७ वैशाख २०८१ शुक्रबार
अन्य

जसलाई आफ्नो देश जाँदा विदेश गएझैँ लाग्छ

उनको सैलुनमा एकदिन एक महिला आएकी थिइन् । कपाल कटाउन साथमा सानो छोरा लिएर । प्यास लागेपछि ती बालक ‘पानी–पानी’ भनेर कराउन थाले । त्यसपछि ती महिलाले आफ्नो छोरालाई एक झापड लगाउँदै झपारिन्– पानी भन्छस्, ‘वाटर’ भन्।

कुनै दिनको घटना सुनाउँदै उनले असन्तुष्टि पोखे, ‘परिचय दिँदा नेपाली हुँ भन्ने तर तिमीमा खोइ नेपालीपन ?’ ग्राहकको जुँगामा चलाइरहेको कैंची एकछिन् रोक्दै अगाडि थपे, ‘पहिलेको नेपाली भाषा–संस्कृति अहिले हराउँदै गइसक्यो, विदेशी संस्कृतिको नक्कल गर्दै अंग्रेजीकरण भइसक्यो हजुर ! भोलिका सन्ततिले हाम्रो भाषा–संस्कृति के हो भनेर सोधे भने के जवाफ दिने ?’

यो चिन्ता, कुनै राष्ट्रवादी नेपाली नागरिककोे होइन । यो भनाइ हो– एक भारतीय नागरिकको । जो पाँच दशकदेखि काठमाडौंको चाबहिलमा ‘मिलन हेयर ड्रेसर सैलुन’ सञ्चालन गरेर बस्दै आएका छन् । उनी हुन्, अर्जुन ठाकुर । जन्मका आधारमा भारतको नागरिकता लिएका भए पनि नेपाल (चाबहिल)मा बस्दाबस्दा उनको मनमस्तिष्क भने नेपाली रहनसहन र भाषा–संस्कृतिले भरिएको हो । भन्छन्, ‘मलाई उता(आफ्नो घर भारत)जाँदाचाहिँ विदेश गएजस्तो लाग्छ । रक्सौल पुग्यो कि म विदेश आइपुगें जस्तो महसुस हुन्छ।’

उनको घर भारतको विहार राज्यअन्तर्गत सिवान् जिल्लाको सतवाज पञ्चायतमा पर्छ । तर उनलाई आफ्नो घर कुन वडामा पर्छ हेक्का छैन । बरू उनलाई अहिले आफू बसिरहेको चाबहिल, काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ मा पर्छ भन्ने थाहा छ । अझ रोचक कुरा त के छ  भने उनी काठमाडौंमा पाइला टेकेको दिनदेखि चाबहिलबाट अन्त कतै सरेका छैनन् । चाबहिलमै उनले आधा शताब्दी बिताइसकेका छन् । त्यसकारण उनलाई आफ्नो समाज (भारतीय) को भन्दा बढी नेपाली समाज अर्थात् आफ्नो गाउँको भन्दा बढी चाबहिलको कुरा थाहा छ।

उनको घर भारतको विहार राज्यअन्तर्गत सिवान् जिल्लाको सतवाज पञ्चायतमा पर्छ । तर उनलाई आफ्नो घर कुन वडामा पर्छ हेक्का छैन । बरू उनलाई अहिले आफू बसिरहेको चाबहिल, काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ मा पर्छ भन्ने थाहा छ । अझ रोचक कुरा त के छ  भने उनी काठमाडौंमा पाइला टेकेको दिनदेखि चाबहिलबाट अन्त कतै सरेका छैनन्।

बुवाको साथमा पहिलोपटक चाबहिल आउँदा उनी, मात्र १० वर्षका थिए । अहिले ६२ वर्षका भइसके । उनको बुवा २०१८ सालदेखि नै काठमाडौं बस्न थालेका थिए । पहिले अरूका सैलुनमा काम गर्ने उनका बुवाले २०२२ सालमा चाबहिल चोकमा आफ्नै सैलुन खोले । हो, त्यही साल उनका बुवाले उनलाई पनि नेपाल (काठमाडौं)ल्याएका हुन् । यहाँ (चाबहिल) आएपछि अर्जुन ठाकुर राति–राति स्कुल जाने र दिउँसो–दिउँसो सैलुनमा बुवासँग काम सिक्न थाले। 

‘म ‘मित्र माध्यमिक रात्रि विद्यालय’मा कक्षा ७ मा पढ्थेँ,’ ठाकुरले सुरुका दिन सम्झिए,  अहिले पुशपति क्याम्पस भएको ठाउँमा एउटै भवनमा तीनवटा विद्यालय थिए– बिहान, दिउँसो र राति पढाइ हुने।’

