८ वैशाख २०८१ शनिबार
अन्य

दक्षप्रजापतिको गाउँमा

टोखा–मुख्य काठमाडौँदेखि उत्तरतिर पर्ने नजिकैको नेवार बाहुल्य बस्ती । चाकुका लागि प्रख्यात । सांस्कृतिक वैभवशाली।

कुष्ठरोगको अस्पताल पनि । सामाखुसीबाट टोखा रोड खुलेको पनि धेरै भइसक्याे। गुर्जेभन्ज्याङबाट थानसिंह हुँदै बट्टार पुग्ने वैकल्पिक मार्गकोे केन्द्र । सामाखुसीबाट थानसिंह जाँदा होस् वा ढिकुरेबाट काठमाडौँ  फर्कँदा होस्, टोखा त गएकै हो गाडीमा । तर, न कुनै जात्रामात्रा सरिक हुन पाइयो न कुनै महोत्सवमा।

आज बल्ल पो साइत मिल्यो । साथी रमेशजंग सिजापती केही अध्ययन अनुसन्धानमा लागेको र डा. रामकुमार भौकाजी उनका प्रायः हिँड्दाका साथी । डा. भौकाजीले मलाई पनि लाने सिजापतीसँग सल्लाह गरेपछि मेरो बाटो खुलेको थियो नत्र म मात्र एक्लै कहाँ जान्थेँ र ?सामाखुसी चोकबाट माइक्रोबस हिँड्यो बिहान ११ बजेतिर र करिब २० मिनेटमा टोखा बजारको छेउमा रोकियो । लमतन्न परेको सानो बजार छ यो । उत्तरतिर झोर हुँदै नुवाकोट गइन्छ । उत्तरतिरको हरियालीले पो हामीलाई तान्यो ।

जुम्ली नेता लाल हमाल र म चाहिँ उत्तरतिरकै हरियालीमा तानियाँैँ । बजारको उत्तरपट्टि कुनामा रहेको गणेशको मन्दिर र छेउछाउमा अरु केही पुराना मूर्ति थिए । बजारमा कुनै चहलपहल देखिएन । साथी सिजापती ९० सालका भूकम्पपीडित प्रौढहरूलाई खोज्नपट्टि लागे । तैपनि ठूलै कुरा सुन्न पछि परिएला भनी हामी उनको पछि पछि लाग्यौँ । एक जना ९० सालको भूकम्प देख्ने आमा विष्णुमाया पुखुसीमा बस्दी रहिछन्, उनकी नातिनीसँग अनुमति लिएर सिजापती भिडियो खिँच्दै कुरा गर्न लागे । आमा केही पाइएको होइन भन्दै थिइन् । यस्तो उमेरमा पनि चाह देखेर छक्कै लाग्याे।

अरु प्रौढ मानिस खौज्दै जाँदा एक टोलमा बूढी चाहिनेले बूढासँग हामीसँग कुरै नगर्नू भनेर पो सिकाइन् । पाउने केही होइन भन्ने उनीहरूको भनाइ थियो । खोज्दै जाँदा टोलमा गफ गरिरहेका एक पुराना ‘माड्साब’ धर्मराज श्रेष्ठ भेटिए, उनले अर्का प्रौढ भक्तबहादुर श्रेष्ठसँग भेटाइदिए, ९१ वर्षीय नै । ९० सालको भुइँचालोमा ठूला मानिसहरूले परालको कुन्युतिर लुकाएका थिए रे । उनले भने, ‘यसपालि माथिल्लो तलामा बस्दा यता हल्लायो, उता हल्लायो, छोराबुहारीहरूले तानेर तल ल्याए, अहिले टहरानेर बसेका छौँ ।’ मसिनो स्वरमा बोलेका भक्तबहादुरको कुरा गराई साह्रै मीठो थियो बालकजस्तो।

हमालजी र म अब भूकम्पका कथा–व्यथा हैन, उत्तरतिर नै लाग्यौँ खेलकुद मैदान हेर्दै, गहना पोखरी, टोखा ढोका पार गरी पुखुुसी हुँदै । खेलकुद मैदानको कुनामा रहेछ इन्द्रायणीको मन्दिर । चौतारामा बसिरहेका एक पुरुष र महिलाले मन्दिरको नाम बताए।

त्यसलाई कालीमसान पनि भनिँदो रहेछ । चण्डेश्वरी जात्रासँग सम्बन्धित रहेछ मन्दिर । चैत मसान्तमा जात्रा सुरु हुने रहेछ । वैशाख १ गते सपनतीर्थ मेला, २ गते सिन्दुरे जात्रा, ३ गते गहना खोज्ने, सबै देवीदेवताले काली मसानलाई भेट्ने, ४ गते देवता भिœयाउने र ५ गते भोज खाने चलन रहेछ । एक महारोगीलाई पानीमा डुबाउँदा सग्लो भएको, सुन्दर शरीरलाई उनकी श्रीमतीले नचिनेको र उनलाई सपना जस्तो लागेकाले सपनतीर्थ मेला भनिएको चौताराका मानिसले बताए । नजिकैको गहनापोखरीमा हाँडीगाउँको जस्तै गहना खोज्ने जात्रा  लाग्ने थाहा पाएर म त छक्कै परेँ।

