१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैं-तिहारलाई सरकारी सहुलियत

काठमाडौं- महँगीको चपेटामा परेका उपभोक्तालाई राहत दिन सरकारले चाडबाडका बेला ग्याससहित दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय गरेको छ।  चाडपर्वमा सहुलियत स्वरुप ग्यासप्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने भएको हो। छुट दिएपछि अहिले १३ सय ७५ रुपैयाँ पर्ने ग्यास सिलिन्डर उपभोक्ताले १३ सय २५ रुपैयाँमै पाउने छन्।

दसैं–तिहारलाई लक्ष्य गरेर सुपथ मूल्य पसलमार्फत सस्तो मूल्यमा चामल, ध्यू, तेल, नून, चिनी, पनिर, खसी, बोका, च्यांग्रामा छुट दिन लागेको हो। सरकारी स्वामित्वका संस्थान सहित उपत्यकाका करिब ५ सय खुद्रा पसलबाट तोकिएको छुटमा सामान किन्ने व्यवस्था मिलाउने आपूर्ति मन्त्रालयले जनाएको छ।

असोज १ गतेदेखि दसैं–तिहारमा उपभोक्तालाई अहिलेको बजार भाउभन्दा सस्तोमा सामान उपलब्ध गराउन तयारी गरेको हो। १५ थरीका चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, घिउ किलोमा १० रुपैयाँ छुट दिने मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए। 'चाडबाडमा सुपथ मूल्यमार्फत दैनिक उपभोग्य वस्तुमा छुट दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छौं,' रेग्मीले भने, 'छुट दिएको रकम अर्थ मन्त्रालयलाई सोधभर्ना गर्न अनुरोध गरिएको छ।'

बजारलाई सन्तुलित राख्दै कालाबजारीयालाई निरुत्साहित गर्न विशेष बजार अनुगमन गरिरहेको मन्त्रालयले उपभोक्तालाई चाडबाडमा उपहार स्वरुप छुट दिन सरकारी माताहतमा सञ्चालित संस्थानहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र आयल निगमलाई यस्तो निर्देशन दिएको हो। ती संस्थान सरकारी भएकोले तालुक मन्त्रालयको निर्देशन कार्यान्वयन गर्नुपर्नेछ।

दैनिक उपभोग्य वस्तुमात्र नभएर उपत्यका बाहिरबाट करिब २५ सय खसी, बोका र च्यांग्रा उपत्यकामा सहुलियत दरमा बिक्री गर्ने योजना छ। असोज १ बाट सुरु हुने सहुलियत पसल कार्तिक २१ गतेसम्म सञ्चालित हुनेछन्।

चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको माग अधिक हुँदा व्यापारीले समेत सोही मौकामा कालोबजारी गर्ने गरेको घटनाबाट पाठ सिकेर सरकार पहिल्यै तयारीमा जुटेको छ। सहुलियत दरका चामलका लागि १३ हजार ३ सय क्विन्टल माग गरेको संस्थानले जनाएको छ। संस्थानले थापाथलीको बिक्री कक्ष, बल्खु, नेसनल ट्रेडिङको कार्यालय, ललितपुर, भक्तपुर लगायत ११ ठाउँबाट बिक्री गर्ने तयारी गरेको छ।

चाडबाडलाई लक्ष्य गरेर ग्यासमा छुट दिन मन्त्रालयबाट निर्देशन आएको नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए। 'मन्त्रालयको निर्देशनमा छलफल गरिरहेका छौं,' निर्देशक साहले भने।

मूल्य बढाउने बेला भए पनि थप छुट दिने तयारी गरेको दुग्ध विकास संस्थानले जनाएको छ। घिउलगायत दुग्ध पदार्थमा उपभोक्तालाई सहुलियत दिने संस्थाका महाप्रबन्धक गंगा तिमिस्सिनाले बताए। 'चाडबाडमा उपहार स्वरुप उपभोक्तालाई केही छुट दिन लागेका हौं,' उनले भने

पछिल्लो तीन महिनामा ६५ रुपैयाँ किलो पर्ने चिनीको भाउ ८५ देखि ९० रुपैयाँ पुगेपछि साल्ट ट्रेडिङले भारतबाट चिनी ल्याएको छ। बजारमा उपभोक्ताको मागअनुसार पर्याप्त चिनी नपाइरहेको अवस्थामा कर्पोरेसनले भारतबाट चिनी ल्याएको हो। सरकारले भारतबाट एक प्रतिशत भन्सार महसुलमा चिनी ल्याउन छुट दिएपछि कर्पोरेसनले ३० हजार मेटि्रन टन चिनी किनेको थियो। बजारमा अभाव देखिनासाथ व्यापारीले मूल्य धेरै लिन थालेपछि साल्ट ट्रेडिङले ल्याएको चिनी ८४ रुपैयाँ बिक्री गरिरहेको छ। उत्पादन घटेको बहानामा उद्योगीले कृत्रिम अभाव सिर्जना गरी चिनीको भाउ बढाएपछि भारतबाट चिनी ल्याएको हो।

नेपालमा चिनी २ लाख ५० हजार मेटि्रक टन खपत हुने गरेको छ। स्वदेशी उद्योगले करिब १ लाख ६५ हजार टन उत्पादन गरे पनि अपुग भएको करिब ८५ हजार टन चिनी विदेशबाट आयात हुन्छ।

चाडबाड सुरु नहुँदै गरिएको सघन अनुगमनले बजारमा सामान अभाव नहुने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ। 'बजारमा दैनिक उपभोग्य वस्तुको पर्याप्तताको लागि पनि पहल भइरहेको छ,' विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, 'कालोबजारी गर्ने पनि सचेत भएका छन्।'

आपूर्ति मन्त्रालयले गरेको निर्णय स्वागतयोग्य भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। 'निर्णय गरेरमात्र पुग्दैन,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, 'कार्यान्वयन फितलो हुन नदिन उपभोक्ता सचेत भएर दबाब दिनुपर्छ।'

प्रकाशित: १३ भाद्र २०७३ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App