तर पढाइमा भन्दा उनको ध्यानकाममै बढी केन्द्रित भयो । टेष्ट पास गरेपछि पढाइ छाडेको उनी बताउँछन् । २०३२ सालमा सैलुन छोरालाई सुम्पेर उनको बुवा घर गए । त्यसपछि मिलन हेयर ड्रेसर सैलुनका सञ्चालक उनी आफै भए । चाबहिल चोकमा रहेको त्यो सैलुन मैजुबहालपछि अहिले तेस्रोपटक एसी कम्पलेक्सको पछाडि गल्लीमा सरेको हो।

२०२२ देखि सञ्चालित उनको सैलुन २०६३ सालमा आएर चाबहिल चोकबाट विस्थापित भएको हो । चाबहिल चोकमा उनको सैलुन अहिलेको भन्दा ठूलो थियो । पाँच–छ जना कामदारसमेत थिए । तर घरबेटीले मासिक भाडा १३ हजारबाट बढाएर एकैचोटी ३० हजार रूपैयाँ पुर्याएपछि उनी त्यहाँबाट विस्थापित हुन बाध्य भएका हुन्।

‘मासिक ३० हजारभाडा तिर्ने र पहिले नै दुई–तीन लाख एडभान्स दिने ग्राहक आएछ ! त्यसपछि घरबेटीले मलाई यति तिर्न सक्छौ भने बस, नत्र छाड भने,’ उनी सुनाउँछन्, ‘त्यसपछि मैले त्यति त म तिर्न सक्दिनँ भनेँ र कोठा छाडेँ ।’
अहिले उनी सैलुन राखिएको सटरको सात हजार र बस्ने सानो कोठाको दुई हजार गरी मासिक ९ हजार रूपैयाँ मासिक भाडा तिर्छन्।

‘बिपी, गिरिजा, सुशील कोइरालाको पनि कपाल काटेको छु’
त्यतिबेला चाबहिलमा कपाल काट्ने सैलुन भनेकै उनको मात्र थियो । त्यसकारण स्थानीय सर्वसाधारणदेखि गन्यमान्य व्यक्तिहरूसमेत उनकै सैलुनमा आउँथे।

‘मैले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद तथा सुशील कोइरालाको कपाल पनि काटेको छु,’ मुहारमा मुस्कान ल्याउँदै उनी सुनाउँछन्, ‘बिपी कोइरालको समेत जम्मा एकपटक जुँगा मिलाइदिएको छु।’

२०३५–०३६ सालतिरको कुरा हो । बिपी अर्थात् विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीतिलिएर भारत निर्वासनबाट भर्खरैजस्तो (२०३३ सालमा) नेपाल आएका थिए । बिपी र र गिरिजा आपसमा भेट गरिरहन्थे । उनका अनुसार त्यसबेला गिरिजाबाबुको घर मित्रपार्कमा थियो । गिरिजाले अर्जुन ठाकुरलाई घरमै बोलाएर आफ्नो कपालकटाउने गरेका थिए।

त्यसै क्रममा एकदिन उनको भेट बिपी कोइरालासँग पनि भयो । घाँटीमा क्यान्सर भएकाले बिपीले घाँटीमा ब्यान्डेज लगाएका थिए भने बोल्न तथा टाउको यताउता गर्न हुन्थेन । कैंची लिएर बसेका उनलाई देखेपछि बिपीले आफ्नो जुँगा मिलाइदिन इशारा गरे । ‘त्यसपछि मैले विस्तारै उनको जुँगा छाँटिदिएँ,’ ठाकुर सुनाउँछन्।

उनका अनुसार सुशील कोइराला भने दाह्री–कपाल मिलाउनसैलुनमैनियमित आउँथे । ‘उहाँ धेरै सरल मान्छे हुनुहुन्थ्यो । नेता हुँ भन्ने कुनै घमण्ड उहाँमा थिएन,’ ग्राहकको गालामा क्रिम दल्दै उनले भने,‘सुशील कोइरालासँग त मैले सँगै बसेर कतिपटक चियासमेत खाएको छु ।’  गिरिजाका दाजु तारिणीप्रसाद कोइराला तथा शशांक कोइरालाको समेत आफूले कपाल काटिदिएको ठाकुर बताउँछन्।

ग्राहक पुरानै
अहिले पनि उनको सैलुन मूलतः पुरानै ग्राहकबाट चलिरहेको छ । पहिलेदेखि चिनजान भएका ग्राहक आउने भएकाले खासगरी उनको सैलुनमा प्रायः ४० कटेका ग्राहक आउने गरेका छन् । यो पंक्तिकार बसिरहँदा पनि दाह्रीजुँगा फुलेका व्यक्तिहरू नै बढी आइरहेका थिए । यद्यपि फाट्टफुट्ट युवा पनि उनको सैलुनमा नआउने होइनन्।

