८ वैशाख २०८१ शनिबार
अन्य

पति गायक, पत्नी गीतकार

तस्बिर: केशव थोकर/नागरिक

डा. प्रकाश शरण महत नेपाली कांग्रेसको राजनीतिमा होमिएको ४ दशक भयो । अहिले कांग्रेस केन्द्रीय सदस्य प्रकाश शरण पार्टी सभापतिका विश्वासिला सदस्य मध्येका हुन् । बाल्यकाल कक्षा ७ कक्षामा पढ्दै गरेको अवस्थामा २०२९ सालमा विद्यार्थी आन्दोलनमा उनी गिरफ्तारमा परे । लैनचौरस्थित शान्ति विद्यागृहमा अध्ययन गरिरहेको बेला विद्यार्थी आन्दोलन भयो, उनी त्यसमा सहभागी भए र गिरफ्तारमा परे । उनी पक्राउ पर्नेमध्येका एकमात्र स्कुले विद्यार्थी थिए भने अरु सबै कलेजका युवा थिए । ‘म कुनै संयोगले होइन सचेत भएर नै आन्दोलनमा लागेको थिएँ,’ प्रकाशले भने, ‘गाउँमा कक्षा ५ सम्म पढ्दादेखि नै त्यसबेलाको राजनीतिक व्यवस्थाप्रति विद्रोही भावना विकसित भएको थियो । मलाई तीन दिनसम्म प्रहरीले राख्यो र अञ्चलाधीश कार्यालयका अधिकारीले यस्तो फुच्चे राजनीतिमा लाग्नु हुँदैन भनेर सम्झाउँदै छोडिदिए । प्रकाश शरण राजनीतिमा पाइला चाल्दै गरेको समयमा दाजु डा. रामशरण महत भने विद्यार्थी राजनीतिमा सक्रिय भइसकेका थिए । दाजु विद्यार्थी राजनीतिमा माथि पुगिसकेको अर्थात् नेवि संघको महामन्त्री पदमा थिए भने प्रकाशशरण स्कुले जीवनमै जिन्दावाद, मुर्दावाद नारा लगाइरहेका हुन्थे । प्रकाशशरण कलेजको विद्यार्थी राजनीतिमा आइसक्दा रामशरण अध्ययनका लागि विदेश गइसकेका थिए । पछि २०३६ सालको जनमत संग्रहका बेला केही समय दाजुभाइ सँगसँगै विद्यार्थी राजनीतिमा सक्रिय भए । छोटो समयको सहकार्यपछि रामशरण युएनडिपीको जागिरे भएर लामो समय  विदेशमा बसे । प्रजातन्त्र आएपछि नेपाल भने उनी फर्किए । प्रकाशशरणको राजनीतिक सक्रियता भने सुरुमा २०४६ सालसम्म निरन्तर रह्यो ।

घरपरिवारले राजनीतिक बाटो नछेकेको उनको बुझाइ छ । बुबा खड्ग बहादुर र आमा पूर्णकुमारीले राजनीति लाग्न बन्देज नगरेको प्रकाशशरण बताउँछन् । ‘जेल पर्ने, प्रहरी कारबाही हुने, चोटपटक लाग्ला कि भन्ने जस्ता चिन्ता हुन्थ्यो,’ उनले भने, ‘त्यसबाहेक उहाँहरूको अरु रोकटोक भएन । त्यसबेला पञ्चायती व्यवस्थाको खिलाफमा लाग्न ठूलो आँट चाहिन्थ्यो, गाउँघरमा यिनीहरू पञ्चायतविरोधी किन भएका होलान् भन्थे ।’

