अध्यात्म

शिवपुरी बाबालाई फेरि सम्झँदा

शनिबार, २२ बैशाख २०७५, ०८ : ५५ स्वामी आनन्द अरुण

5093


सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट  सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे। उनको भनाई थियो– नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउनेछन्। ती व्यक्ति शिवपुुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो। तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती हो। जीवनको अन्तिम केही वर्ष पशुपति धु्रवस्थली वनमा उहाँ बस्नुभयो। म आफ्नो बुबाआमासँग १९५० देखि नै काठमाडौंमा बस्दै आइरहेको छु। बच्चादेखि नै ममा साधुसन्तप्रति आकर्षण थियो। तर, पनि मैले शिवपुरा बाबा जीवित हुँदासम्म पनि उहाँबारे कुनै जानकारी पाइनँ। जब मैले आफ्नो गुरु ओशोसँग विधिवत संन्यास दीक्षा पाएँ। उहाँले मलाई नेपाल गएर आश्रम चलाउने आज्ञा दिनुभयो। उहाँले नै मलाई शिवपुरी बाबाबारे जानकारी दिनुभएको थियो। ‘पशुपति नजिक एयरपोर्टकै छेउ सैन्य क्याम्पको क्षेत्रभित्र तारबारले घेरिएको शिवपुरी बाबाको समाधि मन्दिर छ। त्यहाँ बेलाबेला गइरहनु, तिमीलाई धेरै फाइदा हुन्छ,’ उहाँले भन्नुभएको थियो। १९७४ यता म त्यो मन्दिरमा गइरहेको छु। पहिला म त्यहाँ प्रत्येक हप्ता जाने गर्थें। तर, तपोवन बनाइसकेपछि हामीले बाबाको सम्मानमा एक सानो स्मृति मन्दिर बनायौं। जहाँ म लगायत तपोवन आउने सबै मित्रहरू शिवपुरी बाबाको उपस्थितिको गहिरो अनुभूति गर्छन्।

शिवपुरी बाबाले ख्याति र प्रसिद्धि कहिल्यै मन पराउनु भएन। गहिरो प्यास र मुमुक्षा नभएकाहरूलाई उहाँ भेट्न रुचाउनु हुँदैनथ्यो । यहाँसम्म की उहाँ आफ्नो तस्बिर खिँचाउन समेत मान्नुहुँदैन्थ्यो। कसैले उहाँको अनुमतिबिना तस्बिर खिच्यो भने पनि त्यो क्यामेराको रिलमा देखिँदैनथ्यो। कसैलाई आफ्नो तस्बिर खिच्ने अनुमति दिनुभयो भने पनि त्यो तस्विर ध्यान कक्षबाहेक अरु कतै नराख्नु अरुलाई नदिनु, नदेखाउनु भन्नुहुन्थ्यो। उहाँ आफ्नै आत्मआनन्दमा मग्न हुनुहुन्थ्यो।

हरेक सन्त पुरुषको शैली फरकफरक हुन्छ । ओशो त्यसविपरित हरेक पुस्तकमा आफ्नो फोटोहरू राख्नुहुन्थ्यो। ‘जति मानिस कहाँ मेरो सन्देश पु-याउन सक्छौ पु-याऊ’ भनेर हामीलाई झक्झकाइ रहनुहुन्थ्यो। यसै कारण आज आफ्नो उमेरका बापजुत पनि विश्वभरि उहाँकै सन्देश लिएर म यात्रा गरिरहेको छु। सबै सन्त पुरुषहरू अनुपम हुन्छन्। एकको तौरतरिकाबाट अर्कोलाई बुझ्नै सकिँदैन। बाहिरबाट हेर्दा उहाँहरूको कार्यशैली एकदमै विरोधाभासी देखिए पनि भित्र एक गहन अन्तर्सम्बन्ध हुन्छ । र, एक–अर्काको कार्यमा उहाँहरूले गहिरो सहयोग गरिरहनु भएको हुन्छ भन्ने कुरा बिस्तारै मैले बुझ्दै आएको छु।

