५ वैशाख २०८१ बुधबार
खेल

न्यु डाइमन्डलाई कृपाको अभाव

काठमाडौं – नियमित लिफ्टर कृपा अधिकारी नहुँदा नेपाली महिला भलिबलमा बलियो टोली मानिने शिवम् न्यु डायमन्ड एकेडेमीले शुक्रबार केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ सेटको नतिजा सुम्पिएको छ।

महिला भलिबलका प्रत्येक प्रतियोगितामा उपाधि दाबेदार मानिने न्यु डायमन्डले कृपाबिना खेलेको पहिलो खेलमै पुलिस क्लबविरुद्ध स्तब्ध भएको हो । ८ वर्ष लिफ्टरको भूमिकामा रहेकी कृपा नेपाली सेनाको सहायक सेनानी पदमा आबद्ध भएकी थिइन् । यही वैशाख १३ गते कृपालाई औपचारिक बिदाइ गरेको डायमन्डले पुलिसविरुद्ध खेल्दा भने उनलाई गुमाउनुको पीडा महसुस गर्यो।

‘आज हामीलाई नियमित तथा अनुभवी लिफ्टर कृपाको अभाव खड्कियो । नयाँ खेलाडीमा अनुभवको कमी रह्यो । हाम्रो वैकल्पिक खेलाडी पनि भएन,’ न्यु डायमन्डका प्रशिक्षक कुमार राईले भने, ‘मुख्यत हाम्रो ब्लकमा समस्या देखियो । नयाँ खेलाडी भएकाले रणनीतिअनुसारको प्रदर्शन भएन।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपाल पुलिस क्लबसामु तेस्रो संस्करणको उपविजेता न्यु डायमन्ड एकेडेमी २५–१२, १६–२५, २६–२४, २५–१९ ले निरीह बनेको थियो।

न्यु डायमन्डकी कप्तान ललिता नाथले पनि कृपाको नहुँदाको मनोभावना टोलीमा देखिएको बताइन् । उनले थपिन्, ‘सोचेअनुसार तालमेल नहुँदा सहज टोलीसँग पनि पराजित हुनुपर्यो । ब्लक, रिसिभ र स्पाइक राम्रो हुन सकेन । कृपा टोलीमा छैनन् भन्ने मनोभावना हाम्रो प्रदर्शनमा पनि देखियो।’

नेपाल पुलिस क्लबले यसअघि २०७३ मा भएको दोस्रो संस्करणमा न्यु डायमन्डलाई  हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसपछि पुलिस क्लबले न्यु डायमन्डलाई कुनै पनि प्रतियोगितामा हराउन सकेको थिएन।

पुलिस क्लबका प्रशिक्षक भरत शाहले टोलीमा राम्रो संयोजन भएकाले चिर प्रतिद्वन्द्वी डायमन्डविरुद्धको जित सम्भव भएको बताए । शाहले थपे, ‘विगतमा ब्लक हाम्रो कमजोरी रहँदै आएको थियो । त्यसमा अहिले सुधार गरेका छौं । यससँगै टोलीको समग्र प्रदर्शनमा पनि सुधार आएको छ । जसले गर्दा जित्न सम्भव भयोे।’

शुक्रबारै सशस्त्र प्रहरीको एपिएफ क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सोझो सेटमा विजय हासिल गर्यो । तीन संस्करणको विजेता एपिएफले जावलाखेलाई २५–३, २५–६, २५–७ को सेटमा पराजित गरेको हो।

शेरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा शनिबार एपिएफले पश्चिमाञ्चल भलिबल संघविरुद्ध खेल्नेछ भने विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

मंगलबारसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख रुपैयाँ जित्नेछ । तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद पाउनेछन्।

विधागत रूपमा (ब्लकर, क्विकर, सर्भर, डिफेन्स, लिब्रो, प्रशिक्षक) उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रभावशाली प्रदर्शन गरे पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई आयोजकले १० हजार रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ।

प्रकाशित: २२ वैशाख २०७५ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App