८ वैशाख २०८१ शनिबार
समाज

रोग निको पार्ने पानी !

रुकुम, (पुर्व)– सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदिसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो हुन्छ भने उक्त क्षेत्रको पानी तातो छ ।

भन्दा विश्वास लाग्दैन, तर यहाँ काँचो अण्डा पानीमा राख्दा ५÷६ मिनेटमा पाक्छ । यतिसम्म तातोपानी छ कि पुस, माघमासमेत उमालेको जस्तै । प्राकृतिकरूपमा आफैँ उत्पत्ति भएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगहरूसमेत निको हुने धार्मिक विश्वास छ । परापूर्वकालदेखि रहिआएको यो क्षेत्रले पर्यटकीय सम्भावना बोकेको छ ।

यहाँ कपडा धुने र नुहाउने मानिसहरूको भीड लाग्ने गर्छ । यहाँको पानी निकै तातो हुँदा अण्डा चाउचाउ पाक्ने स्थानीयहरूको भनाइ छ । पुसमाघको चिसो समयमा यहाँ आएर नुहाउनेको घुइँचो लाग्ने गरेको स्थानीय दिलीप खड्काले बताए । विभिन्नखाले रोगहरू निको हुने हुँदा यस क्षेत्रको महत्व बढ्दै गएको उनको भनाइ छ । तर प्रचारप्रसार अभावमा भने यसले जहिले पनि न्याय खोजिरहेको हुन्छ । पर्यटकहरु आए यस क्षेत्रले न्यायको आभास पाउने स्थानीय गोपिराम खड्काले बताए । 

नदी भासिदै जाँदा तातोपानी भेटिएको स्थानीय लक्षीराम घर्तिले जानकारी दिए । उनका अनुसार यसको महत्व भएपनि कसरी उत्पत्ति भएको यथार्थ अहिलेसम्म पत्ता लागेको छैन । यसको महत्व पत्ता लगाउनुपर्ने उनको भनाइ छ । 

यहाँ बन्दुकको बारुदजस्तै गन्ध आउँछ । कुनै धातु हुनुपर्ने घर्तिले बताए । अहिले तातोपानीको मुहानमा शिव भगवानको मन्दिर निर्माण गरिएको छ । पहिला यहाँ आउने व्यक्तिहरुले बगरका ढुंगामा पैसा छाड्ने गरेको घर्तिले सुनाए । 

संरक्षण भएन
यो स्थान सानीभेरी नदीसँगै छ । वर्षातको समयमा नदीमा पानीको बहाब उच्च भइ तातोपानीसम्म पुग्छ । जसले गर्दा पछिसम्म यो क्षेत्र पुरिनसक्ने खतरा रहेको स्थानीयहरु बताउँछन् । उनीहरुले यसको संरक्षण गर्नुपर्ने बताए। ‘वर्षातका कारण नदीमा पानीको बहाब बढ्दै जाँदा तातोपानी बगरमा परिणत हुँदै गएको छ,’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन्, ‘गाउँपालिकाले मुहान संरक्षणका लागि पहल थालेको छ ।’ 

गाउँपालिकाले तातोपानी संरक्षणका लागि एक लाख रुपयाँ छुट्याएको बताइन् । यसको संरक्षणका लागि गाउँपालिकाले प्रत्येक वर्ष ध्यान पु¥याउने उनको भनाइ छ । तातोपानी संरक्षणपछि यहाँ पर्यटकहरु आउने अपेक्षा राखिएको छ । 
सानोभेरी नदी किनारमै रहेको पूर्वी रुकुमको पोखरामा अवस्थित तातोपानी क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटनका लागि एक ऐतिहासिक स्थानकारूपमा लिने गरिन्छ । सानीभेरीको बाँध बाध्ने, तातोपानी फैलिएको क्षेत्रफल वरिपरि पर्खाल लगाउने, पर्खालभित्र आकर्षक बनाउने, नुहाउनका लागि पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

क्याप्सन ः तातोपानी क्षेत्र । तस्बिर गणेश बिक÷नागरिक

प्रकाशित: २२ वैशाख २०७५ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App