नेपाल विद्यार्थी संघ स्थापना भएसँगै प्रकाशशरणले राजनीतिक सक्रियता बढाउँदै र पढाइ पनि जारी राखे । २०३२ सालमा एलएलसी दिएपछि उनको राजनीतिक मैदान अझ फराकिलो हुँदै गयो । एलएलसीपछि उनी महाराजगञ्ज कलेजमा हेल्थ एसिटेन्ट अध्ययन गर्न थाले । महाराजगञ्ज कलेज नेविसंघ इकाईको अध्यक्ष भएपछि उनले नेतृत्वशाली भूमिका निर्वाह गरेका हुन् । नेपाली कांग्रेसको राजनीतिमा लागेर संविधानसभा सदस्य, मन्त्रीहरूको अनुभव सम्हाल्दै कांग्रेसको केन्द्रीय सदस्य प्रकाशशरण महत अहिले पार्टीका काममा दिनोरात खटिइरहेका छन् । उता पत्नी बिना महत आफैँमा २०३६ सालको विद्यार्थी आन्दोलनकी योद्धा हुन्, जो अहिले प्रकाशको राजनीतिको बलियो आधार बनेकी छन् । उनी कार्यकर्ताहरूलाई चियापान गराउने, बेला–बेलामा हुने कांग्रेसका विभिन्न बैठकका लागि खानपिनका प्रबन्ध मिलाउने जिम्मेवारी निर्वाह गर्छिन् । ‘उहाँलाई भेट्न, कुराकानी गर्न आउने मानिसहरूलाई चियापानी लगायतको प्रबन्ध मिलाउने र उहाँको अनुपस्थितिमा सोधीखोजी गर्छु,’ बिना भन्छिन्, ‘उहाँको राजनीतिलाई सजिलो होस् भन्ने उद्देश्य राखेर म सक्रिय छु, म आफैँ भने राजनीतिमा छैन  ।’

२०३६ सालदेखि करिब एक दशकसम्म राजनीतिमा सक्रिय बिना २०४४ देखि महिला विकासको जागिरे बनिन् । २०५५ पछि परिवार नियोजन संघमा आबद्ध भइन् र अहिले भने केही सामाजिक क्षेत्रमा संलग्न छिन् । उनको अधिकांश समय प्रकाशको सहयोगीको भूमिकामा देखिन्छन् । ‘म परिवार नियोजनको अफिसमा हुँदा कतिपय कार्यकर्ता मेरै अफिसमा पुग्थे, दाइ खोइ, दाइलाई भेटिएन भन्दै मलाई नै भेट्न आउँथे,’ बिना भन्छिन्, ‘अब यसरी हुँदैन, जागिर, घरपरिवार र राजनीति सँगसँगै जान सक्तैन भनेर जागिर छोडेर राजनीतिक र सामाजिक क्षेत्रमा सक्रियता बढाएकी हुँ  ।’
प्रकाशशरण पटक पटक जेल गएका छन् । विद्यार्थी राजनीतिमा होमिएका उनले हेल्थ एसिन्टेन्टको पढाइबाट निलम्वितसमेत हुनुप¥यो । ‘अन्तिम सेमेस्टरको बेला मलाई निलम्बन गरियो,’ महत भन्छन्, ‘निलम्बन सकिएपछि जाँच दिएर पास भए तर त्यता गइएन, राजनीतिमै लागियो, २०३६ साल आइहाल्यो ।’

२०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किने राजनीतिमा महतहरू कलेज बन्द गराएर एयरपोर्ट पुगेका थिए, नारा–जुलुश गर्दै । ‘त्यसबेला मलाई मण्डलेहरूले घुँडामा हानेर घाइते बनाए, हामीमाथि आक्रमण भयो,’ महत भन्छन्, ‘बिपीलाई कता लग्यो–लग्यो ! मलाई भने प्रहरीले पुनः प्रकाउ ग¥यो ।’

हेल्थ एसिस्टेन्टको पढाइ त्यागेर अब भने उनी विद्यार्थी राजनीतिमा होमिए । २०३६ सालमा विद्यार्थी राजनीति गर्माएको बेला नेवि संघका केन्द्रीय अध्यक्ष शेरबहादुर देउवासँगै उनी केन्द्रीय सदस्यका रुपमा सक्रिय रहे । त्यतिबेलासम्म दाजु रामशरण महत भने अध्ययनका लागि विदेश उडिसकेका थिए ।

२०३६ सालको विद्यार्थी राजनीति र जनमत संग्रहमा सक्रिय रहेका प्रकाश नेवि संघको राजनीतिको सिँढी उक्लदै थिए । प्रकाशशरण २०३९ देखि ४४ सम्म नेवि संघको महामन्त्री थिए, कलेज पढ्दै राजनीतिमा होमिदै गर्दै थिए । यता झापा, शनिश्चरेकी बिना बुढाथोकी काठमाडौँ आएर पद्मकन्या कलेजमा अध्ययन गर्न थालिन् । उनको परिवार पनि झापामा कांग्रेस राजनीतिमा भएकाले उनले पनि यहाँ सक्रिय विद्यार्थी राजनीति गर्न थालिन् । त्यसबेला पद्मकन्या स्ववियु सभापति मीना पाण्डे थिइन् । ‘हामी एक–एक रुपैया उठाएर गहुँको पीठो किन्थ्यौँ र त्यसको माड बनाएर रातभर सडकका भित्ताहरूमा पोस्टर टाँस्थ्यौं,’ बिना सम्झन्छिन्, ‘राजनीतिको नसा लागेको थियो, त्यस्तो बेला कहाँबाट आँट आयो होला !’ विद्यार्थी राजनीतिको केन्द्रीय भूमिकामा रहेका प्रकाश र सडक आन्दोलनमा जाइलाग्ने बिनाबीच राम्रो चिनजानी हुन थाल्यो । २०४२ सालको सत्याग्रहमा दुवै जेल परे । प्रकाशशरण राजनीतिमा सक्रिय रहे भने बिनाले २०४४ सालमा महिला विकासमा जागिर खान थालिन् । यसैबीच उनीहरू विवाह गरे ।

