coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रानीपोखरी पुनर्निर्माणमा फेरी बाेलपत्र

काठमाडाैं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि रि–टेन्डर आह्वान गर्ने भएको छ । महानगरले यसअघिका सम्झौता खारेज गर्दै नयाँ सम्झौताको लागि तयारी गरिरहेको हो।

यसअघि रानीपोखरी पुनर्निर्माण गर्दा विवाद उत्पन्न भएपछि पुनर्निर्माण रोकिएको थियो । पुरातात्विक महत्वलाई बेवास्ता गरी कंक्रिट प्रयोग गरेर रानीपोखरी पुनर्निर्माण गरेकाले विरोध जनाएको स्थानीयको भनाइ छ।

गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिबीचको छलफलले रानीपोखरीको पुनर्निर्माणका लागि रि–टेन्डर गर्ने निर्णय गरेको थियो ।

महानगरका अनुसार रानीपोखरी पुनर्निर्माणमा अहिलेसम्म तीन करोड खर्च भइसकेको छ।

विवादपछि गत पुस १३ गते रानीपोखरी पुनर्निर्माणबारे अध्ययन गर्न गठित विशेषज्ञ समितिले पुनर्निर्माणका क्रममा बनेका सबै संरचना भत्काउनुपर्ने सुझाव दिएको थियो । मन्त्रिपरिषद् बैठकले पनि सोही समितिको सुझाव अनुसार काम गर्न निर्देशन दिएको छ।

‘रानीपोखरी पुनर्निर्माणका क्रममा क्रंकिटबाट बनेका सबै संरचना भत्काइनेछ,’ महानगरका सूचना अधिकारी वसन्त आर्चायले भने, ‘त्यसपछि रि–टेन्डर आह्वान गरेर पुरातात्विक मापदण्ड अनुसार पुनर्निर्माण गरिनेछ ।’ पुरातत्व विभागको डोइङ डिजाइन अनुसार रानीपोखरीको पुनर्निर्माण हुने उनले बताए । उनका अनुसार विभागले डोइङ डिजाइन दिइसकेको छ । तर, पुनर्निर्माणमा लाग्ने रकमको अनुमान गरिएको छैन । बनिसकेका क्रंकिटका संरचना भत्काएर पन्छाउन १६ लाख लाग्ने महानगरको अनुमान छ।

‘डिजाइन र डोइङ अनुसार लागत अनुमान गर्ने काम भइरहेको छ,’ आर्चायले भने, ‘लागत इस्टिमेट निकालेर डकुमेन्ट तयार भएलगत्तै रि–टेन्डर आह्वान गरिनेछ ।’ यस महिनाभित्र रि–टेन्डर आह्वान गरिने उनले बताए । यससँगै यसअघि रानीपोखरी पुनर्निर्माण जिम्मा पाएको निर्माण कम्पनीको सम्झौता पनि सकिएको छ।

२०७२ को भूकम्पमा क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण यसअघि २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले कम्पनीलाई दिएको थियो । पुनर्निर्माणका लागि ११ करोड ६० लाख रूपैयाँ लाग्ने अनुमान गरे पनि कम्पनीले ६ करोड २९ लाखमा ठेक्का लिएको थियो । तर, पुनर्निर्माणमा क्रंकिटको प्रयोग गरे पनि स्थानीयले विरोध जनाए।

महानगरका अनुसार रानीपोखरी पुनर्निर्माणमा अहिलेसम्म तीन करोड खर्च भइसकेको छ । हालसम्म ठेकेदार कम्पनीलाई दुई करोड ३८ लाख रूपैयाँ भुक्तानी गरिसकेको र एक करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको महानगरले जनाएको छ।

‘ठेकेदारले गरेको काम अनुसार भुक्तानी गर्छौं,’ महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘अहिलेसम्म करिब तीन करोड रूपैयाँको काम भएको छ ।’ पुनर्निर्माणका क्रममा सम्पन्न भएको कामको रकम भुक्तानी गरी रि–टेन्डर गरेपछि ठेकेदार कम्पनीसँगको सम्झौतासमेत समाप्त हुन्छ।

२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । रानीपोखरीको शिलान्याससँगै ‘पुनर्निर्माण महाअभियान’ सुरु भएको थियो।

प्रकाशित: २१ वैशाख २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App