६ वैशाख २०८१ बिहीबार
समाज

आइएनजिओको अटेरीले बनेनन् स्वास्थय संस्था

गोरखा- भूकम्पपछि राहत र पुनर्निर्माणका लागि जिल्ला भित्रिएका गैरसरकारी संस्थाले जिम्मा लिएबमोजिम स्वास्थ्य संस्थाहरूको भवन नबनाउँदा डेढ वर्षदेखि टहरा र त्रिपालबाट स्वास्थ्य सेवा दिनुपरेको छ। विभिन्न आठवटा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले भत्किएका ५१ वटा स्वास्थ्य संस्थाको  प्रिफेब भवन निर्माण गर्ने जिम्मा लिएका थिए। जिम्मा लिएको डेढ वर्षमा ९ वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेको छ।

स्वास्थ्य मन्त्रालयसँग निर्माण सम्झौता  गरेका एनजिओ, आइएनजिओले १७ वटा स्वास्थ्य संस्थाको भवन बनाउने कार्य थालेकै छैनन्। उनीहरूले २५ वटा स्व्ाास्थ्य संस्थाको भवन निर्माण भइरहेको जनाएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले बताए। सम्झौताअनुसार एनजिओ र आइएनजिओले गत डिसेम्बरदेखि जुलाईसम्म सबै भवन निर्माण सकेर जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा विभिन्न कारण देखाएर म्याद थप गरिरहेका छन्।

धेरै भवनको जिम्मा लिएर अहिलेसम्म नबनाउनेमा युनिसेफ पहिलो स्थानमा छ। उसले भूकम्पबाट ध्वस्त बारपाक, लाप्राक, माछीखोला, बक्राङ, ताक्लुङ, नामजुङ, दर्बुङ, छोप्राक, फुजेल, देउराली, गुम्दा र बोर्लाङका स्वास्थ्य संस्थाको भवन निर्माण गरिदिने भनेको थियो। युनिसेफले भनेअनुसार भवन नबन्दा टेन्ट र अस्थायी टहरोबाट स्वास्थ्य सेवा दिनुपरेको अधिकारीले बताए।

त्यस्तै फेज नेपाल नामक संस्थाले दुर्गम केरौंजा र कासिगाउँका स्वास्थ्य संस्था भवन बनाउने जिम्मा लिएको थियो। उसले पनि अहिलेसम्म काम सुरु गरेको छैन। दुर्गम भेगमा भवन र औषधि अभावमा भरपर्दो उपचार हुन नसक्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ।

वर्ल्ड भिजन इन्टरनेसनल नामक गैरसरकारी संस्थाले केराबारीको स्वास्थ्य संस्था भवन निर्माण गर्ने भने पनि अहिलेसम्म काम थालेको छैन।

केयर नेपालले हर्मी र गाँखुमा स्वास्थ्य भवन निर्माण सुरु गरे पनि दुर्गम उहियामा काम थालेको छैन। स्वान नामक गैरसरकारी संस्थाले सातवटा भवन बनाउने जिम्मा लिएकोमा ६ वटा बनाइसकेको छ। असल छिमेकी नामक संस्थाले पाँंचवटा भवन निर्माण जिम्मा लिएकोमा एउटा बनाएको छ। उसले अन्य चारवटा भवन बन्दै गरेको जनाएको छ। आइएमसीले सात र सेभ द चिल्डे्रेनले आठवटा भवन निर्माण गरिरहेको बताएका छन्। आइएमसीले ६ महिनाअघि नै भवन निर्माण सकेर बुझाउने सम्झौता मन्त्रालयसँग भएको थियो। यी संस्थाले धेरैजसो दुर्गम भेगका स्वास्थ्य संस्थाको भवन बनाउने जिम्मा लिएका छन्। भवन निर्माणको जिम्मा लिएर समयमै पूरा गर्नेतर्फ चासो नदिँदा सेवा दिन कठिन भएको गुनासो स्वास्थ्यकर्मीको छ।

'हामीले छिटो निर्माण गर्न बारम्बार भनेका छौं तर काम हुन सकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले भने। विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाले निर्माणको जिम्मा लिएका कारण जिल्ला स्वास्थ्य कार्यालयले पनि भवन बनाउन सहयोग गरेको छैन। भूकम्पलगत्तै विभिन्न संघसंस्थालाई प्रिफेब घर निर्माण जिम्मा दिइए पनि अहिलेसम्म काम सुरु नहुँदा उपचारमा समस्या भएको छ। संघसंस्थाले विभिन्न बहाना देखाएर सम्झौता लम्ब्याउने गरेका छन्। सबैले म्याद थपेर बसेका छन् तर कामले गति लिन सकेको छैन।

जिम्मा लिएका संस्थाले भवन निर्माण नगरिदिएको र जिल्ला स्वास्थ्य कार्यालयले पनि चासो नदिँदा भूकम्पको १६ महिनासम्म पनि टेन्टमै उपचार गर्नुपरेको, औषधि राख्ने ठाउँं नभएको र सेवा पनि  प्रभावकारी बनाउन नसकिएको गुनासो स्वास्थ्यकर्मीको छ। अहिले १७ वटा स्वास्थ्य संस्था टेन्ट र टहरामा छन्। कतिपय भाडाका घरमा छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले जिम्मा अनुसार काम नगर्दा सर्वसाधारणमा असन्तुष्टि चुलिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण भट्टले गोरखामा काम गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था सबैले आफ्नो खर्च र कार्यक्रम सार्वजनीक सुनुवाइ गरेर सर्वसाधारणलाई जानकारी गराउनुपर्ने बताउँछन्। 'अहिलेसम्म के काम भयो? अब के गर्ने? कति बजेट छ? सबैलाई थाहा हुनुपर्छ। भनेअनुसार नगर्ने संस्थाको अब काम छैन,’ प्रजिअ भट्टले भने।

 जिल्ला दैवी प्रकोप उद्धार समितिमा आइएनजिओहरूका तर्फबाट प्रतिनिधित्व गर्ने केयर नेपाल, गोरखाका प्रमुख माधव ढकालले सबैतिर एकै पटक निर्माण गर्नुपर्ने र यहाँ प्रिफेब घर बनाउने कम्पनी थोरै भएकाले समस्या भएको बताए।

प्रकाशित: १३ भाद्र २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App