अहिले शिवपुरी बाबाको दर्शन पाउने व्यक्तिहरू धेरै कम जीवित छन्। तर, उहाँको उपेदशमा जिउने व्यक्तिहरूको संख्या काठमाडौंमा बढ्दो छ। बाबाको समाधिमा गएर ध्यान गर्ने साधकहरूको संख्या पनि राम्रै छ। आदरणीय रेणुलालजी र ठाकुरलाल मानन्धरले गर्दा शिवपुरी बाबाका शिष्यहरू पनि बारम्बार ओशो आशीष आश्रममा आउँथे। रेणुलालजी र ठाकुरलालजी पनि शिवपुरी बाबाकै स्वप्न आदेशकै कारणले ताहाचलमा अवस्थित ओशो आश्रममा आउनुहुन्थ्यो। उहाँहरू ओशोलाई सुन्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो र प्रेम गर्नुहुन्थ्यो।

शिवपुरी बाबासँग मेरो गहिरो आत्मिय सम्बन्ध छ। ४३ वर्षदेखि नै उहाँको शिक्षणलाई पढ्ने, सुन्ने र अभ्यास तथा पालन गर्ने प्रयास गर्दै आएको छु । तपोवनको स्थापनादेखि तपोवनको संचालनसम्म उहाँको सक्रिय योगदान छ। मैले त्यो अनुभव गरेको छु। मैले बुझेसम्म सबै बुद्ध पुरुषहरूको एक सामूहिक प्रयास हुन्छ। उनीहरूको जीवन पद्धति, शिक्षण तथा देश, काल र परिस्थिति अनुसार फरक–फरक भए पनि सच्चा सद्गुरुले एक–अर्कालाई सहयोग गर्छन्। जिसस, मोहम्मद, कृष्ण शिवपुरी बाबा, ओशोको मानिसको चेतनालाई रूपान्तरण गर्ने प्रयास एकै हुन्छ। साधनामा मैले यो गहिरो अनुभूति पाएको छु। उनीहरूका चेलाहरू मात्रै एक–आपसमा लड्छन्। मुर्खतावश उनीहरूलाई लाग्छ कि मेरो गुरु ठूलो, मेरो गुरु राम्रो। तर, सबै बुद्ध पुरुषहरूको एक समग्र प्रयास छ। कसरी मानिसलाई सुखी बनाउने ? कसरी मानिसलाई दुःखबाट मुक्त गर्ने? संभावना भएका व्यक्तिहरूलाई कसरी स्वयम्को बोधमार्गमा प्रवेश गराउने । यो कार्यमा सबै गुरुहरू सम्मिलित हुन्छन्। तर, उनीहरूलाई मान्ने चेलाहरू भने यो कुरा मान्दैनन् । र, यसविरुद्ध सधै लड्न तयार हुन्छन्।

शिवपुरी बाबालाई शरीर छोड्ने बेलामा सोधिएको थियो– ‘तपार्इं हामीलाई छोडेर जाँदै हुनुहुन्छ, अब हामीलाई कसले मार्गदर्शन दिन्छ ?’ शिवपुरीबाबाले भन्नुभयो, ‘अर्को सम्बुद्ध गुरु पनि आउन सक्छ।’ उहाँको संकेत ओशोतिर पनि हुनसक्छ किनभने नेपालमा सबैभन्दा सशक्त रूपले ओशोको दर्शन फस्टाइरहेको छ। तिमीहरूमा श्रद्धा छ भने म स्वप्नमा आएर पनि मार्गदर्शन गर्न सक्छु । जागृत अवस्थामा हाम्रो चेतन मन सक्रिय हुन्छ। र, विचारले भरिएको हुन्छ। त्यसकारण जब साधकको चेतन मन सुत्छ, सद्गुरुलाई साधकको तुलनात्मक रूपमा निर्दोष अचेतन मनसँग संवाद गर्न सजिलो हुन्छ।’ हाम्रो संस्कृतिमा स्वप्नमा गुरुबाट पाइने मार्गदर्शनलाई स्वप्न आदेशकै रूपमा मान्ने प्रचलन छ । मान्यता छ– उहाँको इच्छाबिना गुरु र ईश्वरलाई हामी स्वप्नमा बोलाउन सक्दैनौं। तर, गुरु वा दैवी चेतनाले हामीमा त्यस्ता सन्देश सम्पे्रषण गर्न सक्छन्, जसलाई ‘भिजन’ भनिन्छ। यस्तै सन् १९७५ देखि आवश्यक परेको बेलामा मैले शिवपुरी बाबाको कृपाबाट उहाँको स्वप्न आदेशहरू निरन्तर पाइरहेको छु। हुनत मैले बाबाको दर्शन गर्ने मौका त पाएको छैन।

