coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘काभ्रेमा विमानस्थल निर्माण अव्यावहारिक’

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी काभ्रेको धुलिखेलमा आन्तरिक विमानस्थल निर्माण गर्ने दौडधुपमा लागे पनि व्यावहारिक हिसाबमा यो काम त्यति सहज छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई ट्राफिक चाप कम गर्ने उद्देश्य लिएर काभ्रेमा आन्तरिक उडानका जहाज व्यवस्थापन गर्न विमानस्थल निर्माण गर्न अगाडि बढेको मन्त्री अधिकारीले बताउँदै आएका छन्। यही सेरोफेरोमा मन्त्री अधिकारीले मंगलबार आन्तरिक विमानस्थल निर्माण गर्ने सम्भावना भएका काभ्रेका तीन ठाउँको स्थलगत अवलोकन गरे।

तर, के त्रिभुवन विमानस्थलको आन्तरिक उडान–अवतरण सर्लक्कै हटाएर काभ्रे लैजाँदा काठमाडौंबाट मुलुकका दर्जनौं गन्तव्य जाने लाखौं यात्रुले सहज महसुस गर्लान्?

‘त्रिभुवन विमानस्थलको आन्तरिक उडान–अवतरणको विकल्प काभ्रे व्यावहारिक रूपमा सम्भव छैन,’ निजी वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जान्ने हो भने हिमाली र दुर्गम भेगका सम्पूर्ण उडान काभ्रेको सट्टा रामेछापको मन्थली विमानस्थलबाट सञ्चालन गर्नु सबैभन्दा उपयुक्त हुने छ।’

पर्यटन मन्त्रालय र प्राधिकरणले त्रिभुवन विमानस्थल भइरहेको हवाई चापबाट जहाज उडान–अवतरणमा लामो समय ‘होल्ड’ गर्नुपर्ने, उडान ढिलो हुने, डाइभर्टदेखि रद्दसम्मको अवस्था बढ्न थालेपछि आन्तरिक विमानस्थलको विकल्प स्वरूप काभ्रेको बनेपा नगरपालिकास्थित नागिडाँडा तथा धुलिखेल नगरपालिकाको चिसापानी ठुलीचौर देविस्थान ठुलीचौरमध्ये एकमा विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढाएका छन्।

यीमध्ये चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न ५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालय र प्राधिकरणको अनुमान छ। नागिडाँडामा अधिकतम १ हजार २ सय मिटरको धावनमार्ग र चिसापानी ठुलीचौरमा ३ हजार ५ सय फिटसम्मको धावनमार्ग बनाउन सकिने प्राधिकरणको भनाइ छ।

‘सरकारले जग्गा अधिग्रहण गर्न ५ अर्ब लाग्छ भने पनि निजी जग्गा धेरै भएका कारण दोब्बर खर्च लाग्न सक्छ,’ बस्नेतले भने, ‘त्यसमाथि पाँच सय मिटर माटो भरेर धावनमार्ग बनाउनुपर्ने देखिन्छ। काभ्रेमा विमानस्थल बनाउन अगाडि सर्नु भनेको ‘भालुको पुच्छर’ समातेको जस्तै हुने निश्चित छ।’

उनका अनुसार ठुलीचौरमा बनाउने भनिएको विमानस्थलको उचाइ करिब ६ हजार फिट हुने छ । त्यहाँ जहाज पार्किङ कतिवटासम्म हुन्छ, ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टल) विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढ्नु र त्यसको उपयोगिता के हो भन्ने मन्त्रालय र प्राधिकरणलाई नै थाहा छैन।

‘यसको उपयुक्त विकल्प भनेको रामेछापको मन्थली विमानस्थल नै हो,’ उनले भने, ‘बरु यसमा सरकारले तयारी अगाडि बढाउँदा पर्यटन उद्योगलाई उल्लेख्य फाइदा पुग्ने छ। काभ्रेमा विमानस्थल निर्माण गर्न पैसा खर्च गर्नु भनेको करदाताको पैसाको सही सदुपयोग नहुनु नै हो । त्यही भएर काभ्रेमा विमानस्थल निर्माण गर्नुअघि धेरै सोचविचार गर्नुपर्छ।’

