८ वैशाख २०८१ शनिबार
अर्थ

जैविक सुरक्षाबारे किसानलाई तालिम

भरतपुर महानगरपालिकामा आयोजना गरिएको तालिम। तस्बिर : सविता/नागरिक

चितवन – यहाँका कुखुरापालक किसानलाई जैविक सुरक्षाबारे तालिम दिइएको छ। नेपाल कुखुरापालक किसान संघले किसानलाई तालिम दिएको हो।

कुखुरापालन गर्दा बढी फाइदा लिन जैविक सुरक्षा विधि अपनाउनुपर्ने भरतपुर महानगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. विकास श्रेष्ठ बताउँछन्। उनका अनुसार कुखुरा फार्ममा बाहिरी संक्रमणबाट रोग फैलन नदिई सुरक्षित राख्ने कार्यहरू यसमा पर्छन्। त्यसका लागि फार्मलाई वरिपरिबाट तारबार तथा पर्खाल लगाउनुपर्छ।

फर्ममा दाना, अन्डा सामग्री ओसारपसार गर्नेलगायत गाडीका लागि प्रवेश गर्ने ठाउँमा ‘भेहिकल बाथ’ तथा मानिसका लागि ‘फुट बाथ’को व्यवस्था गरिनुपर्ने डा. श्रेष्ठले बताए। ‘जैविक सुरक्षा अपनाउनका लागि केही खर्च लाग्छ,’ उनले भने, ‘त्यो खर्च, रोग लागेर हुने खर्चको तुलनामा न्यून हुने भएकाले जैविक सुरक्षाका लागि हुने खर्च सुरक्षित डिजोजिट हो।’

फार्ममा काम गर्नका लागि छुट्टै कपडा, मास्क, पन्जा तथा जुत्ता लगाउनुपर्ने डा. श्रेष्ठ बताउँछन्। प्रत्येक खोरमा प्रयोग गरिने यस्ता सामग्री छुट्टै हुनुपर्छ। जसबाट कुखुरामा रोग लाग्न नदिनुका साथै व्यक्तिलाई पनि सुरक्षित बनाउँछ। कुखुरामा रोग देखिनेबित्तिकै त्यसलाई अलग्याएर राख्दा अरू कुखुरामा रोगको संक्रमण हुने संभावना कम हुने डा. श्रेष्ठ बताउँछन्।

जैविक सुरक्षा विधिमा अपनाइने सुरक्षा कार्यमा नियमित निसंक्रमणका औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ। वरिपरि सफा राख्नुका साथै प्रवेश गर्ने ठाउँमा चुना छर्नुपर्छ। यसका साथै प्रत्येक दुई दिनमा भिरगुन, चुना लगायतका निसंक्रमणका औषधी छर्नुपर्ने डा. श्रेष्ठ बताउँछन्। उनका अनुसार रोगले मरेका कुखुरा गोबरग्यासमा राख्ने तथा माछा बंगुरलाई खान दिने गर्दा रोग फैलिन्छ। त्यसैले मरेका कुखुराको व्यवस्थापन गर्न डिस्पोजल किट बनाउनुपर्छ।

मानिस र सवारीसाधनको आवतजावत अधिक हुँदा पनि धेरै रोगहरू आउने र फैलिने संभावना हुन्छ। त्यसैले कुखुरापालन गर्न उपयुक्त ठाउँ तथा जग्गाको छनोट गर्दा घनाबस्ती तथा मुख्य सडकबाट एक सय ५० मिटर भित्र हुनुपर्ने डा. श्रेष्ठ बताउँछन्। अहिले प्रायःजसो खोर, बाटो नजिकका घर पछाडि बनाइएको पाइन्छ । कुनै एउटा खोरमा संक्रमण फैलिए अर्कोमा सर्नबाट जोगाउन सकिने भएकाले एक खोरबाट अर्को खोरको दूरी कम्तिमा १५ मिटर बनाउनुपर्छ।

बिजुली बत्ती तथा पानीको उपयुक्त सुविधा पनि कुखुरापालनमा उत्तिकै आवश्यक हुन्छ। कुखुरामा पनि ८० प्रतिशत रोगहरू पानीबाटै सर्ने जोखिम भएकाले स्वच्छ पानी दिन ध्यान दिनुपर्ने डा.श्रेष्ठले बताए। हावापानी तथा ठाउँ सुहाउँदो उपयुक्त जात छनोट गर्नुका साथै आहारा व्यवस्थापन र स्वास्थ्य व्यवस्थापनमा ध्यान दिनुपर्छ।

