढी र बरियारपट्टी बस स्टेण्डबाट पटक–पटक गरी सीमा क्षेत्रको नेपाली बजारमा पुर्याउने गरिएको सीमाक्षेत्रका स्थानीयको भनाइ छ ।

स्याउ तस्करी गर्दा सीमामा रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीसमेतले नदेखेको जस्तो गर्ने गरेकाले उनीहरूको मिलेमतो हुन सक्ने स्थानीयको दाबी छ । लहान–महेशवारी–भगवानपुर हुँदै दिउँसै सीमा क्षेत्र ठाढी पुर्याइन्छ। यहाँबाट दिउँसै उक्त स्याउ सीमा पार गरी भारतीय सहर लौकाहा, खुटौना पुर्याइने गरेको स्थानीयले बताए । सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारी समेत मिलेमतो गरेकाले चाइनिज स्याउको तस्करीका लागि सीमानाका खुलेको सीमावर्ती ठाढीका एक जेष्ठ नागरिकले भने।

ठाढी नाकाबाट चाइनिज स्याउ र मदिरा सीमाका सुरक्षा अधिकारीलाई लाइन मिलाएर भारततर्फ तस्करी हुँदै आएको स्थानीयहरूको कथन छ। बिहारमा मदिरा प्रतिबन्धितभएपछि नेपालबाट मदिराको तस्करी बढेको हो।

सिरहामा सबभन्दा बढी ठाढी र बरियारपट्टी नाकाबाट स्याउ र मदिराको आरपार हुने गरेको छ। विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सुरक्षा प्रमुख वा सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको छ। ‘हामी त आदेशपालक हौं,’ बरियारपट्टी क्षेत्रमा कार्यरत एक प्रहरी जवानले भने,‘हाकिमकै आदेशमा लाइन मिलाएर स्याउ, मदिरा र पेट्रोल पारि पार हुँदा हामी रोक्ने अवस्था हुन्न।’

पछिल्लो समय ठाढी र बरियारपट्टी नाकामा चल्ने प्रत्येक यात्रु बसमा स्याउ कोचेर सीमापार गर्नेहरूको जगजगी छ। पछिल्लो समय सिरहा नाकामा तस्करको रजाँइ छ। सेटिङ मिलेपछि तस्करका सामान स्थानीय सुरक्षाकर्मीबाट पक्राउ पर्ने भय हुँदैन, एक स्याउ व्यपारीले भने,‘प्रहरी मिलेपछि माल पक्राउपर्ने जोखिम हुँदैन।’ माल पक्राउ पर्ने जोखिम प्रहरीबाटै हुन्छ ती व्यपारीले भने,‘प्रहरीलाई मिलाएपछि लाइन क्लियर।’ पछिल्लो समय तेस्रो मुलुकको स्याउ तस्करीको प्रमुख नाका ठाढी र बरियारपट्टी बन्नुमा सहज सुरक्षा सेटिङलाई प्रमुख ठान्छन् यहाँका व्यपारीहरु । वारीबाट स्याउ, पेट्रोल र मदिरा पारी त्यसैगरी पारीबाट प्रतिबन्धित कुखुरा, प्रतिबन्धित साना साईजका ग्यास सिलिण्डर वारी भित्रिने क्रम बढेको छ।  

सिरहाको ठाढी नाकामा भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट र प्रहरी चौकी छ । बरियारपट्टी नाकामा पनि भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट र प्रहरी चौकी छ।  

सन १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु तथा सामान आफ्नै मुलुकमा खपत गर्नुपर्ने उल्लेख छ । नेपालका लागि भित्रिने तेस्रो मुलुकको चाइनिज स्याउ भारत लग्दा अवैध ठहरिन्छ।

प्रकाशित: २३ वैशाख २०७५ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App