त्रिभुवन विमानस्थलबाट सगरमाथा आरोहणदेखि अन्य पदयात्रामा लुक्ला जाने पर्यटकलाई मन्थली विमानस्थलबाट लाने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए। त्यस्ता पर्यटकलाई काठमाडौंबाट हवाई मार्गको सट्टा स्थल मार्गबाट लैजानु उपयुक्त हुने उनको भनाइ छ । ‘यसो गर्न सके रामेछाप र वरपरको पर्यटन उद्योग तथा स्थानीय स्तरमा आर्थिक उन्नति हुने छ,’ बस्नेतले भने।

यता पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले त्रिभुवन विमानस्थलको हवाई चाप कम गर्न काभ्रेमा विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढाइएको बताए । उनका अनुसार ४२ देखि ४७ सिट क्षमतासम्मका जहाज उडान–अवतरण हुने गरी काभ्रेमा बनाइने विमानस्थल निर्माण गर्ने लक्ष्य छ।

‘यो परियोजनालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको छ र निर्माण गर्न बजेटको समस्या पनि छैन । प्राधिकरणसँगै अर्बौं रकम छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सार्न सकियो भने ८० प्रतिशत चाप कम गर्न सकिन्छ र अन्तर्राष्ट्रिय उडान पनि वृद्धि हुने छ।’

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले काभ्रेमा विमानस्थल निर्माण गर्ने समय घर्किसकेको बताए। अबको पाँच वर्षभित्र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सकिन्छ भने काभ्रेको परियोजना अगाडि नबढाउँदा कल्याण हुने उनले बताए।

उनका अनुसार ४७ सिट क्षमताका ‘एटिआर४२–३२०’, ७२ सिट क्षमताका ‘एटिआरठद्द–५००’, ५० सिट क्षमताका ‘सिआरजे–२००’ र ७० सिटे ‘सिआरजे–७००’ सिरिजका जहाज काभ्रेमा निर्माण गर्ने विमानस्थलमा जान सक्दैनन्। यीमध्ये एटिआर४२ बुद्ध एयरसँग, एटिआर७२ बुद्ध र यती एयरलाइन्ससँग तथा सिआरजे जहाज श्री एयरलाइन्स र सौर्य एयरलाइन्ससँग छन्।

‘त्यसकारण काभ्रेमा विमानस्थल निर्माण गर्नुअघि धेरै अध्ययन र विश्लेषण हुनुपर्छ,’ उनले भने, ‘तीव्र गतिले काम अगाडि बढाउन सकियो भने त्रिभुवन विमानस्थलमा आन्तरिक उडान चाप दैनिक डेढ सयसम्म घटाउन सकिन्छ। अझ हेलिकोप्टर पनि उतै लान सके थप सहज हुने छ।’

उनका अनुसार सात वर्षअघि नेपाल पर्यटन वर्ष २०११ अभियान सञ्चालन हुँदा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने तयारी गरिएको थियो। तर, निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सन् २०१५ मा पहिलो धावनमार्ग सञ्चालनमा ल्याउने भनेपछि काभ्रेको परियोजना तुहिएको थियो।

‘अहिले आएर पुनः यसलाई अगाडि बढाइएको छ, तर कसले र कहिलेसम्म बनाउने भन्ने टुंगो लागेको छैन,’ उनले भने।

यसैबीच पर्यटन मन्त्रालयले काभ्रेका तीन स्थानमध्ये कुनै एकमा विमानस्थल निर्माण गर्न अवकास प्राप्त सिभिल इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक अध्ययन सुझाव समूह गठन गरेको छ।

१५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी गठित उक्त समूहका सदस्यमा उड्डयन प्राधिकरणका निर्देशक ध्रवदाश भोछिभोय र बाबुराम पौडेल, उपनिर्देशक सुवर्ण उपाध्याय र सीताराम भण्डारी तथा सदस्य सचिवमा इन्जिनियर नलविक्रम थापा छन्।

प्रकाशित: २१ वैशाख २०७५ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App