५ वैशाख २०८१ बुधबार
खेल

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा उक्लिएकाे छ। बिहीबार राति  घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेकाे हाे।

टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। १७८ रनको लक्ष्य कोलकाताले १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

उसकाे जितमा शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए।  कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै नटआउट ४५ रन जोडे। सुनिल नरेनले २० बलमा चार चौका र दुई छक्काको मदतमा ३२ रनको योगदान दिए।

बलिङतर्फ हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले एक/एक विकेट लिए।

चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ४३ रन बनाए। २५ बल खेलेका धोनीले १ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे। शेन वाट्सनले ३६ रनको पारी खेले। सुरेश रैना ३१ रनमा आउट हुँदा फाफ डु प्लेसिस २७ रनमा समेटिए। अम्बति रायडूले २१ रन र रवीन्द्र जडेजाले १२ रन जोडे।

बलिङतर्फ पियुष चावला र सुनील नरिनले २–२ विकेट लिए। कुलदीप यादवले १ विकेट लिए।

शीर्ष स्थानमा रहेको चेन्नई यो हारसँगै ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ भने कोलकाता ९ खेलबाटै १० अंकका साथ तेस्रो स्थानमा उक्लिएकाे छ।

प्रकाशित: २१ वैशाख २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App