अँ, नेवारी भाषामा पुखु भनेको चाहिँ पोखरी र सी भनेको नजिकैको ठाउँ भन्ने बुझिँदो रहेछ । पुखुसीको ठीक किनारमा गणेशमान सिंहको लौरो लिएको हँसिलो सालिक पो रहेछ । अहिले पनि उनी लौरोले खबरदारी गर्दै रहेछन् । पुखुसीको अर्काे नाम त गणेश पोखरी पो रहेछ । तर गणेशमानको सालिक भएर त्यसको नाम गणेश पोखरी राखिएको चाहिँ हैन रहेछ । ठाउँ ठाउँमा यस्तो पोखरी हुनाले पनि निकै शोभा दिने रहेछ । कीर्तिपुरको देय्पुखुले त छयालिस सालको आन्दोलनमा घर घरको पानीको सङ्कट नै टारेको हो नि ।  चाबहिलको लामपोखरी चाहिँ सुकेर मात्रै, नत्र कति मनमोहन देखिँदो हो त्यो ठाउँ।  

सिंजापतिलाई त्यतैतिर छाडेर हमालजी र म लाग्यौँ पानीको खोजमा । रुघा लागेकाले उनी तातोपानीको खोजीमा थिए भने म चाहिँ चिसो मिनिरल वाटर । एक चिया पसलमा सोद्धा तातोपानी नपाइने बताइएपछि हामी बजारबाट नाघेर उत्तरतिर लाग्यौँ । एउटा शेर्पिनीको पसलमा चिया पनि खाने, तातोपानीको पैसा पनि तिर्छाैँ भनेपछि पानी खान पाइयो।

पछितातोपानीको पैसै तिर्नुपरेन । हमालजीलाई निकै मन प¥यो ठाउँ । अब भने हामी टाढै हिँड्न लाग्यौँ । बाटो सजिलै थियो, गाडी, मोटरसाइकलहरु ओहोरदोहोर गर्ने । तीजका व्रतालु पनि कतै जाँदै थिए । कोही टोखा बजारतिर आउँदै थिए । हामीले रातो लुगामा ससाना शिशु पनि बोकेर ल्याएको देख्यौँ, तिनलाई गणेश मन्दिरमा भात खुवाउन ल्याइएको रहेछ तीजको शुभदिन पारी । जाँदा जाँदा सिंजापतिलाई एक जना ९६ वर्षीया आमासँग कुरा गर्दै गरिरहेको पनि देख्यौँ, हामी चिया खान लाग्दा उनी यता आइसकेछन् माड्साब धर्मराजसँग । ती आमा त झन् फरासिली ।

भूकम्पको सातै दिनमा चामल, दाल, तेल आदि राहत पाएकामा तिनी निकै खुसी थिइन् । “यस्तो धर्म गर्नेलाई त राजै होस् भनेर आशीर्वाद दिन्छु म त” आमा जगतकुमारी श्रेष्ठ भन्दैथिइन् । उनका माहिला छोरा लक्ष्मीप्रसाद पनि एकैछिनमा आइपुगे । उनले आमालाई देशविदेशका धेरै तीर्थ घुमाइसकेका रहेछन्, कहीँ हवाइजहाज, कहीँ गाडी । सौराहामा हात्ती पनि । जतिखेर पनि काम गरिरहन्छिन् उनी । काम नगर्ने छोराबुहारीलाई त हप्काइहाल्छिन् । उनीसँग जति कुरा गरे पनि नअघाइने । पछि खाजा भनेर काँचो बदाम पखालेर दिइन् हामीलाई । छोडाउँदै बदाम खानाको मज्जा पनि बेग्लै ।  लक्ष्मीप्रसाद पनि कुरा गर्न खप्पिस ।

व्यापार र जग्गा प्लटिङको काम गर्दा रहेछन् । “टोखाको विशेषता चाहिँ के हो नि दाइ ?”मैले सोधेँ । “यो लिच्छविकालीन बस्ती हो, काठमाडौँमा हुने सबै जात्रा यहाँ लाग्छ, के चाहिँ हुन्न भन्नोस् न,चण्डेश्वरीको जात्रा त भइहाल्यो, गाईजात्रादेखि इन्द्रजात्रा सबै हुन्छ यहाँ । अनिउखु, चाकु, बदाम, हकुवा चामल, सिन्की अचार।”उनले एकै सासमा भने ।

मन्दिरमा चाहिँ गणेश, भीमसेन, गोरखनाथ, नारायण, काली, बुद्ध, भैरव, महाकाली रहेछन् । “चण्डेश्वरी जात्राका लागि पहिले ८४ रोपनी जग्गा थियो, अहिले सबै मासियो, गुठी संस्थानले रु ७५ पो अनुदान दिन्छ”–उनले गुनासो गरे । कुनै बेला उखुखेती मजाले हुने र चाकुका लागि प्रसिद्ध सो ठाउँमा अहिले उखु त्यति नहुने रहेछ।