पारिवारिक सहमतिपछि बिना र प्रकाशशरणको जोडी बाँधियो । परिवारले औपचारिकता दिने काम प्रकाशका दाजु रामशरण एकातिर थिए भने बिनाको तर्फबाट डा. ज्ञानेन्द्र कार्कीले भूमिका खेलेका थिए । ज्ञानेन्द्र बिनाका नजिकका आफन्त हुन् ।

नेवि संघमा घात
करिब २०३९ देखि २०४४ सम्म नेवि संघको महामन्त्री पद सम्हालेका प्रकाशशरण सभापतिको दाबी गर्दैथिए भने बलबहादुर केसी सभापतिको पद दोहोर्याउन चाहन्थे । दुई विद्यार्थी नेताहरूको नेतृत्व लिने चाहनाको राजनीति उनीहरूमा मात्र सीमित थिएन । कांग्रेसका ट्रोइका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पनि विभाजित अवस्थामा थिए । २०४४ सालमा प्रहरीको कडा पहरा र हस्तक्षेपबीच कीर्तीपुरमा नेवि संघको महाधिवेसन उद्घाटन भयो । कांग्रेस पार्टी अफिस जमलमा अधिवेशनका अन्य कार्यक्रमसहित उम्मेदवारी भयो । महत र केसी दुई जनाले सभापतिमा दाबी गर्दै उम्मेदवारी दिए । प्रकाशको शब्दमा, उनको पल्ला भारी थियो । विद्यार्थीबीच पपुलर इमेज बनाएका महतलाई कोइरालालगायत दोस्रो तहका शेरबहादुर देउवा लगायतको साथ र समर्थन थियो तर सिंह र कोइराला विभाजित भएको र उनीहरूको समर्थन पनि बेग्लाबैग्लै भएकाले भट्टराईले चुनाव नगराई सर्वसम्मतिबाट संघका सभापति चयन गर्ने बाटो लिए । महत भन्छन्, ‘चुनाव भएको भए पनि मैलै जित्ने निश्चित थियो, नेताहरूले अन्य पदाधिकारीसँग मौखिक मत लिँदा पनि म अगाडि नै थिए तर सर्वसम्मतिको नाममा मलाई हटाइयो र घात गरियो ।’
पछि अनेक राजनीति हुँदै जनआन्दोलन भयो । २०४६ सालपछिको राजनीतिक वातावरणमा अधिवेसन भयो र एनपी साउद नेवि संघ अध्यक्ष भए ।

नेताहरूको कोपभाजनमा परेका महतलाई यस घटनाले ठूलो प्रभाव पा¥यो । उनी राजनीतिमा मात्र खुट्टो राखेर अगाडि बढ्न नसकिने निचोडमा पुगे । जनआन्दोलन सुरु भयो । पार्टीले उनलाई जनआन्दोलन संयोजन समितिमा राख्यो । शैलजा आचार्य, मार्शल जुलुम शाक्य, बलबहादुर केसी, महत लगायतका सात जना संघर्षशील नेता सो समितिमा थिए । ‘जनआन्दोलनमा लागियो, आन्दोलन विभिन्न चरण गर्दै सफल भयो,’ महत भन्छन्, ‘आन्दोलन चर्काउन ब्ल्याक आउल कार्यक्रमले ठूलो भूमिका खेल्यो ।’
२०४५ सालमा उनीहरूको पहिलो सन्तान प्रशन्ना जन्मिइन् । भारतको बैंगलोरबाट बिएल र अमेरिकाबाट एमएल गरेकी प्रशन्ना अहिले वकालततर्फ पाइला चाल्दैछिन् ।  अमेरिकामा जन्मिएका छोरा पुकार भने उतै स्नातक गर्दैछन् । बिना भन्छिन्, ‘उनीहरू अहिलेसम्म राजनीतिमा छैनन्, आफ्नै करिअर र पढाइमा व्यस्त छन् ।’  

