coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

एएफयुको पहिलो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीतस्बिरः सविता/नागरिक

चितवन -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार लैजान कठिन हुनाका साथै भीरमा बस्नेको जीवन पनि असहज हुने ओलीले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को पहिलो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भीरमा घर बनाएर बस्ने प्रचलनलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । ‘भीरमा बस्नेले हरेक पटक हिँड्दा ज्यान जोखिममा राखेर हिँड्नुपर्छ, ’उनले भने, ‘भीरमा बस्नु हुँदैन । त्यसैले केही वर्षमा भीरको बसाइ नै अन्त्य गर्छौं ।’ नयाँ वर्षको पहिलो दिन कर्णाली पुगेका प्रधानमन्त्री ओलीले कर्णाली हेर्दा नेपालीको बसाई नै विकासको बाधक भएको आफूले महसुस गरेको बताए।

‘कम्तिमा २० वटा घरको एउटा गाउँ बनाउन १० वटा डाँडा पुग्नुपर्ने ठाउँ छन्,’ उनले भने, ‘त्यस्ता ठाउँमा बाटो, विद्यालय, स्वास्थ्य चौकी पुर्‍याउन कठिन हुन्छ ।’ कर्णाली मात्र नभएर चितवन, धादिङलगायत जिल्लामा भइरहेको भीरको बसाइलाई अन्त्य गरिने प्रधानमन्त्री ओलीको दाबी छ । भीरमा रहेका वस्तीलाई घर, विद्यालय, स्वास्थ्य चौकी लगायतका सुविधा भएको उपयुक्त ठाउँमा स्थानान्तरण गरिने उनले आश्वासन दिए ।

कृषि प्रधान देश भएर पनि देशमा ढिला गरी कृषि विश्वविद्यालय स्थापना भएको प्रधानमन्त्री ओलीले बताए । दुई तिहाई जनता कृषिमा सहभागी भए पनि देशमा कृषिको योगदान एक तिहाई मात्र रहेको बताउँदै ओलीले भने, ‘अब कृषिको आधुनिकरण, व्यावसायीकरण, उन्नत जातका बीउबीजन, सिँचाईको प्रबन्ध र प्राविधिक पक्षमा जोड दिनुपर्छ ।’कार्यक्रममा उनले विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई कृषिको विकास गर्ने अध्ययन र अनुसन्धानमा लागेर देशलाई योगदान दिन आग्रह पनि गरे।

कार्यक्रममा चौधरी चरण सिंह हरियाना कृषि विश्व विद्यालयका उपकुलपति प्रा.डा. के.पी.सिंहले कृषिको परम्परागत पद्धतिलाई परिवर्तन गरेर आधुनिकीकरणमा जोड दिनुपर्ने बताए । धेरैभन्दा धेरै जनता सहभागी भएको कृषि क्षेत्रलाई सरकारले अनुदान उपलब्ध गराएर प्रोत्साहन गर्नुपर्ने उनले सुझाव दिए।

‘कृषि नै गर्नुस्, देश बनाउनुस्’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइने बताए । कुनै पनि बालबालिका विद्यालय बाहिर नहून् र माध्यमिक शिक्षा पूरा गर्दा हातमा एउटा भए पनि सीप लिएर निस्कून् भनेर नेपाल सरकारले शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए । कृषिको व्यावसायीकरण र वैज्ञानिकीकरणमा कृषि पढेका विद्यार्थीको महŒव रहने मन्त्री पोखरेलले बताए । ‘कृषि पढ्ने जागिर खानलाई होइन’ उनले भने, ‘कृषि नै गर्नुस्, देश बनाउनुस्।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलोे दीक्षान्त समारोहमा तीन सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । २०६७ असारमा स्थापित विश्वविद्यालयमा २०६९ सालबाट अध्यापन सुरु गरेको थियो । विश्वविद्यालय र यसका चार आंगिक क्याम्पसमा अहिले २ हजार २ सय ७ विद्यार्थी अध्ययरत छन् ।

 

 

 

प्रकाशित: २२ वैशाख २०७५ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App