coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वी नेपालका पर्यटन व्यवसायी दौडाहामा

इस्ट टुरिज्म मार्टका प्रचार–प्रसारकाक्रममा खोटाङ आइपुगेका पर्यटन व्यवसायी। तस्बिरः दमन/नागरिक

खोटाङ – इस्ट टुरिज्म मार्ट–२०१८ लाई सफल र फलदायी बनाउन पूर्वी नेपालका पर्यटन व्यवसायी जिल्ला दौडाहामा निस्केका छन्।

आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिज्म मार्टलाई सहभागिमुलक र फलदायी बनाउनका लागि इस्ट टुरिज्म मार्टका आयोजकका रुपमा रहेका पर्यटन व्यवसायीको टोली प्रवद्र्धन र अन्तरक्रीयाका क्रममा पूर्वका विभिन्न जिल्लामा निस्केका हुन्।

पूर्वी नेपालको पर्यटन व्यवसाय प्रवर्धन र विकासका लागि आयोजना गरिएको इस्ट टुरिज्म मार्टमा प्रदेश नम्बर १ का सबै १४ जिल्लाका व्यवसायीलाई सहभागिताका लागि आग्रह गर्दै जिल्ला यात्रा सुरु गरिएको इस्ट टुरिज्म मार्ट–२०१८ का आयोजक समितिका कोषाध्यक्ष बासुदेव बरालले बताए।

इस्ट टुरिज्म मार्टको उद्धेश्य, मर्म र सहभागिताका शर्तका विषयमा जानकारी दिन हिँडेको पर्यटन व्यवसायीको टोलीले बिहीबार दिक्तेलमा अन्तरक्रीया गरेको छ। जिल्ला समन्वय समिति खोटाङको सभाहलमा इस्ट टुरिज्म मार्ट प्रोमोसन एण्ड इन्टर्याक्सन गरिएको छ।

इस्ट टुरिज्म मार्टको प्रचार–प्रसार एवं सहभागिताका लागि निमन्त्रणा गर्ने क्रममा विभिन्न जिल्लामा पुग्ने कार्यक्रम तय गरिएको कोषाध्यक्ष बरालले बताए। जिल्लाबाट सहभागिताका लागि इस्ट टुरिज्म मार्टमा पुग्ने व्यवसायीले आफ्नो जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल, ताल, जैविक विविधता लगायतको प्रचार–प्रसार गर्दै पर्यटकलाई आकर्षीत गर्नसक्ने छन्।

‘इस्ट टुरिज्म मार्टमा सहभागी हुनेले आफ्नो ठाउँको बिक्री गर्न सकिने आकर्षण, पर्यटकीय गन्तव्य स्थान पहिचान गर्नुपर्छ,’ कोषाध्यक्ष बरालले भने, ‘त्यस्ता गन्तव्यमा घुमफिर गर्न सकिने किसिमको प्याकेज बनाएरै सहभागी आउनु पर्ने हुन्छ। यही मोटिभेसनका लागि हामी सबै जिल्लामा पुग्ने योजनामा छौँ।’ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इस्ट टुरिज्म मार्टमा पुग्न नसक्ने साना व्यवसायीलाई नगरपालिका वा गाउँपालिकाले सहयोग गरेर पठाउन सक्ने आयोजकले जनाएको छ।

जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि इस्ट टुरिज्म मार्टमा सहभागी पठाउन आग्रह गर्दै पर्यटन व्यवसायीले जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई पत्र थमाइदिएको छ।

इस्ट टुरिज्म मार्टको विषयमा प्रचार–प्रसार गर्दै व्यवसायीलाई सहभागिताका लागि उत्प्रेरीत गर्न शुक्रबार हलेसी तुवाचुङ नगरपालिकामा प्रवद्र्धन र अन्तरक्रीया गरेको पर्यटन व्यवसायीको टोलीले ओखलढुंगा र सोलुखुम्बु पुगेर फर्कने बताएको छ। त्यसपछि भोजपुर, धनकुटा, संखुवासभा लगायतका जिल्लामा पुग्ने इस्ट टुरिज्म मार्ट आयोजक समितिले जनाएको छ। करिब डेढ वर्षअघि काठमाडौंमा गरिएपछि धरानमा दोश्रोपल्ट टुरिज्म मार्ट गर्न लागिएको हो।

प्रकाशित: २१ वैशाख २०७५ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App