‘उमेरअनुसार उपयुक्त दाना खुवाउनुपर्छ, धेरै दाना खुवाउनु हुँदैन’ उनले भने, ‘वयस्क कुखुरालाई दैनिक एक सयदेखि १ सय २० ग्रामसम्म दाना खुवाउन सकिन्छ।’ आवश्यकता अनुसार खोप लगाउने र सेड्युल अनुसार नियमित खुवाउने औषधिहरू खुवाउन ध्यान दिनुपर्ने उनले बताए।

चार वर्षदेखि कुखुरापालन गर्दै आएकी भरतपुर महानगरपालिका–१८ की किसान इन्दिरा मिश्र जैविक सुरक्षाबारे थाहा भएर पनि व्यावहारिकरूपमा प्रयोग गर्न नसकिएको बताउँछिन्। ‘सानो कुरा त हो भनेर हेलचेक्र्याईँ गर्ने बानी भयो’ उनले भनिन्, ‘अबदेखि ध्यान दिन्छु।’

धेरै रोग देखिनु र तुरुन्त फैलिनुको अर्को प्रमुख कारणमा अनुपयुक्त खोर व्यवस्थापन पनि पर्ने डा. श्रेष्ठको भनाइ छ । सरसफाई र खोर व्यवस्थापनमा कम ध्यान दिएकै कारण खोरमा संक्रमणको समस्या आउने गर्छ। एक लटको उत्पादन हुनासाथ अर्को लटका लागि चल्ला राख्नु हुँदैन। ब्रोइलर कुखुरा पाल्दा दुई साता तथा लेयर्स पाल्दा चार सातासम्म खोर खाली गर्नु उपयुक्त हुने डा. श्रेष्ठको सुझाव छ।

खोरमा २२ देखि २७ डिग्री सेन्टिग्रेट तापक्रम हुनु कुखुराका लागि उपयुक्त मानिन्छ। खोर बनाउँदा हावा ओहोरदोहोर गर्ने प्रशस्त ठाउँ हुनुपर्छ। नेपालमा कुखुरापालनका लागि खोर बनाउँदा पूर्व–पश्चिम फैलिएको हुनुपर्ने उनी बताउँछन्। उनका अनुसार ३२ फिटभन्दा बढी चौडाईको खोर बनाउनु उपयुक्त हुँदैन भने खोरको छेउको उचाई कम्तिमा ६ फिट र बीचको उचाई ९ फिट हुनुपर्छ।

वर्षात्मा खोर भिज्ने समस्या धेरै किसानले भोग्ने गरेको पाइन्छ। खोर भिज्दा सुलीबाट एमोनिया ग्यास बढी निस्कने हुँदा कुखुरालाई घ्यारघ्यार हुने समस्या देखिने डा. श्रेष्ठले बताए। त्यसैले सोत्तर भिज्न दिनु हुँदैन। पानीको बाछिटा परेर नभिज्ने गरी भित्ताबाट ३ फिट बाहिरसम्म छानो निकालेर खोर बनाउनुपर्छ ।

ब्रोइलर कुखुराका लागि एक स्क्वायर फिट र लेयर्स कुखुराका लागि दुई स्क्वायर फिट ठाउँ आवश्यक पर्छ। ‘अहिले सबैभन्दा धेरै गल्ती यसैमा भइरहेको पाइन्छ,’ उनी भन्छन्, ‘खोर सानो र कुखुरा धेरै राख्छौं, ठेलमठेल गरेर बस्नुपर्ने बाध्यता तथा दानापानी खान पनि धेरै प्रतिस्पर्धा हुन्छ ।’ आरामदायी अवस्थामा बस्न नपाउँदा कुखुरालाई पनि तनाव हुने र कुखुराबाट राम्रो उत्पादन लिन नसकिने डा. श्रेष्ठको भनाइ छ।

स्थानीय तहसँग सहकार्य गरेर भरतपुर महानगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा तालिम दिइएको संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए । राप्ती नगरपालिकामा तालिम दिएपछि तालिम समापन गर्ने उनले बताए।

उनका अनुसार किसानले काम मात्र नगरी आफ्नो व्यवसायबाट केही फाइदा लिन सिकुन् भनेर तालिम सञ्चालन गरिएको हो। ‘व्यवसायलाई सुरक्षितरूपमा सञ्चालन गर्न सके मात्र किसानले लगानीबाट फाइदा लिन सक्छन्,’ उनी भन्छन्, ‘सुरक्षितरूपमा कुखुरापालन व्यवसाय गर्न सुरक्षाका विधि अपनाउन तालिमले सहयोग गर्छ।’

प्रकाशित: २३ वैशाख २०७५ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App