जगतकुमारी आमा र उनका छोरासँग बिदा लिएर हामी पुग्यौँ रुखैरुख र हरियाली खेतबारी हुँदै चण्डेश्वरी मन्दिरतिर उत्तरतर्फ । तीजका बेला । महिलाहरु रातो सारीमा ओहोरदोहोर गरिरहेका थिए । कोही गाडीमा त कोही मोटरसाइकलमा । खासमा त्यही बाटो हिँडेमा बुढानीलकण्ठ पनि पुगिँदो रहेछ।

हामी चाहिँ चण्डेश्वरी मन्दिरतिरै हानियौँ । मन्दिरमा तीजको नाचगान चलिरहेको थियो । हामी त गौरी भैरवेश्वर मन्दिरमा पो पुगेका रहेछौँ । त्यहीँ मुस्कानेश्वर महादेव पनि रहेछन् । अचम्मको कुरा, धर्मराजजीले यो त दक्षप्रजापतिले यज्ञ गरेको ठाउँ भनेर पो चिनाइदिए हामीलाई । काठमाडौँकै एउटा कुनामा पो ३३कोटि देवता बोलाएर यज्ञ गरेका छन् ।दक्षप्रजापतिले । यति नजिक भएर पनि यस्तो मिथक थाहा नपाउनु वा थाहा पाएर पनि बिर्सनु जस्तो आश्चर्य केही लागेन ।  एउटा सानो मन्दिरमा एउटा पीपलको रुख थियो छ–सात वर्षअघि हुरीले भाँचिएको जहाँ ३२ थरि फूल फुल्थे रे ।

मुस्कानेश्वर महादेवलाई चाहिँ दक्षप्रजापतिले नमस्कार गर्दै बसेको सानो मूर्ति देखियो । नजिकै सतीदेवी हाम्फालेको यज्ञकुण्ड पनि देखाइदिए धर्मराजजीले । यो यज्ञ यहाँ भएको हो कि होइन, यसको रहस्य के हो भन्नेबारे त अध्ययन नै गर्नुपर्छ जस्तो लाग्यो । स्वस्थानीकथामा दक्षको यज्ञ कहाँ भएको भनेर लेखिएको होला, पढ्नुपर्ला।

पूर्वपट्टि वासुकी नागको पोखरी पनि रहेछ । सधैँ एक नाग बसिरहेकै हुन्छ रे त्यहाँ । अलि पर अग्लो ठाउँमा कालीमाताको ठूलो मूर्ति स्पष्ट देखिन्छ करिब १२–१३वर्षअघि स्थापना भएको छानो र घरबिना । जिब्रो फड्कारिरहेकी र गलाभरि टाउकै टाउकाको माला लगाएकी कालीमाताकैअगाडि बसेर हामीले आफ्ना तस्बिर पनि लियौँ । चण्डेश्वरीमा बसेर हामीले चारैतिर अवलोकन ग¥यौँ, दक्षिणतिर मुख्य सहर काठमाडौँ धुमिलतामा रमाइरहेको थियो भने बाँकी भाग हरियै हरियो । हामी अब पुरानै बाटाबाट नफर्कने भन्दै बुढानीलकण्ठतिर सोझियौँ नयाँ बाटाको स्वाद लिन ।

एक जना कालो लुगा लगाएका बाबाको पञ्चवटी आश्रमको छेवैमा रहेको चिया पसलमा  चिया बिस्कुट खाएर हामी पूर्वतिर तेर्सियौँ । बाटामा युवाहरुको ओहोरदोहोर चलिरहेको थियो । नगरकोटदेखिको हाइकिङ गर्न मिल्ने बाटो रहेछ यो । सल्ला, धुपी, टाँकी र अन्य बोटविरुवाको हरियालीमा रम्दै हिँडिरह्यौँ । तेर्साे तेर्साे बाटो रहेछ । त्यसलाई  लाल हमाल पाँजुुला पाँजुला भन्दा रहेछन् जुम्ली भाषामा।

उनको भाषा पनि केही सुन्यौँ । हाट आऊ भन्दा रहेछन् छिटो आऊ भन्नलाई । करिब एक घन्टामा बुढानीलकण्ठ कुल आइपुग्यौँ । खासमा भन्ने हो भने त्यो स्कुल मैले पहिलो चोटि नै देखेँ । नजिकैको सूचनापाटीमा त्यहाँ पाइने चराहरुको नालीबेली राखिएको रहेछ चित्रसहित ।  बुढानीलकण्ठ मन्दिर घुुम्दा त्यहाँ पनि दोहोरी गीत र नाच चलिरहेको थियो । यसरी टोखाको सेरोफेरो घुमियो ।ला, घर फर्कँदा पो सम्झन पुगेँ, चाकु त ल्याउनैपो भुलिएछ।
 

प्रकाशित: २२ वैशाख २०७५ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App