म दरबार स्कुलमा पढथें । पढाइमा मन लाग्दैनथ्यो। बेलाबेलामा पशुपतिको वनले तान्थ्यो। कहिले साथीसँग त कहिले एक्लै पनि म त्यहाँ पुग्थें। त्यहाँ कसैको उपस्थितिले आफूलाई निरन्तर आर्कषण गरेको महशुस हुन्थ्यो । कक्षा ३/४ मा पढ्दै गरेकाले मलाई त्यसको स्पष्टबोध पनि भएन। त्यो वनमा मभित्र एक शान्ति छाएको आभाष हुन्थ्यो । गुरुहरूको दर्शन गर्न पनि एक सौभाग्यको घडी आउनु पर्छ। सच्चा सद्गुरुको दर्शनका लागि पुण्य चाहिँदो रहेछ । सायद यही कारणले मैले उहाँको सशरीर दर्शन पाउन सकिनँ। तर, ओशोबाट दीक्षा लिएपछि उहाँले नै शिवपुरी बाबाको समाधि दर्शन गर्न जाने प्रेरणा दिनुभयो । र, बाबास“ग एक आत्मिय सम्बन्ध जुड्यो, आर्शिवाद मिल्यो।

सबै बुद्ध पुरुषहरू आफैमा विलक्षण हुन्छन्। एउटा बुद्ध पुरुषको मापदण्डबाट अर्को बुद्ध पुरुषलाई नाप्नुभयो भने तपाईंले धोका खानुहुनेछ। बुझ्नै सक्नुहुन्न। यसैमा सबै गुरुका भ्रमित भइरहेको देखिन्छ। भक्तहरूमा आफ्नो धर्मको लागि, गुरुको लागि, ग्रन्थको लागि, दर्शनको लागि लड्ने तथा भिड्ने प्रवृति समझको कमी पनि बेहोसीकै अंश हो। ओशोले हामीलाई सबै गुरुहरूको धर्मको सार्वभौमिक सत्यलाई बुझ्ने समग्र र विशाल दृष्टि दिनुभयो। ओशोले परस्पर विरोधी विचारहरूलाई संश्लेषण गरी समस्वरतामा जिउने कला सिकाउनुभयो । ओशो भौतिक समृद्धिको पनि पक्षपाती हुनुहुन्थ्यो । उहाँ स्वयम्ले पनि सुविधापूर्ण जीवन जिउनुभयो। र, हामीलाई साधनाको लागि शरीरलाई कष्ट दिने, गलाउने स्वपीडक प्रवृतिलाई त्याग्न सिकाउनुभयो । सुख र सुविधापूर्ण माहोलमा अहोभावले कुनै मोह नराखी साधना गर्ने शिक्षण दिनुभयो। समस्या मनमा छ, शरीरलाई सताएर मन मर्दैन भन्दै उहाँ मनलाई अनुशासित गर्ने कला सम्झाउनुहुन्थ्यो। 

