६ वैशाख २०८१ बिहीबार
समाज

पानी बोकेर बिरामीको सेवा गर्दै स्वास्थ्यकर्मी

नौकुण्ड गाउँपालिका–३ मा रहेको पारच्याङ स्वास्थ्य चौकी। तस्बिरः नागरिक

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित पारच्याङ स्वास्थ्य चौकीको धारामा पानी आउन छाडेको ६ महिना बित्यो।

हरेक दिन बिरामीको चाप देखिने स्वास्थ्य चौकीमा पानीको अभावले सेवा प्रवाहमा समस्या आएको छ। ल्याब र बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीमा पानी ओसार्दै स्वास्थ्यकर्मीको विहान बित्ने गरेको छ। 

स्वास्थ्य चौकीमा एक घण्टा पानी आए पर्याप्त हुने भएपनि धारामा पानी नआउँदा स्वास्थ्य चौकीबाट १० मिनेट हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको अनमी देवी गजुरेलले बताइन्। गजुरेल एक वर्षअघि स्वास्थ्य चौकीमा आउँदा पानीको समस्या देखिएको थियो।

‘यहाँ पानीको अभाव भएको ६ महिना बित्यो, गजुरेलले भनिन्, बर्खाको समयमा मैले यहाँ काम सुरु गर्दा आकासे पानीको भर पर्नुपथ्र्यो ।’ डेलिभरी सामग्रीलाई उमालेर मात्रै प्रयोग गर्नुपर्ने र यी सामग्री पकाउन पनि धेरै पानी आवश्यक पर्ने स्वास्थ्य चौकीले जनाएको छ।

‘बिरामीले ट्याबलेट खानका लागि पनि हामीले बोकेर ल्याएको पानी प्रयोग गरिरहनुभएको छ, गजुरेलले भनिन्, सबैभन्दा समस्या डेलिभरी केसमा हुने गरेको छ।’ गत पुष महिनादेखि स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गरिएको थियो। ल्याबमा एउटा टेष्ट गर्न एक लिटर पानी आवश्यक उनले बताइन्।

पारच्याङको हरेक घरमा र स्वास्थ्य चौकीमा खानेपानी वितरण गर्नका लागि काम भइरहेको पारच्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष ग्युर्मी लोप्चन तामाङले बताए। ‘हामीले खानेपानी योजना निर्माण गरिरहेका छौँ, अध्यक्ष तामाङले भने, ‘अबको १५ दिनमा खानेपानी निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।’

एसिएफ इन्टरनेशनल र मानेकोर सोसाइटी नेपालले यसअघि खानेपानी निर्माण गरेपनि सडक निर्माणको क्रममा खानेपानीमा क्षति पुगेको थियो।

गाउँमा खानेपानीको व्यवस्थापनका लागि गाउँपालिकाले ६ लाख वजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। ‘गाउँमा पहिलेदेखि नै खानेपानीको समस्या थियो,’ उपाध्यक्ष लामाले भनिन्, ‘यसको सबैभन्दा बढी असर स्वास्थ्य चौकीमा परेको छ।’

यहि वैशाख मसान्तसम्ममा स्वास्थ्य चौकीमा खानेपानी व्यवस्था गर्ने बताउँदै लामाले ढिलोमा जेठको पहिलो सातासम्म कुर्नुपर्ने बताइन्। स्वास्थ्य चौकीमा ८ जना कर्मचारी रहेका छन्। पारच्याङमा ८४ घरधुरी बसोबास गर्छन्।

प्रकाशित: २२ वैशाख २०७५ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App