८ वैशाख २०८१ शनिबार
कला

‘आधा उज्यालो’माथि छलफल

काठमाडौं – काठमाडौँमा कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह ‘आधा उज्यालो’ माथि बृहत छलफल कार्यक्रम आयोजना गरिएको छ। कथाकार तथा अनुवादक महेश पौड्यालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा कवि भीष्म उप्रेतीले किताबभित्रका ६ वटा कविता वाचन गरेका थिए।

प्रमुख वक्ताका रूपमा प्रा. डा. अमरराज जोशीले कविताले जब उत्कृष्ट विम्बहरू पाउन थाल्छ, तब कविता बोल्न थाल्दछ र कवि मौन रहन्छ भन्दै कवि भीष्म उप्रेतीको सर्वोत्कृष्ट काव्यिक शक्ति भनेको दृश्यवस्तुलाई शब्दमा परिष्कृत ढङ्गले पोख्न सक्नु हो भन्ने धारणा राखे।

इन्द्रियहरूको प्रयोग गरेर कविता लेख्न सक्नु कवि भीष्मको ठूलो सामथ्र्य, त्यसले उनको कवितामा मौलिकता ल्याएको छ भन्दै आगामी कृतिहरूमा अझ धेरै विविधताको लागि प्रयास गर्न सुझाव समेत दिए। कार्यक्रममा कवि तथा निबन्धका श्यामलले भीष्मका कविताले विवाद निम्त्याउँदैनन् तर जुन कविताले विवाद निम्त्याउँदैन त्यो जोखिम पनि हो भन्ने धारणा राखे।

कवि मञ्जुलले कवितामा भीष्म चित्रकार पनि हुन्, ती चित्रले मानिसको मनसँग, मस्तिस्कसँग संवाद गर्दछन् भने।  समालोचक डा. विन्दु शर्माले भीष्मका कविता श्रम र सुन्दरताबाट सृजित छन् भन्ने धारणा राखेकी थिइन्।

कार्यक्रममा निबन्धकार शेखर खरेल, कवि तथा गजलकार डा. विजय सुब्बा र डा. सृजना शर्माले समेत आ–आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: २० वैशाख २०७५ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App