४ वैशाख २०८१ मंगलबार
राजनीति

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

काठमाडौं – नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म द्विशताब्दी समारोहका अवसरमा आयोजित ‘आजको माक्सवादः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भुसालले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पार्न नहुने बताए। भ्रम छरेर राष्ट्रलाई बचाउन नसकिने दाबी गर्दै भुसालले भने ‘भ्रमले राष्ट्र बचाउँदैन, राष्ट्र बचाउन जनतालाई शिक्षित गराउनुपर्छ,।’

पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका सयौँ नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा बोल्दै नेता भुसालले पानी जहाज र रेल नेपालको प्राथमिकताभित्र पर्छ कि पर्दैन भनेर प्रश्न गरेका थिए। उनले चाहिने ठाउँमा खर्च नै नभएको भन्दै प्राथमिकता विपरीतको समृद्धिले मुुलुकको हित नगर्ने दाबी गरे। घर जग्गा बेचेर सुन खरिद गरेको उदाहरण दिँदै नेता भुसालले नेपालका प्राकृतिक स्रोतसाधन बेचेर समृद्धि ल्याउन खोज्दा भोलिको पुस्ताले गम्भीर अवस्था भोग्नुपर्ने तर्क गरे।

पानी जहाज र रेल नेपालको प्राथमिकताभित्र पर्छ कि पर्दैन? चाहिने ठाउँमा खर्च नै नभएको भन्दै प्राथमिकता विपरीतको समृद्धिले मुुलुकको हित गर्दैन।

महत्वपूर्ण संवैधानिक निकाय अख्तियारमा लोकमानसिंह कार्की तथा सर्वाेच्च अदालतमा गोपालप्रसाद पराजुली जस्ता व्यक्तिलाई जिम्मा लगाउन राजनीतिक दलहरूकै स्वार्थले काम गरेको भुसालको आरोप थियो। ‘हामीले खोजेको नेतृत्व कस्तो हो? लोकमान कार्की र गोपालप्रसाद पराजुलीलाई किन ल्याइयो, किन गए ? महत्वपूर्ण निकायको जिम्मा यस्ता व्यक्तिलाई लगाएर हामीले मुलुकलाई कता लैजान खोजका हाँै?’ भुसालले प्रश्न गरे। भुसालले इञ्जिन बिग्रिएको जहाजको पखेटा मर्मत गरेर नहुने बताए। ‘जहाजको इञ्जिन नै बिग्रएको छ भने पखेटा मात्र सिंगारेर काम गर्दैन, नेपाल यस्तो विषयमा गम्भीर हुन आवश्यक छ,’ भुसालले भने। दलाल पुँजीपतिको फाइल बोकेर हिड्ने सांसद तथा सरकारी निकायले मुलुकलाई बर्बादितर्फ लगिरहेको दाबी गरे।

उनले पार्टी बैठकमा कस्तो मान्छेलाई महत्वपूर्ण जिम्मेवारी दिने भन्ने विषयमा छलफल नै नहुने गरेको आरोप लगाए। ‘सकेसम्म पार्टी बैठक नै बस्दैन, यदी अर्काे गुटलाई तह लगाउनु छ भने मात्र पार्टी बैठक बस्छ,’ उनले भने।

उनले मुलुकको विकास र समृद्धिका लागि सबैभन्दा पहिले राष्ट्रिय पूँजीको विकास गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय पुँजी तथा नेपालीकै सहभागितामा ल्याइने पानी जहाज तथा रेलले मात्र नेपालको भलो हुने उनको भनाइ थियो।

नेता भुसालले विकासको जिम्मा एक जना व्यक्तिको जिम्मामा छोड्न नहुने बताए। ‘विकास एकजना व्यक्तिको जिम्मा मात्र होइन, यसको समग्र पार्टीले नै लिनुपर्छ,’ उनले भने। एक जना व्यक्तिको जिम्मामा मात्र विकास निर्माण छोड्दा व्यक्तिले जिम्मेवारीबाट पन्छिँदा समग्र विकास नै प्रभावित हुने उनको भनाइ थियो। शुक्रबारदेखि सुरु भएको कार्यशालमा शनिबार भुसालले मात्र मन्तव्य राखेका थिए। कार्यशाला समूहगत छलफल गर्दैै शनिबार सकिएको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App