वैकल्पिक बाटो
नेवि संघको राजनीतिमा घातपछि महत अन्योलग्रस्त थिए भने राजनीतिक कार्यकर्ता हुँदै अर्धाङ्गिनी बन्न पुगेकी बिनालाई यसले नराम्ररी सतायो । अधिवेशनको झड्काबीच महतले अमेरिकाको फुलब्राइट फेलोसिपमा आवेदन दिए । ‘ मैले राजनीतिसँगै पढाइलाई राम्रोसँग अगाडि बढाएको थिएँ,’ महतले भने, ‘एमए फस्ट डिभिजनमा पास गरेको थिएँ, परिहाल्छ कि भनेर फुलब्राइटमा निवेदन हालेँ, मेरो नाम आइहाल्यो ।’ फुलब्राइटको स्कलरसिप प्राप्त गरे पनि महत अमेरिका जानेमा ढुक्क भने थिएनन् । ‘मेरो नाम त आयो  तर त्यसबेलाको राजनीतिमा मैले पासपोर्ट पाउनै समस्या थियो,’ महत भन्छन्, ‘प्रहरी रिपोर्ट लगायतका कागजातले पञ्चायती व्यवस्था विरोधी होइन भन्ने प्रमाण चाहिन्थ्यो, जुन सम्भव थिएन ।’

महतले स्कलरसिप प्राप्त गर्ने र जनआन्दोलनको आँधिबेहरी आउने बेला एउटै पर्यो । जनआन्दोलन सफल भयो । महतले नयाँ राजनीतिक व्यवस्थामा सहजै पासपोर्ट पाउन सक्ने भए तर नेपालमा प्रजातन्त्र स्थापना भएर अवसरहरू सामुन्ने आएको बेला महतका लागि यही राजनीतिमा सक्रिय हुने कि पढ्न जाने भन्ने अन्योल बढ्यो । ‘मलाई नेताहरू, साथीभाइ र कतिपय आफन्तले नजान सल्लाह दिएका थिए,’ महत भन्छन्, ‘अन्योलग्रस्त भए पनि मभित्र पढ्न जाने हो, पढेर सक्षम भएर फेरि यहीँ फर्कने हो भन्ने कुराले घर गरेको थियो । ममा जाने भन्ने कुराको प्रतिशत धेरै थियो । उता राजनीतिक पृष्ठभूमिबाट आएकी र नेवि संघको राजनीतिका आरोह–अवरोध नजिकबाट अनुभव गरेकी बिना भने केही समयमा लागि बाहिर जाँदा फरक नपर्ने निचोडमा थिइन् । ‘पढेर, अझ सक्षम बनेर आउनका लागि जाने निर्णय गरेका हौं,’ बिनाले भनिन्, ‘ नेवि संघको सभापति बन्न जस्तो खालको घात गरियो, त्यसले ठूलो चोट पु¥याएको थियो र राजनीतिसँगसँगै वैकल्पिक  बाटो आवश्यक छ भन्ने ठान्यौं ।’

स्कलरसिपअन्तर्गत अमेरिकामा प्रकाशले अर्थशास्त्रमा मास्टर्स र त्यसपछि पिचडी गरे भने पत्नी बिनाले सामुदायिक विकासमा मास्टर्स गरिन् । छोरा पुकार उतै जन्मिए, २०५४ सालमा । प्रकाशले पिएचडी र बिनाले एमएको अध्ययन सकेलगत्तै नेपालमा माओवादी ‘जनयुद्ध’ सुरु भयो । उनीहरुको परिवारले मुलुकमा शान्ति भड्किएको र हिंसाले घर गरिरहेको समयमा नेपाल नफर्कन सल्लाह दिन्थे । ‘अमेरिका जाने बेलामा यहाँ नयाँ अवसर थिए, शुभचिन्तकहरु धेरैजसो यहीँ बसेर राजनीतिमा सक्रिय हुन सल्लाह दिन्थे,’ प्रकाश भन्छन्, ‘पढाइ सकेर उता अवसरहरू सामुन्ने बेला यहाँ हिंसा फैलिरहेको थियो, एक किसिमको अन्योल थियो ।’ नेपालको राजनीतिक आरोह, अवरोह, कांग्रेस भित्रको आन्तरिक कलहबीच कांग्रेसमा शेरबहादुर देउवा राजनीतिमा हाबी भैरहेको बेला प्रकाशले नेपाल फर्कने योजना बनाए । ‘नेपालमा राजनीति गर्न गाह्रो हुन्छ भन्ने मलाई थाहा थियो,’ महतले भने, ‘तर म नेपालमै खुसी हुन्छ भनेर यहाँ फर्किएको ।’  