‘यस्तो बूढो मान्छेले पनि के कपाल काट्ला र भन्ठानेर नयाँ मान्छे खासगरी युवा त्यति आउँदैनन्,’ ६२ वर्षको उमेरमा पनि राम्रोसँग आँखा देख्ने ठाकुरले भने, ‘तर म कुनै युवाले भन्दा कम गरेर कपाल काट्दिनँ, ढिलो गरूँला, तर राम्रो काम गर्छु ।’ कतिपय पुरानै ग्राहकका छोराहरू भने आफूकहाँ कपाल कटाउन आउने गरेको उनले बताए।

पहिले काठमाडौं कस्तो थियो ?
अहिले सवारीसाधन तथा पैदल यात्रुहरूलाई चाबहिल चोक छिचोल्न मुस्किल पर्छ । तर त्यतिबेलाचाबहिलचोक सुनसान हुने गथ्र्याे । विगत सम्झँदै ठाकुर सुनाउँछन्, ‘यो मेन रोड छ नि, त्यहाँ त बच्चाहरू गुच्चा खेलिरहेका हुन्थे।’

मैजुबहालमा जम्मा चारवटा मात्र घर थिए । गोकर्णको सुन्ताखानदेखि उनैकहाँ दाह्री कटाउन आएका पुराना ग्राहक रामशरण गौतमले पनि हो मा हो मिलाउँदै भने, ‘फटक मास्टर, धोती बाजे, देवी काका र डाइबर माइलाको घर।’

सिफलदेखि कुमारीगालसम्म दुई सयभन्दा बढी घर थिएनन् होला !  ‘त्यसबेला कपाल काटेको दुई तथा दाह्री काटेको एक रूपैयाँ ज्याला थियो,’ उनले सुरुका दिन सम्झिए, ‘महँगो कोठा भाडा भनेको जम्मा ४० रूपैयाँ थियो।’

१८ वर्षदेखि एक्लै
२०३१ सालमा भारतमै गएर बिहे गरेका उनले श्रीमतीलाई पनि आफूसँगै काठमाडौंमा राखेका थिए । आजभन्दा १८ वर्षअघि घर गएका बेला गहुँ झार्ने मेशिनको फित्तामा परेर उनकी श्रीमतीको मृत्यु भयो । त्यस बेलादेखि अर्जुन चाबहिलको डेरामा एक्लै बस्दै आएका छन्।

उनका पाँच छोराछोरी पनि काठमाडौंमै जन्मेका हुन् । तर अहिले उनीहरू सबै भारतमै छन् ।सैलुन पछाडिकै सानो कोठामा एक्लै खाना पकाउँछन्, खान्छन् र सुत्छन् । बिहानै उठेर उनी हनुमान चालिसा भट्टयाउँछन् । राति सुत्ने बेला गीता पाठ गर्छन् । उनलाई गीताका श्लोकहरू मुखैमा याद छन् । आइतबार, मंगलबार र बिहीबार उनी कुमारीगालस्थित कुमारी मन्दिरमा भजनकिर्तन गर्न जान्छन् । माछामासु खान्दैनन्।

 यसरी वृद्ध अवस्थामा काठमाडौंमा एक्लै बस्नु उनको बाध्यता भने होइन । छोराबुहारीले त उनलाई अब काम नगर्नुस्, घर आएर बस्नुस् भनेर भनिरहेका छन् । तर उनलाई न यो काम छाड्न मन छ न त यहाँको नेपाली समाज नै । भन्छन्, ‘पहिलो कुरा त म, हातखुट्टा चलुञ्जेल अरूमा आश्रित भएर बाँच्न चाहन्नँ । शरीरले सकुञ्जेल यहीं बस्छु, यहाँ (नेपाल) जुन सन्तुष्टि पाउँछु म त्यहाँ (भारत) मा पाउन सक्दिनँ।’

उनलाई भारतको विहार राज्यभन्दा नेपालको काठमाडौं धेरै मनपर्छ रे । यहाँ –नेपाल) आफ्नो मनको भावना जति सजिलै व्यक्त गर्न सकिन्छ, त्यहाँ नसकिने ठाकुर बताउँछन् । उनी भन्छन्,  ‘नेपालीहरू जति सहज र सरल लाग्छन् मलाई त्यति भारतीयहरू लाग्दैनन्।’ 

उनी अगाडि थप्छन्, ‘मसँग नेपालको नागरिकता नभएर के भो र ! यहाँ मैले जति माया पाएको छु, त्यत्ति माया उसले पनि पाएको छैन होला, जसले नेपाली नागरिकता लिएका छन्।’

उसो त उनले एक–दुईपटक नेपालको नागरिकता लिने प्रयास पनि नगरेका होइनन् । तर कि बुवाको नेपाली नागरिकता ल्याउ कि नेपालमा जग्गा भएको लालपूर्जा देखाउ भनेपछि चुप लागेर बसेको उनी बताउँछन् । भन्छन्, ‘तर मभन्दा पछि आएका कति मान्छे (भारतीय) ले पैसा ख्वाएर नेपाली नागरिकता लिएका छन्।’

प्रकाशित: २१ वैशाख २०७५ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App