७ वैशाख २०८१ शुक्रबार
अन्य

‘स्विटजरल्यान्ड पार्कलाई पर्यटकीय केन्द्र बनाउँछु’

रमेशप्रसाद गौतम, वडाध्यक्ष/नागार्जुन नगरपालिका– ७

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त थियो । हामी आएसँगै अस्तव्यस्त वडा कार्यालयलाई व्यवस्थित ठाउँमा सारेका छौँ । कार्यालय सारेसँगै जनताले सहज र सरल ढंगले सेवा पाइरहेका छन्। जनप्रतिनिधि नहुँदा सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपथ्र्याे।

हामी आएसँगै वडा कार्यालयको सेवालाई सरल र सहज बनाएका छौँ । वडा कार्यालयले अप्ठेरा मोडमा रहेका कच्ची सडकलाई ढलान गरेर व्यवस्थित गरेका छौँ । रामकोट हुँदै गौतमचोक जाने एक सय मिटर सडक ढलान गर्यौ । स्युचाटारदेखि पञ्चकन्या स्कुलसँगै जोडिएको एक सय मिटर सडक ढलान गरेर व्यवस्थित गरेका छौँ । कुमाहिटी क्षेत्रमा कच्ची सडकमा ढल निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेका छौँ।

तपाईंको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी व्यवस्थित गर्दै हुुनुहुन्छ ?
 पर्याप्त मात्रामा खानेपानीका स्रोत नहुँदा वडामा खानेपानीको चरम हाहाकार छ । अन्य स्थानमा भन्दा पनि अग्लो स्थानमा रहेको रामकोटमा खानेपानीको अत्यधिक मात्रामा समस्या छ । त्यसैले वडा कार्यालयले खानेपानी व्यवस्थापनका लागि विभिन्न आयोजना अघि सारेको छ।

बृहत् हसनपुर खानेपानी आयोजनालाई व्यवस्थित गर्न एक लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेका छौँ । जसबाट चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौँ । त्यसको साथै बाख्रीखोला सोतीगाउँ खानेपानी आयोजनाका लागि एक लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण भइसकेको छ । वडा कार्यालयले खानेपानी वितरण लाइन विस्तारका लागि पाइप जडान कार्य सुरु गरिसकेको छ।

सीतापाइला–रामकोट भीमढुंगा सडक २९ वर्षदेखि लथालिंग छ, कहिले निर्माण सम्पन्न गर्नुहुन्छ ?

लामो समयदेखि सीतापाइला–रामकोट–भीमढुंगा सडक अलपत्र र लथालिंग अवस्थाबाट गुज्रँदै आइरहेको छ । वर्षैदेखि सडक अलपत्र हुँदा स्थानीयवासीले सास्ती भोग्दै आइराखेका छन् । घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे सडकले जनजीवन नै प्रत्यक्ष प्रभावित पारिरहेको छ । बारम्बार डिभिजन सडक कार्यालय काठमाडौं– २ लाई अनुरोध गरिसक्यौँ।

ठेकेदार कम्पनीले ड्रेनेज निर्माण भइसक्दा पनि सडक कालोपत्रे नगर्दा समस्या भएको हो । तर, उनीहरूले बेवास्ता गर्दा सडक बेहाल भइरहेको छ । नागार्जुन नगर कार्यपालिका बैठकले सीतापाइला–रामकोट भीमढुंगा सडकमा भएको बेथिति अन्त्य गर्न आगामी वैशाख २१ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको छ । त्यसैले डिभिजन सडक कार्यालय, प्रतिनिधिसभाका सांसद, प्रदेशका सांसद, ठेकेदार लगायत सरोकारवालासँग सार्वजनिक सुनुवाइ गरेर सडक व्यवस्थित गर्ने जमर्काे गरेका छौँ।

तपाईको वडामा काठे बिजुलीका खम्बा जीर्ण भएर दुर्घटना निम्तिने जोखिम बढेको छ, व्यवस्थापनको योजना के छ ?

मेरो वडाका अधिकांश काठे बिजुलीका खम्बा जीर्ण भएर मक्सिकेका छन् । हसनटार क्षेत्रमा २० वटाभन्दा धेरै जीर्ण काठेखम्बा छन् । ती बिजुलीका खम्बा ढलेर जुनसुकै गम्भीर मानवीय क्षति हुने जोखिम बढिरहेको छ । वडा कार्यालयले जीर्ण काठेखम्बा फेर्न विद्युत् प्राधिकरण कुलेश्वर शाखालाई बारम्बार मौखिक अनुरोध मात्रै होइन, लिखित रूपमा समेत अनुरोध गरिको छ।

