काठमाडौं – निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) ५४ प्रतिशत जनसंख्याको पहुँचमा पु-याएको छ। प्रमुख सहरमा चौथो पुस्ताको सेवा (फोरजी) पु-याएको ऐनसेलले मुलुकभर थ्रिजी पु-याउने योजना बनाएको छ।
एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको सन् २०१७ को एकीकृत वार्षिक प्रतिवेदनमा कुल जनसंख्याको ५४ प्रतिशतमा थ्रिजी पु-याएको उल्लेख छ।
‘एनसेलको थ्रिजी सेवा कभरेज ५३.९ जनसंख्यामा पुगेको छ,’ उक्त वार्षिक प्रतिवेदनमा भनिएको छ। एनसेलले सन् २०१७ को अन्त्यसम्ममा दुई हजार ६ सय ९९ थ्रिजी साइटहरु जडान गरी सेवा सञ्चालन गर्दै आएको छ।
प्रतिवेदन अनुसार, एनसेलले आफ्नो फोरजी सेवा १५.५ प्रतिशत जनसंख्याको पहुँचमा पु-याउँदै २१ सहरमा विस्तार गरेको छ । फोरजी र थ्रिजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको कम्पनीले जनाएको छ। कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको छ। साथै, इन्टरनेट खपतको परिमाण पनि एक सय ३१ प्रतिशतले वृद्घि भएको उक्त प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले सन् २०१७ मा कुल ५८ अर्ब १० अर्ब रुपैयाँ आम्दानी गरेको थियो। साथै, उसले आफ्नो नेटवर्क र सेवाको गुणस्तर सुधारका लागि १२ अर्ब लगानी गरको जनाएको छ । प्रतिवेदन अनुसार एनसेलका एक करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोबाइल इन्टरनेट सेवा लिइरहेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी नीतिको आधारमा एनसेललाई गत वर्ष जेठमा ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अपनाउन अनुमति दिएको थियो। यसैका आधारमा एनसेलले १८०० मेगाहर्ज ब्यान्डमा आफूलाई प्राप्त ११ मेगाहर्ज फ्रिक्वेन्सीमध्येबाट पाँच मेगाहर्ज फोरजी सेवा विस्तारमा प्रयोग गरेको छ।
एनसेलले देशभरका एक हजारभन्दा धेरै विकट तथा दुर्गमका ठाउँमा आफ्नो थ्रिजी सेवा विस्तार गर्ने यसअघि नै घोषणा गरेको थियो।
मुलुकमा उच्च गतिको मोबाइल इन्टरनेट सेवाको पहुँच विस्तार हुँदा यसले प्रत्येक ग्राहकलाई मात्र नभएर मुलुककै आर्थिक अवस्था सुधार गर्न सहयोग गर्छ। विश्व बैंकले गरेको एक अध्ययन अनुसार, मोबाइल ब्रोडब्यान्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ । ब्रोडब्यान्ड जनघनत्वमा १० प्रतिशत बिन्दुले वृद्धि हुँदा देशको आर्थिक वृद्धिदर १.३८ प्रतिशत बिन्दुले बढ्ने उक्त अध्ययनले देखाएको छ ।
नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा मोबाइल डाटाहरू जिपिआरएस, थ्रिजी, फोरजी प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्राधिकरणले सार्वजनिक गरेको पुस महिनाको एमआइएस रिपोर्ट अनुसार मोबाइल डाटा प्रयोग गर्ने उपभोक्ताको संख्या झन्डै एक करोड ४० लाख रहेकोमा यस वर्ष २१ लाख ७७ हजारले बढेको छ। उक्त तथ्यांक अनुसार मुलुकको इन्टरनेट प्रयोग वृद्धिदर वार्षिक आठ प्रतिशतमात्र छ।
तथ्यांक अनुसार कुल इन्टरनेट पहुँच ६३.८१ प्रतिशत पुगेको छ। गत वर्ष पुसको तथ्यांकभन्दा यो आठ प्रतिशतले बढी हो। गत वर्ष पुसमा इन्टरनेटको पहुँच ५५.०३ प्रतिशत रहेको थियो।
तथ्यांक अनुसार लगभग एक करोड ७० लाख जनताको पहुँचमा इन्टरनेट पुगेकोमा जिपिआरएस, थ्रिजी, फोरजी लगायतको मोबाइल डाटा प्रयोग गर्ने उपभोक्ता धेरै छन् भने अन्य माध्यमबाट इन्टरनेट प्रयोग गर्नेको संख्या कम छ। तथ्यांक अनुसार एक करोड ६१ लाख ४६ हजारले विभिन्न मोबाइल डाटा प्रयोग गरिरहेका छन्।
प्रकाशित: २३ वैशाख २०७५ ०३:५९ आइतबार