४ वैशाख २०८१ मंगलबार
खेल

अन्तिम मिनेटमा युनाइटेड खुसी

लन्डन- चेल्सीले बर्नलीमाथि ३–० को सहज जित निकाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लँदा शनिबार आर्सनलले सिजनमा पहिलो विजय हासिल गरेको छ। आर्सनलले वाटफोर्डलाई ३–१ ले पराजित गर्‍यो।

गत सिजनमा उपाधी जोगाउन नसकेको चेल्सीले नयाँ प्रशिक्षक इटालीका एन्टोनियो कोन्टेको नेतृत्वमा जारी सिजनका तीन खेलसम्म सतप्रतिसत नतिजा निकालेको छ। लगातार तीन खेलमा पाएको जितपछि टोली प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ। मार्कोस रसफोर्डले अन्तिम मिनेटमा गरेको गोलमा हल सटीलाई १–० ले पराजित गरेको म्यानचेस्टर युनाइटेड समान ९ अंक भए पनि चेल्सीभन्दा एक स्थान तल छ।

गत सिजन क्लबजस्तै खराव लयमा रहेका इडेन हाजार्डले चेल्सीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। स्टामफोर्ड ब्रिजमा बेल्जियन मिडफिल्डरले नेमान्जा माटिचको पास सदुपयोग गर्दै नवौं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए। पिडुलाको चोट उपचार गरेपछि मैदान फर्किएका विलियनले पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा टोलीको अग्रता दोव्वर पारेका थिए। त्यस्तै बैकल्पिक खेलाडी नाइजेरियाका भिक्टर मोसेसले खेल सकिन ३ मिनेट बाँकी रहँदा पेड्रो रोडरिग्वेजको क्रसमा उत्कष्ट गोल गर्दै घरेलु टोलीको ३ अंक पक्का गरेका थिए।

‘यो धेरै राम्रो प्रदर्शन हो। यो सिजन हामीले उत्कृष्ट सुरुआत गरेका छौं। तर हामीले अझै सुधार गर्नु पर्छ,’ चेल्सीका प्रशिक्षक कोन्टेले भने, ‘इडेन हाजार्ड प्रत्येक खेलमा यस्तै निर्णायक बन्नुपर्छ। उनको प्रदर्शनबाट आज म खुशी छु।’

लिभरपुलसँगको पराजय र लेस्टर सिटीसँगको बराबरीपछि चर्को आलोचना खेपेका आर्सेन वेंगरले भिकारेज रोडमा आलोचकको मुख बन्द गराएका छन्। गत सिजन असन्तुष्ट भएका समर्थकहरु खेलाडी सरुवा वजारमा आफ्नो क्लबले प्रभाव जमाउन नसकेपछि वेंगरप्रती थप रुष्ट भएका थिए। त्यसमाथि आर्सनल पहिलो दुई खेलमा विजयरहित हुँदा वेंगरप्रति समर्थकको असन्तुष्टी अझै चुलिएको थियो।

शनिबार सान्टी कार्जोलाको पेनाल्टी गोलमा आर्सनलले नवौं मिनेटमा अग्रता लिएको थियो। नोर्दिन अम्राबटले एलेक्स सान्चेजलाई फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो। जसलाई कार्जालाले गोलमा परिणत गरे।

पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा चिलीका फरवार्ड सान्चेजले आर्सनलको अग्रता दोव्वर पारेका थिए। त्यस्तै युरो २०१६ को विदाका कारण सिजनको पहिलो खेल खेलेका मेसुट ओजिलले पहिलो हाफको अन्तिम मिनेटमा आर्सनलका लागि अर्को गोल थपेका थिए। वाटफोर्डका रोबर्टो परेराले ५७औं मिनेटमा गरेको गोल घरेलु टोलीका लागि सान्त्वना बन्यो।

‘पहिलो खेलमा हामी आफूले आफैलाई दबाब दियौं। तर आज उत्कृष्ट प्रदर्शन गर्‍यौं,’ वेंगरले भने।

हल सिटीको भ्रमणमा निस्केको युनाइटेडले जोजे माउरिन्होको प्रशिक्षणमा लगातार तेस्रो जित निकाल्यो। युनाइटेडको जितमा युवा खेलाडी रसफोर्डले निर्णायक गोल गरे। हल सिटीको संगठित रक्षापंक्ति सामु निराश बनेका बेला अन्तिम मिनेटमा रशफोर्डको गोलले युनाइटेडको सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दियो। सिजनमा उनको यो पहिलो गोल हो।

‘हामी जितको हकदार थियौं। यो भन्दा अझ सहज जित हासिल गर्नुपर्ने थियो। अन्तिम मिनेटमा जित्दा धेरै खुशी लाग्छ,’ माउरिन्होले भने, ‘खेलाडीले धेरै राम्रो खेले। दोस्रो हाफमा हामी पर्खालविरुद्ध खेले जस्तो भएको थियो। तर हाम्रो निरन्तर प्रयासले जित निकाल्न सफल भयौं।’

अन्तत साविक विजेता लेस्टरले पनि सिजनको पहिलो जित निकाल्न सफल भयो। किङ पावर रंगशालामा लेस्टरले स्वान्सी सिटीलाई २–१ ले हरायो। जेमी भार्डेको गोलमा क्लाउडियो रेनरीको टोलीले ३२औं मिनेटमा अग्रता लिएको थियो। ५३औं मिनेटमा कप्तान वेस मोर्गानले काउन्टर एट्याकमा गोल गर्दै अग्रता दोव्वर पारे। त्यसको ३ मिनेट नवित्दै रियाद मेहराज पेनाल्टीमा गोल गर्नबाट चुके। लेरोय फेरले ८१औं मिनेटमा गोल फर्काए पनि स्वान्सीले अंक जोड्न सकेन।

गुडिसन पार्कमा एभर्टनले स्टोक सिटीलाई १–० ले पराजित गर्दा साउथह्याम्पटन र सन्डरल्यान्डले १–१ को बराबरी खेले। क्रिस्टल प्यालेस र बर्नामाउथले पनि अंक बाडे।

प्रकाशित: १३ भाद्र २०७३ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App