तर, शाखाले अझैसम्म जीर्ण काठेपुल हटाउने प्रयास गरेको छैन । भूकम्पले भत्किएर अहिले टहरा मात्रै रहेका छन् । जीर्ण खम्बा ढलेर जुनसुकै बेला गम्भीर प्रकृतिको जोखिम हुने सम्भावना देखिएको छ । त्यसैले तत्कालै जीर्ण खम्बा हटाइनदिन प्राधिकरणलाई अनुरोध गर्दछु । त्यसैगरी, गौतमथोक, कुमाहिटी क्षेत्रमा नेपाल दूरसञ्चार कार्यालय छाउनीले टेलिफोनको लेन लाइन विस्तार नगर्दा स्थानीयले सास्ती पाएको गुनासो गर्दै आइरहेका छन्।

भूकम्पपीडित कहिलेसम्म टहरामै बस्नुपर्ने होला ?
मेरो वडामा ८० प्रतिशत भूकम्पपीडित छन् । भूकम्प गएको तीन वर्ष बितिसक्यो । तर, अधिकांश भूकम्पपीडितले क्षतिपूर्तिबापतको राहत रकम पाउन सकेका छैनन् । भूकम्पपीडितसँग लालपुर्जा र नक्सापास नहुँदा भवनको नक्सापास समेत हुन सकेको छैन।

वडा कार्यालयले वास्तविक भूकम्पपीडितको लालपुर्जा नभए पनि नक्सापास गर्न नगरपालिकालाई सिफारिस गरेको छ । वास्तविक भूकम्पपीडितले राहतबापतको रकम नपाउँदा यो वर्षको झरी समेत टहरामा नै बिताउनुपर्ने बाध्यता छ । त्यसैले भूकम्पपीडितलाई राहत वितरण प्रक्रिया सहज बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बारम्बार अनुरोध गरेका छौँ।

वडामा आन्तरिक पर्यटक भित्र्याउने कस्तो योजना बनाउनुभएको छ ?

मेरो वडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वडा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महादेव मन्दिरदेखि गुरुङडाँडा–खड्कुले चौर हुँदै स्विट्जरल्यान्ड पार्कसम्म सडक विस्तार गर्न लागेको छ । स्विट्जरल्यान्ड पार्क अहिले पिकनिक स्पटका रूपमा चर्चित छ । जहाँ सयौँ संख्यामा आन्तरिक पर्यटक आउने गर्छन् । त्यसैले स्विट्जरल्यान्ड पार्कमा भ्युटावर निर्माण गरेर अझै पर्यटकीय आकर्षण थप्ने योजना बनाएका छौँ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?

मेरो कार्यकालसम्म स्वच्छ र हराभरा वडा बनाउने लक्ष्य लिएर अगाडि बढेको छु । मेरो कार्यकालभित्रै लगभग सबै सडक ग्राभेलिङ गर्नेछु । सकेसम्म धेरै सडक कालोपत्रे अर्थात् ढलान गर्ने लक्ष्य राखेको छु । अबको दुई वर्षभित्रै वडावासीको प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने गरी काम गरिरहेको छु।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, सडक, ढल, खेलकुद मैदान निर्माण, महिला तथा बालिकबालिका लगायत लक्षित समुदायलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ।

स्वास्थ्यसम्बन्धी कस्ता कार्यक्रम अघि सार्नुभएको छ ?

मेरो वडामा हेल्थ पोस्ट छैन । त्यसैले सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत स्वास्थ्य क्लिनिक स्थापना गर्न लागेका छौँ । अबको दुई महिनाभित्रै स्थानीय जनतालाई स्वास्थ्य क्लिनिकमार्फत स्वास्थ्य सेवा दिने योजना अगाडि सारेका छौँ । नगरपालिकाले स्वास्थ्य बिमालाई धमाधम अगाडि बढाइरहेको छ।

नेपाल सरकारले अघि सारेको स्वास्थ्य बिमाका लागि २५ सय रुपैयाँ लाग्ने गर्छ । त्यसमा नगरपालिकाले प्रति परिवारका लागि एक हजार दुई ५० रुपैयाँ अनुदान दिएको छ । त्यसैले नागार्जुन नगरपालिकामा बसोबास गर्ने परिवारले एक हजार दुई सय ५० रुपैयाँ तिरेर बिमा गर्न सक्नेछन्।

युवाका लागि कस्ता योजना अघि सार्नुभएको छ ?

हसनचौरमा फुटबल मैदान छ । वडा कार्यालयले खेलकुद विकासका लागि हसनचौरको खेल मैदानको स्तरोन्नति गरिरहेको छ । नागार्जुन नगरपालिकाले जेठको अन्तिममा वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै छ । त्यसैले वडा कार्यालयले युवालाई विकृति विसंगतितर्फ भन्दा खेलुकदमार्फत अगाडि बढाउने प्रयास गरिराखेको छ।
                                                                                                                प्रस्तुतिः हिमाल लम्साल

 

प्रकाशित: २१ वैशाख २०७५ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App