coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कुँवरद्वारा भाग नलिने घोषणा

काठमाडौं – लामो समयदेखि संस्थापनविरुद्ध अभियान चलाइरहेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा पुग्ने भएका छन्।

अध्यक्ष पदका अर्का उम्मेदवार मणि कुँवरले शनिबारलाई तय भएको निर्वाचन विधानविपरीत भएको भन्दै भाग नलिने घोषणा गरेपछि शेर्पा नेपाली फुटबलको सर्वोच्च पदमा पुग्ने पक्का भएको हो । कुँवरले निर्वाचनमा भाग नलिने बताए पनि उम्मेदवारी फिर्ता लिने समय बितिसकेका कारण प्राविधिक रूपमा भने चुनाव हुनेछ।

‘म विधान मस्यौदा समितिको संयोजक पनि भएकाले नैतिकताका आधरमा विधि र विधानलाई लत्याएर गर्न लागिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको छु,’ एन्फाका वरिष्ठ उपाध्यक्ष कुँवरले शुक्रबार पत्रकार सम्मेलन गरेर भने, ‘अवैधानिक निर्वाचनको सहारामा अखिल नेपाल फुटबल संघको कुर्सीमा पुग्ने चाहना राख्ने साथीहरूले विधि र विधान मिचेरै व्यक्तिगत स्वार्थ पूर्ति गर्ने जुन सपना देख्नुभएको छ, त्यसलाई हामी पूरा हुन दिने छैनौं । विधिको शासनका लागि निरन्तर खबरदारी गरिरहनेछौं।’

विधानमा कार्यकारिणी समितिले मात्र निर्वाचनको मिति तोक्न सक्ने, साधारण सभा र निर्वाचनका लागि ६० दिनको सचना दिनुपर्ने उल्लेख रहेको भन्दै कुँवर पक्षका विराटजंग शाहीलगायतले बुधबार काठमाडौं जिल्ला अदालतमा निशेधाज्ञाको मागसहित मुद्दा हालेका थिए । तर बुधबार रमेशराज पोखरेलको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिनु नपर्ने भन्दै विपक्षीलाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेपछि चुनावको बाटो खुलेको थियो।

‘म विधान मस्यौदा समितिको संयोजक पनि भएकाले नैतिकताका आधारमा विधि र विधानलाई लत्याएर गर्न लागिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको छु।’

अदालतको ओदशलाई शेर्पा पक्षले न्याय पाएको भन्दै स्वागत गर्दा कुँवरले भने त्यसलाई त्रुटिपूर्ण बताएका छन् । कुँवरले अदालतबाट मुद्दाको विषयमा अन्तिम आदेश आइनसकेको अवस्थामा चुनाव गर्नु उपयुक्त नहुने तर्क गरे । ‘अदालतको आदेश पालना गर्नु हामी सबैको कर्तव्य हो । यसमा हाम्रो भन्नु केही छैन । प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने व्यक्ति भएकाले आदेशको सम्मान गर्दछु । तर, २० गते काठमाडौं जिल्ला अदालतले गरेको आदेशप्रति हाम्रो सम्पूर्ण रूपमा असहमति छ,’ कवरले थपे, ‘तर अझै अदालतमा यो विषय विचाराधीन छ । विधानमा प्रस्टसँग उल्लेख भएकाले अन्तिम सुनुवाई हुँदा कानुनबमोजिमको न्याय हुनेमा पूर्ण विश्वस्त छौं।’

कुँवरले आफू चुनावकै पक्षमा भएको तर विधिविधानविपरीत हुन लागेकाले भाग लिन नसकेको बताए । कुँवरसँगै उपाध्यक्ष पदका उम्मेदवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले पनि चुनावमा भाग नलिने बताएका छन् । उनले अदालतमा मुद्दा हाल्नेमा आफू पनि संलग्न रहेको र मुद्दा विचाराधीन अवस्थामा रहेकाले चुनावमा भाग नलिने निर्णय गरेको बताए।

अध्यक्ष पदको प्रतिस्पर्धामा शेर्पा एक्लो उम्मेदवार भएकाले एन्फा नेतृत्वमा उनको पदार्पण औपचारिकतामा मात्र बाँकी रहेको छ । पूर्वअध्यक्ष गणेश थापाले भ्रष्टाचार गरेको तथा एकलौटी ढंगमा एन्फा सञ्चालन गरेको भन्दै लामो समयदेखि आर्थिक पारदर्शिता, सुशासन र चेन्ज एन्फालगायतका नाराका साथ शेर्पा एन्फा नेतृत्वविरुद्ध संघर्षरत थिए।

निर्वाचन गराई नयाँ अध्यक्षलाई नेतृत्व सुम्पिएर फुटबल प्रशासनबाट संन्यास लिने तयारीमा रहेका एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनबाट कुँवरले भाग नलिने घोषणा गरे पनि शेर्पा प्राविधिक रूपमा निर्विरोध नहुने बताए । ‘भाग नलिने कुरा पत्रकार सम्मेलनमा मात्र घोषणा भएको हो । नाम फिर्ता लिने समय नाघिसकेकाले चुनावको सबै प्रक्रिया हुन्छ । निर्विरोध हुँदैन,’ कुँवरलाई आफ्नो उम्मेदवारका रूपमा गत महिना प्रस्तुत गरेका श्रेष्ठले भने, ‘नयाँ अध्यक्षलाई माला लगाएर कार्यभार सुम्पिएपछि संन्यास लिनेछु ।’

शेर्पा र उनको पक्षका उम्मेदवारहरू भने शुक्रबार सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित: २२ वैशाख २०७५ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App