७ वैशाख २०८१ शुक्रबार
खेल

भारतमाथि वेस्ट इन्डिजको साँघुरो जित

फ्लोरिडा- ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो ठूलो स्कोर बनेको खेलमा वेस्ट इन्डिजले भारतमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ। २ सय ४६ रनको लक्ष्य पछ्याएको भारतलाई जितका लागि अन्तिम ओभरमा ८ रन बनाउनु पर्ने थियो।

अन्तिम बलमा २ रन बनाउनबाट चुकेपछि भारतले पहिलो ट्वान्टी–२० मा झिनो अन्तरको हार स्वीकार्नु परेको थियो। ड्वायन ब्राभोको बलमा कप्तान महेन्द्रसिंह धोनीले प्रहार गरेको स्कुप सट सफल नहुँदा भारत २४४–४ रनमा रोकिनुपर्‍यो। धोनीको स्कुप सिधा म्यान मार्लुन सामुइल्सको हातमा पुगेपछि भारत झिनो अन्तरको पराजय भोग्न बाध्य भएको थियो।

चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिरहेका लोकेश राहुलले १२ चौका र ५  छक्कासहित अविजित १ सय १० रन बनाए। उनले कप्तान धोनीसँग १ सय ७ रनको साझेदारी गरेका थिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो। सन् २०१३ मा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध बनाएको २ सय ४८ रन तथा २००७ मा श्रीलंकाले केन्याविरुद्ध बनाएको २ सय ६० रनपछि कुनै पनि टोलीले बनाएको यो नै ठूलो स्कोर हो।

इभिन लेविसले प्रभावशाली प्रदर्शन गर्दै १ सय र जोन्सन चार्ल्सले ७९ रन जोडेपछि वेस्ट इन्डिजको स्थिति मजबुत बनेको थियो। कार्लोस बर्थह्वाइटले कप्तानको हैसियतमा खेलेको पहिलो खेलमा जित हासिल गरे।

३२ छक्का प्रहार भएको खेलमा दुई टोलीले गरेर ४ सय ८९ रन बनाएका थिए। जुन ट्वान्टी–२० क्रिकेटमा अहिले सम्मकै सर्वाधिक संयुक्त स्कोर हो। यसअघि २०१० को आइपिएलमा ४ सय ६९ रन बनेको थियो।

'अन्तिम बलमा हामीले सही सोचेका थियौं। तर त्यसको कार्यान्वयन सफल भएन,' धोनीले भने।

२४ वर्षे लेविसले यसअघि ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध खेलेका थिए। वेस्ट इन्डिजले अप्रत्यासित हार भोगेको त्यो खेलमा उनी डकआउट भएका थिए। तर, भारतविरुद्ध भने उनी आक्रमण रुपमा प्रस्तुत भए। चोटग्रस्त क्रिस गेलको ठाँउमा ओपनिङ गर्ने मौका पाएका लेविसले ४८ बलमा ९ छक्का र ५ चौकासहित शतक पूरा गरेका थिए। १६ औं ओभरको पाँचौं बलमा लेविस आउट हुँदा वेस्ट इन्डिजले ३ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो।

लेविसले स्टुआर्ट बिन्नीलाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए। लेविसले चार्ल्ससँग पहिलो विकेटका लागि १ सय २६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। २७ वर्षे चार्ल्सले २० बलमै अर्धशतक पूरा गरेका थिए। ३३ बलमा ६ चौका र ७ चौका प्रहार गरेका उनी मोहम्मद सामीको बलमा आउट भएका थिए। उनी दसौं ओभरमा आउट भएका थिए।

भारतले अजिन्क्या राहनेलाई ओपनरका रुपमा उतारे पनि उनी सफल हुन सकेनन्। ७ बलमा ७ रन बनाएका उनी आन्द्रे रसेलको बलमा आउट भएका थिए। अर्का ओपनर रोहित शर्माले भने अर्धशतक पूरा गरे। किरोन पोलार्डको बलमा आउट हुनुअघि उनले २८ बलमा ४ चौका र ४ छक्काका साथ ६२ रन जोडे। स्टार ब्याट्सम्यान विराट कोहली (१६) ब्राभोको बलमा आउट हुँदा भारतले २ विकेटको क्षतिमा ४८ रन मात्र बनाएको थियो। रसेलबाट ३८ रनको अवस्थामा जीवनदान पाएका राहुलले तेस्रो विकेटका लागि रोहितसँग ८९ रनको साझेदारी गरेपछि भारतको इनिङ उकासिएको थियो। १२ औं ओभरमा रोहित आउट हुँदा भारतले ३ विकेटको क्षतिमा १ सय ३७ रन बनाइसकेको थियो। राहुल र धोनी (४३) ले १७ औं ओभरमा टोलीलाई २ सय रनको आँकडा पार गराए पनि जितबाट टोली १ रनले चुक्यो।

प्रकाशित: १३ भाद्र २०७३ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App