१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जनकपुर जहाज

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा सुरुमा आउने त राजधानी काठमाडौं नै हो ।

त्यसपछि अरु कुनै ठाउँको भ्रमणमा जानु छ भने जाने हो ।तर, भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको यसपालिको भ्रमण भने ऐतिहासिक हुँदै छ । किनभने उनी यसपालि उल्टो भ्रमण गर्दै छन् ।

उनी सुरुमा जनकपुर जाँदै छन्, त्यसपछि काठमाडौं । तसर्थ, यसले एउटा प्रश्न जन्माएको छ कि प्रधानमन्त्री नरेन्द्र मोदी मूलतः काठमाडौंको भ्रमणमा आउँदै छन् कि जनकपुरको भ्रमणमा ? मलाई त लाग्छ, उनी मूलतः जनकपुरको भ्रमणमा आएका हुन् । त्यहाँ औपचारिक कार्यक्रम सकाएर घुम्नचाहिँ काठमाडौं आउँदै छन् । कतै उनी यसपालि प्रधानमन्त्री केपी ओलीको निमन्त्रणाभन्दा पनि मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा त नेपाल आउन लागेका होइनन् ?

अब जेहोस्, जनकपुरबाट आऊन् कि टनकपुरबाट, उनी नेपाल आउने निश्चित भयो यही हाम्रा लागि ठूलो कुरा हो । कुनै एक जमाना थियो, भारतबाटै भगवान् राम पनि जनकपुर आएका थिए, पूरा दलबलसहित । फर्कंदा उनले जनकपुरकी राजकुमारी सीतालाई पनि सँगै लिएर गए ।उसै पनि प्रधानमन्त्री मोदी नेपाल आएपछि मुसुक्क मुस्काउँदै यही भन्छन्, ‘जवानी पहाड में रुक नहीं सकती।’

खैर यसलाई त्यसैबेला देखा जायेगा । तर, अहिले तत्कालै भने जनकपुरमा अर्को समस्या आएको छ । भारतमा कंग्रेस–आईका नेताहरू भन्ने गर्छन्– जहाँ नरेन्द्र मोदी आउँछन्, त्यहाँ समस्या पनि आउँछन् । जनकपुरमा त्यसै भइदियो । जुन ठाउँमा नरेन्द्र मोदीलाई स्वागत गर्ने मञ्च बनाउनुपर्ने थियो, त्यहीँ ठाउँ पानीले भरिएछ । अस्ति रातभरि परेको पानीले उहाँको स्वागतस्थल पूरा जलमग्न भएको रहेछ । यसले गर्दा आयोजकलाई ठूलो मर्का परेको छ । अब के गर्ने ? स्वागत गर्ने दिन नजिकै आइसक्यो, स्वागतस्थल भने पानीले भरिएको छ।

स्वागतस्थल पानीले भरिएको तस्बिर देख्दा मलाई लाग्यो, यो सायद नेपालमा छिटै जहाज आउने कुराको संकेत हुनुपर्छ । (हवाईजहाज होइन, पानीजहाज भन्नुस् ।) हाम्रा प्रधानमन्त्री केपी ओली अस्ति भारत जाँदा नेपालमा पनि पानीजहाज चलाउने सहमति भएको थियो । नेपालमा पानीजहाज चलाउन आवश्यक जम्मै सहयोग उपलब्ध गराउने वचन नरेन्द्र मोदीले नै दिएका थिए । सायद त्यसैको असर हुनुपर्छ, आज उनलाई नै स्वागत गर्न लागिएको सम्पूर्ण क्षेत्र पानीले भरिएर जहाज चलाउन लायक बनिदिएको छ।

लिक आएपछि रेल आउने पक्का हुन्छ । रोड आएपछि गाडी आउने पक्का हुन्छ । त्यस्तै पानी आएपछि जहाज आउने पनि पक्का हुन्छ । मलाई त शंका लागिरहेको छ, कतै प्रधानमन्त्री नरेन्द्र मोदी पानीजहाजै चढेर त जनकपुर आउँदै हुनुहुन्न ? यो सबै त्यसैको तयारी हो कि जस्तो लागिरहेको छ मलाई त।

जबदेखि प्रधानमन्त्री ओली भारतबाट फर्कनुभयो, तबदेखि देशमा जहाजै जहाजको मात्रै चर्चा चलिरहेको छ । तर, चर्चा नेपालमा चलेको भए पनि त्यसको श्रय भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ । किनभने, उनकै भरोसाले नेपालमा जहाज चल्न लागेको हो।

त्यसैले अहिले नेपालमा नरेन्द्र मोदी नाम लियो कि हामी सबैभन्दा पहिले जहाज नै सम्झिहाल्छौँ । अहिले जनकपुरमा पानी जमेबाट उनीप्रति हाम्रो भरोसा झनै बढेर गएको छ । किनभने उनको नाम लिनेबित्तिकै जनकपुरमा पानी जमिसक्यो । अर्थात् मोदीजीकै कृपाबाट प्राप्त भएको पानी हो यो । पानी आएपछि जहाज आउने पनि निश्चितै भयो । लिक आएपछि रेल आउने पक्का हुन्छ । रोड आएपछि गाडी आउने पक्का हुन्छ।

त्यस्तै पानी आएपछि जहाज आउने पनि पक्का हुन्छ । मलाई त शंका लागिरहेको छ, कतै प्रधानमन्त्री नरेन्द्र मोदी पानीजहाजै चढेर त जनकपुर आउँदै हुनुहुन्न ? यो सबै त्यसैको तयारी हो कि जस्तो लागिरहेको छ मलाई त । होइन भने उहाँलाई जहाँ स्वागत गर्नुपर्ने हो, त्यही ठाउँमा पानी जम्नुपर्ने किन ? अलि दायाँबायाँ जमे पनि हुन्थ्यो नि।

हामीले पहिले पनि देखेकै थियौँ, प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आफूलाई चाहिने सामान जम्मै आफैँ लिएर आउँछन् । विमान पनि आफ्नै ल्याउँछन्, गाडी पनि आफ्नै ल्याउँछन् । के थाहा, अहिले पानीजहाजका लागि पानी पनि आफ्नै ल्याउने तयारी पो गरेको हो कि ?रेलको पूर्वाधार लिक भनिएजस्तै जहाजको पूर्वाधार पानी हो । अब बर्खायाममा हेर्नुस्, भारतले पानी जहाजका लागि ठाउँठाउँमा पूर्वाधार तयार गर्नेछ।

सबैभन्दा पहिले कोसीको बाँध थुन्नेछ, त्यसपछि नेपालतिर पूर्वाधारै पूर्वाधार ! सानो जहाज चलाउन मन लागे सानो जहाज चलाउँ, ठूलो जहाज चलाउन मन लागे ठूलै जहाज चलाउँ, हरेक बर्खायाममा भारतले हामीलाई पानी त दिइरहेकै हो । दिन बाँकी त जहाजै मात्र हो नि । अब त्यो जहाज पनि यसपालि जनकपुर हुँदै आउने हो कि ? आशा गरौँ । आशा गरेर के पो बिग्रिन्छ र ?     

प्रकाशित: २२ वैशाख २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App