अहिले शिवपुरी बाबाको दर्शन पाउने व्यक्तिहरू धेरै कम जीवित छन्। तर, उहाँको उपेदशमा जिउने व्यक्तिहरूको संख्या काठमाडौंमा बढ्दो छ। बाबाको समाधिमा गएर ध्यान गर्ने साधकहरूको संख्या पनि राम्रै छ। आदरणीय रेणुलालजी र ठाकुरलाल मानन्धरले गर्दा शिवपुरी बाबाका शिष्यहरू पनि बारम्बार ओशो आशीष आश्रममा आउँथे। रेणुलालजी र ठाकुरलालजी पनि शिवपुरी बाबाकै स्वप्न आदेशकै कारणले ताहाचलमा अवस्थित ओशो आश्रममा आउनुहुन्थ्यो। उहाँहरू ओशोलाई सुन्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो र प्रेम गर्नुहुन्थ्यो। तर, उहाँहरू ओशोलाई दर्शन जानुभएन। म वर्षमा ४/५ चोटि पुनास्थित ओशोको दर्शनका लागि जान्थे । र, उहाँहरूलाई पनि सँगै जाने निमन्त्रण दिन्थें । तर, उहाँमा त्यो संयोग जुटेन । ओशो काठमाडौंमा आएको बेला पनि त्यसो हुन सकेन । आफ्नो गुरु हुँदाहुँदै अरुकहाँ किन जाने भन्ने तर्क उहाँहरूको थियो। मैले ओशोलाई ‘तपाईंलाई काठमाडौंमा प्रेम गर्ने शिवपुरी भक्तहरू छन्। उहाँहरू तपाईंकहाँ आउनुभयो भने आफ्नो गुरुप्रति अवज्ञा गरेको हुन्छ भन्ने ठान्नुहुन्छ। के यो सत्य हो ?’ भनेर सोधेको थिएँ। ओशोले आफ्नो प्रवचनमा भन्नुभयो, ‘उनीहरूलाई भन्देऊ कि आफ्नो प्रार्थनामा आफ्नै गुरुलाई सोधे हुन्छ। हाम्रो एउटै काम हो, यदि उनीहरू यहा“ आउदैनन् भने त्यो उनीहरूको आफ्नै गुरुको अवज्ञा हुन्छ। त्यो क्यासेट मैले शिवपुरी बाबाका सबै भक्तहरूलाई सुनाएँ । त्यस प्रवचनमा शिवपुरी बाबाको प्रशंसा गरेको कुरा सबैले रुचाए। तर, ओशोको दर्शन गर्ने कुरा उहाँहरूले पचाउन सक्नुभएन। त्यसमा म कसैको दोष पनि देख्दिनँ। नांगो सत्यलाई सुन्नलाई नै धेरै साहस चाहिन्छ। त्यसलाई मान्न र पालन गर्न त लगभग असंभवै हुन्छ।

शिवपुरी बाबाको जीवनमा अनेक विलक्षण घटनाहरू छन्। त्यसमध्ये दुई घटनाहरू यहा“ वर्णन गर्न चाहान्छु। बाबा माथि शिवपुरी डाँडामा बस्नुहुन्थ्यो । सन्ध्याकालमा एक योगी आश्रमको गेटमा देखिनुहुन्थ्यो । आश्रमका माधव बाजे, जो बाबाका सेवक हुनुहुन्थ्यो, उहाँलाई आश्चर्य लाग्थ्यो। ‘अरुलाई समय नदिने बाबाले यी जोगीलाई किन रातभरी समय दिएको होला ?’ माधव बाजे सोच्नुहुन्थ्यो। रातभरिको बाबास“गको वार्तालाभपछि बिहानी प्रहरमा योगी कतै जानुहुन्थ्यो। यो क्रम धेरै दिनसम्म चल्यो। एक दिन माधव बाजेलाई बोलाएर शिवपुरी बाबाले आज्ञा दिनुभयो, ‘यी योगीलाई तलसम्म पु-याएर आऊ।’ माधव बाजेलाई आश्चर्य लाग्यो। बाबाबाट यस्तो आज्ञा सामान्यतः हुँदैन्थ्यो। ती योगी र माधव बाजे कुरा गर्दै तल झरे। वार्तालापकै क्रममा योगीले माधव बाजेलाई भन्नुभयो, ‘तपाईं खुब भाग्यमानी हुनुहुन्छ। परमात्मासँग साक्षात्कार गरेको व्यक्ति संसारमा विरलै हुन्छन्। यस्तो व्यक्तिको सत्संगमा बसिरहनुभएको छ।’

