coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रिलिज डेट सर्यो, गीत आयो

काठमाडौं – यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिरो रिटन्र्स’ रिलिज रोकिएको छ। निर्माता भिम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म ’सुनकेसरी’ जेठ ११ मा रिलिज हुने क्रममा रहेको र दुई फिल्म  एकसाथ जस्तो रिलिज हुँदा घाटा लाग्ने भन्दै  ‘हिरो रिटन्र्स’को रिलिज रोकिएको हो ।

निर्माण टिमले जेठको अन्त्यमा फिल्म ल्याउने तयारी गरिरहेको जानकारी गराएको छ । सुरुवाती चरणमा खिचिएका केहि दृश्यहरु पुनः छायांकन गर्नुपर्दा रिलिजमा ढिलाइ भएको पनि निर्माण टिमले बताएको छ।

तर फिल्म रिलिजको टुंगो नभए पनि फिल्म युनिटले  फिल्मको शीर्ष गीत सार्वजनिक गरेको छ । प्रचार प्रसारलाई अघि बढाउने हेतुले फिल्मको ‘हिरो’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो । कार्यकारी निर्माता चन्द्र गौतमले गीत रिलिजसँगै फिल्मको पब्लिसिटी सुरु भएको बताए । गौतमले छिट्टै नै फिल्मको ट्रेलर रिलिजसँगै प्रदर्शन मिति पनि बाहिर ल्याउने बताएका छन् । सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठसँगै अभिनेत्री आँचल शर्माको अभिनय समेटिएको छ।

टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन मित्र डि. गुरुङको छ । तर लिड अभिनेत्री रेखा थापा भने गीतमा देखिएकी छैनन् । अभिनेत्री रेखा थापाले ‘हिरो’ फिल्मबाट अभिनय सुरु गरेकी थिइन्।

आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन् । भिमसँगै अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंकसँगै दीपक शर्माको संगीत छ । फिल्ममा सविन र रेखासँगै दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको अभिनय छ।  

प्रकाशित: २१ वैशाख २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App