राजनीतिमा पुनरागमन
नेपाल फर्किएपछि प्रकाशले पार्टीसँग सम्पर्क बढाए भने जीविकोपार्जनका निम्ति वल्र्ड बैंक, युएनडिपी लगायतका वैदेशिक संस्थाहरूको कन्सल्टेन्ट भएर काम गर्दैरहे । गृह जिल्ला नुवाकोट क्षेत्र नं. १ जहाँ कांग्रेसले जितेको थिएन, त्यहाँ उनले राजनीतिक मैदान बनाए, कार्यक्रम गर्न थाले । क्षेत्र नं २ दाजु रामशरणको क्षेत्र थियो । नेपाल फर्किएपछि लामो राजनीतिक ‘ग्याप’ पूरा गर्न सकियो त ? प्रश्नमा महत भन्छन्, ‘म पढाइले अझ सक्षम भएर आएको थिएँ, यहाँ पनि साथीहरू धेरै माथि पुग्नु भएको थिएन, कुनै पश्चाताप छैन, मैले रिकभर गरेँ ।’ बिना भने नेपाल फर्किएपछि परिवार नियोजन संघमा आबद्ध भइन् । करिब एक दसक संघमा सक्रिय बिनालाई प्रकाशको राजनीतिक सक्रियता, राजनीतिक अवसरहरूका लागि दबाब दिन थाले । उनले २०६८ सालमा संघको जागिर छोडेर जिल्लाको सामाजिक क्षेत्र र प्रकाशशरणको राजनीतिलाई सघाउने भूमिका निर्वाह गरिरहेकी छन् । ‘उहाँको राजनीतिक सक्रियताबीच मैले अफिसलाई भने जति समय दिन सकिनँ,’ बिना भन्छिन्, ‘मलाई घरले तान्यो ।’

२०५६ सालको आम निर्वाचनमा प्रकाशशरणले नुवाकोट क्षेत्र नं १ बाट उम्मेदवारी दिन पूर्वाधार बनाएका थिए । उता क्षेत्र नं २ बाट भने दाजु रामशरण चुनावमा प्रतिस्पर्धा गर्र्दैथिए । पार्टीका शीर्ष नेताले प्रकाशलाई टिकट दिने आश्वासन दिए पनि उनले पाएनन् । नुवाकोटको पेचिलो राजनीतिमा दाजु रामशरणलाई अप्ठ्यारो पर्नसक्ने आँकलन गर्दै  उनलाई टिकटबाट वञ्चित गरियो । प्रकाशशरण यस्तो अवस्थालाई एउटै पुस्ताका सदस्यहरू राजनीतिमा आउँदाका समस्याका रुपमा लिन्छन् । ‘एउटै पुस्ताका सदस्यहरू एउटै आधार क्षेत्रबाट राजनीतिमा आउँदा समस्या हुने रहेछन्,’ प्रकाशले भने, ‘कतिपय अवस्थामा बाबुले गरेको राजनीतिक लगानीको विरासत प्राप्त गर्ने अवसर पनि हुन्छ, त्यो बेग्लै कुरा हो ।’ नुवाकोट १ मा आफूले प्रशस्त राजनीतिक लगानी गरेको दाबी गर्दै प्रकाश भन्छन्, ‘मलाई टिकट दिइएको थियो भने, म जित्ने थिएँ, दाजुलाई अप्ठ्यारो पर्ने थिएन ।’

नुवाकोटबाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएको अवस्थामा पनि उनी पार्टीका उम्मेदवार दाजु रामशरण लगायतलाई जिल्लाबाट विजयी बनाउन लागिपरे । चुनावपछि बनेको कृष्णप्रसाद भट्टराई सरकारले माओवादी समस्या अध्ययन आयोग गठन गर्यो । शेरबहादुर देउवा संयोजक रहेको सो आयोगमा प्रकाशशरण महत सदस्य थिए । त्यसपछि उनले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरे । २०६४ को पहिलो संविधानसभा निर्वाचन र २०७० को दोश्रो संविधानसभा निर्वाचन पनि नुवाकोट कांग्रेसको पुरानै रोगले निरन्तरता पायो । प्रकाशशरण दुवै संविधानसभामा समानुपातिकबाट सभासद बनाइए र ऊर्जा मन्त्री र पछिल्लो समय परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले ।
पछिल्लो चुनावमा भने प्रकाशशरणले नुवाकोटको राजनीति लगानी त्यत्तिकै छाडेर काठमाडौंमा आफ्नो आधार बनाउनुपर्ने बाध्यता आइलाग्यो । पार्टीले उनलाई काठमाडौं ५ निर्वाचन क्षेत्रबाट कांग्रेसले उता¥यो । वाम एकताको शिकार बन्दै प्रकाशरण यस पटक पराजित भए । अहिले प्रकाशरण दोहोरो भूमिकामा छन्, आफ्नो गृहजिल्लामा भएको राजनीतिक लगानीलाई सम्हाल्ने र काठमाडौंमा प्राप्त गरेको नयाँ क्षेत्रलाई पनि बढाउने ।

वातावरण बनाउने काम
कांग्रेसको राजनीतिमा सक्रिय प्रकाशको भरपर्दो सहयोगी हुन्, बिना । प्रकाश भन्छन्, ‘मलाई सुरुदेखिनै बिनाको सहयोग र समर्थन थियो, परिवारको सहयोगबिना राजनीति अगाडि बढ्दैन ।’ राजनीतिमा ठूलो जनसमुदायसँग अन्तक्र्रिया हुने, आउजाउ हुने भएकाले परिवारका सदस्यहरूमा उदारता र धैर्य आवश्यक हुने उनीहरू बताउँछन् । ‘मेरो मुख्य काम उहाँका लागि राम्रो वातावरण बनाउने हो,’ बिना भन्छिन्, ‘भेट्न आएका मानिसलाई आवश्यकता अनुसारको व्यवस्था मिलाउने हो ।’ कस्ता–कस्ता काम आइलाग्छन् त नेतापत्नीलाई ? हालैको एउटा उदाहरण दिँदै बिना भन्छिन्, ‘बिहान पौने आठ बजे उहाँले फोन गरेर १५÷१६ जना साथीहरू आउँदैछन् भन्नुभयो, मैले चिया बनाउने हो ? भन्दा होइन, नास्ता पनि भन्नुभयो,’ बिनाले भनिन्, ‘यस्ता कुरा त सामान्य हुन् ।’

जिल्लाको राजनीतिमा बिनाको कत्तिको चासो र सक्रियता छ त ? उनी आफ्नो कुनै चाहना र भूमिका नरहेको बताउँछिन् । ‘म उहाँले नबोलाइन त मिटिङ भैरहेको ठाउँमा प्रवेश पनि गर्दिनँ,’ बिनाले भनिन्, ‘बोलाएको अवस्थामा मात्र बैठक कक्षमा जाने हो ।’

गीतकार बिना, गायक प्रकाश
बिना महत साहित्य अनुरागी, कवि र गीतकार हुन् । उनका कविताहरू छुटपुट रुपमा प्रकाशित भएका छन् भने उनले रचेका गीतका तीन वटा संग्रह  छन् । बिनाले रचना गरेको गीतको पहिलो एल्बम २०६१ सालमा रिलिज भएको छ । दीपक जंगमले संगीत भरेको  पहिलो एल्बम हो– ‘यही त जीवन हो’ । दोस्रो एल्बम ‘अनुभूति’ २०६९ मा रिलिज भयो । यसमा दीपक जंगमको संगीत छ भने दीप श्रेष्ठ, दीपक खरेल, डा. प्रकाशशरण, सङ्गीता राना प्रधान, स्वरुपराज आचार्य, कर्णदास र निशा देसारको स्वरले भरिएको छ । एल्बममा प्रकाशरणले ‘यो साँझ यो झरी’ गीत गाएका छन् । तेस्रो एल्बम ‘अभिव्यञ्जना’ २०७१ मा रिलिज भएको थियो । दीपक जंगमको सङ्गीत रहेको सो एल्बममा दीपक खरेलको स्वर रहेको छ । गीतकार बिना भन्छिन्, ‘गीतिलेखन मेरो शोख हो । धेरै वर्षअघिदेखि गीतकविता लेख्न थालेकी थिएँ, हिजोआज पनि बेलाबेलामा लेख्छु ।’

तस्बिर: केशव थोकर/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App