उहाँले अगाडि भन्नुभयो, ‘म उहाँसँग शिक्षण लिन आउँथें । अब मेरो शिक्षण पूरा भयो। म उहाँले सिकाएको बाटोमा लागेर मोक्ष पाउँछु । हाम्रो यो अन्तिम भेट हो । त्यसकारण तपाईंलाई पनि धन्यवाद छ।’ यसरी डाँडाबाट सँगै तल झर्दै उहाँहरू बुढानिलकण्ठ पुग्नुभयो । माधव बाजे बोल्दै हुनुहुन्थ्यो। तर, पछाडि फर्केर हेर्दा ती जोगी अलोप भइसकेका रहेछन् । माधव बाजेलाई आश्चर्य लाग्यो– जोगी कता विलिन भए ? माधव बाजे फर्केर माथि पुग्नुभयो । र, सबै वृत्तान्त शिवपुरी बाबालाई सुनाउनुभयो। बाबाले भन्नुभयो, ‘तिमी भाग्यशाली छौं । ती ऋषि सामान्य व्यक्ति होइनन्। ती साक्षात् विश्वामित्र हुनुहुन्थ्यो ।’ माधव बाजेको आश्चर्यको सीमै रहेन । विश्वामित्र अहिलेसम्म शरीरमा ? रामको गुरु अहिलेसम्म शरीरमा ? अनि बाबाले भन्नुभयो, ‘हो अहिलेसम्म शरीरमा। उहाँले ठीक गुरु पाउन भएन । सही मार्गदर्शन पाउनुभएन । सिद्धीहरूका पछाडि लाग्नुभयो । आफ्नो शिष्य त्रिशंकुको लागि उहाँ आफ्नो तपोवलबाट अर्को स्वर्गलोककै निर्माण गर्नुभयो । यस्तो शक्ति साधकमा आउन सक्छ। तर, यसको प्रयोग र प्रदर्शन गर्नुहुँदैन। यस्तो प्रयोगले यति लामो समय बितिसक्दा पनि अहिलेसम्म पनि मुक्ति पाउन सक्नुभएन। यही शरीरमै भटकीरहनुभयो। उनले म यहा“ भएको थाहा पाएछन् । महिनाभरि उनी यहाँ आए । र, मैले उनलाई शिक्षण दिएँ । अब उहाँ ब्रह्मनिष्ठ हुनुहुन्छ, अब मुक्ति पाउनुहुन्छ। जोगीलाई सहर बजार र भीड मन पर्दैन त्यसकारण बुढानिलकण्ठ पुगेपछि उहाँ लुप्त हुनुभयो ।’ यस्ता घटनामा विश्वास गर्न पनि गा-हो हुन्छ । तर, परमात्मासँग साक्षात्कार भएका व्यक्तिको आसपास यस्तो घटना घटिरहेको हुन्छ। ओशोको आसपास पनि यस्ता घटनाहरू घटिरहन्थे। त्यसको वर्णन म अरु कुनै लेखमा गरौंला।

शिवपुरी बाबाका निकटतम शिष्य रेणुलाल र सेवक माधव बाजेसँग मेरो अन्तरंग सम्बन्ध थियो। म उहाँहरूप्रति कृतज्ञ र ऋणी छु । उहाँहरूले मलाई असीम माया गर्नुभयो । उहाँहरूले बताउनुहुन्थ्यो– झन्डै ३० वर्ष उमेरका एक तेजस्वी युवक बाबालाई भेट्न आउनुहुन्थ्यो । ती युवक एकाबिहानै कतै गायव हुनुहुन्थ्यो। र, बेलुका देखा पर्नुहुन्थ्यो । बाबा उनीसँग एक्लै रातभरि कुरा गर्नुहुन्थ्यो । यो क्रम एक हप्तासम्म चल्यो । तर, अन्तिम रात उनी आँखाभरि आँसु लिएर भावविभोर भई ती जोगीले जाने बेलामा माधव बाजेलाई भने, ‘अब यस आश्रममा यो मेरो अन्तिम रात्रि हो। साधनाको लागि गढवाल हिमालय जाँदैछु । हरिद्वार पुगेर म तपाईंलाई एक पोस्टकार्ड लेख्ने छु। बाबालाई मेरो नमन सुनाइदिनु होला । तर, जवाफ नपठाउनुहोला किनभने म हिमालयमा तपस्यारत भइसकेको हुनेछु । साच्चै नै एक महिनापछि हरिद्वारबाट एक पोस्टकार्ड आयो । माधज बाजेले बाबालाई त्यो देखाउनुभयो । बाबा खाली मुस्काउनु भयो।

