८ वैशाख २०८१ शनिबार
समाज

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

काठमाडौँ – सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्। 

देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्पाबाट दुई व्यवसायी पक्राउ परेका छन्। श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

त्यस्तै बुटवलमा पनि नियम विपरित सिन्डिकेटको पक्षमा आन्दोलन गर्दै सवारी सञ्चालनमा रोक लगाउने ८ जना व्यवसायीलाई पक्राउ गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जिवनकुमार बन्जाडे, महासचिव पदमराज गाह, सहसचिव चेतनारायण बेल्वासे, बुटवल यातायात समितिका उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, जितेश गुरुङ, सिद्धार्थ यातायातसमिति भैरहवाका सदस्य प्रकाश श्रेष्ठ, रवि खाती र चन्द आलेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

त्यस्तै प्रदेश ७ मा कैलाली प्रहरीले १० जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक शरद चन्दले महेन्द्रनगरबाट ५ र कैलालीवाट ६ गरेर ११ जना व्यवसायीलाई नियन्त्रणमा लिएको बताएका छन् । कैलालीको कर्णाली रिभर यातायात समितिका ६ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

समितिका अध्यक्ष धिरज शाही, महासचिव गणेशराज ओली, कोषाध्यक्ष जयरुप बुढा, सदस्य ज्ञानु भण्डारी, कृष्णप्रसाद भट्टराई तथा सो समितिको टीकापुर काउण्टरका इन्चार्ज हिक्मत खड्कालाई पक्राउ गरिएको हो । अध्यक्ष शाहीलाई चिसापानी तथा बाँकी पदाधिकारीलाई लम्की क्षेत्रबाट  पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन ।

यसैगरी महाकाली बस व्यवसायी समितिका अध्यक्ष डम्बरदत्त पन्त सहित ५ जना व्यवसायी पक्राउ गरेको कंचनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताएका छन । अन्यको खोजी भइरहेको उनले बताए । अत्यावश्यक सेवा रोक लगाएकोमा गृहमन्त्रालयको निर्णय अनुसार उनीहरुलाई कारवाही अगाडि बढाइने उनको भनाई छ ।

प्रदेशका अधिकांश समितिका पदाधिकारी फोन अफ गरेर बसेका छन् । प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधिकारी भारततर्फ भागेका छन् । 

प्रदेश नम्बर ७ को कञ्चनपुरमा पवनदुत यातायात, महाकाली यातायात, कैलालीमा सुदूरपश्चिम यातायात, कर्णाली रिभरसाईड यातायात, मालिका यातायात, डडेल्धुरामा उग्रतारा यातायात र डोटीमा शैलेश्वरी यातायात गरी दर्जनौ सार्वजनिक यातायात समितिहरु रहेका छन। 

प्रकाशित: २१ वैशाख २०७५ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App