ती व्यक्ति हँसिलो र खुला मिजासका थिए। मैले उनी कुन कारणले बाबालाई भेट्न आएको भनेर सोध्दा उनले पहिला त केही बताउन चाहेनन्। तर, फेरि कुराकानी बढ्दै गयो । र, उनले भने, ‘हेर तिमी यस्तो महान आत्माको सेवामा समर्पित छौं यो ठूलो सौभाग्य हो। म धेरै पुरानो साधु हुँ । तर, तिमीलाई बुझ्न कठिन लाग्ला लामो समयसम्म बाँच्नु पनि ठिक होइन । भगवत्साक्षात्कार भन्दा अरु रूप, धन, इज्जत, आयु जे भए पनि त्यसको कुनै महत्व छैन । मैले सच्चा गुरु पाउन सकिनँ। मैले जुन गुरु भेट्टाएँ, उनले मलाई दीर्घायू प्राप्त गर्ने गुह्य विद्या सिकाए, अज्ञानवश त्यो सिद्धीलाई मैले त्यसबेला सहर्ष स्वीकार गरें । तिमीले मेरो युवा शरीर देखे पनि म हजार वर्षदेखि यही शरीरमा छु । म शरीरबाट मुक्त हुन चाहान्छु । गुरुले भन्नुभएको थियो– ‘यदि तिमीले शरीरबाट मुक्ति पाउनु छ भने यो विद्या कुनै योग्य व्यक्तिलाई दिएपछि मात्र तिमी शरीरबाट मुक्त हुन सक्छौं । मैले लामो जीवन जिएँ । तर, म थाकिसकेको छु । म यसबाट मुक्ति पाउन चाहान्छु र निर्वाण प्राप्त गर्न चाहान्छु । मैले एक दिन ध्यानमा बाबालाई देखें । र, बाबाले मलाई यो दुःखबाट मुक्त गराइदिनुहुन्छ भन्ने ठूलो आशाले म यहाँ आएँ । र, यो विद्या बाबालाई दिन खोज्दा उहाँले अस्वीकार गरिदिनुभयो । यस्ता सिद्धीहरु भगवत् साक्षात्कारको मार्गमा ठूलो बाधा हुन्छन्।’ भन्नुभयो । ‘मैले उहा“बाट अब उचित शिक्षा लिएँ । यो संसारमा मुक्तिबाहेक जस्तोसुकै सिद्धी, समृद्धि र सम्मानले चिजले दुःख ल्याउँदो रहेछ।’

जसरी फासी चढाउन लागेको व्यक्तिको मिठो खाने र मिठो लाउने अन्तिम इच्छा पूरा गरिन्छ। त्यस्तै यो संसारमा पनि मानिसहरू फासी नै चढ्न गइरहेका छन्। काम, महत्वकांक्षा, धन, मान जस्ता कुराहरू मानिस फासी लाग्नुभन्दा अघिका अन्तिम भोजनजस्तै हुन्। बाबाले भन्नुभयो, ‘यो संसारमा आत्मबोध सिवाय अरु केही चिज पाउन योग्य छैन। स–साना यस्ता प्रलोभनमा नफस्न सम्झाउँदै साधनामा लाग्ने सल्लाह दिनुभयो। र, विश्वास दिलाउनुभयो कि यो विद्या लिन उचित समय, उचित स्थानमा उचित व्यक्ति आफै आइपुग्छ भन्नुभयो। बाबाको सत्संगबाट मैले के गर्नुपर्छ भन्ने बल्ल बुझें।’

ओशोले भन्नुभएको छ–  ‘बाहिरबाट जे पनि प्राप्त हुन्छ अनन्तः त्यो सबै दुःखमै परिणत हुन्छ । सच्चा सुख आफैभित्र छ । र, स्वयम्भित्र नगई त्यो प्राप्त हुँदैन ।’







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन्। ...