८ वैशाख २०८१ शनिबार
कला

‘सेन्थेसिस’ नयाँ पुराना एकै ठाउँ

काठमाडौं – पुराना र नयाँ कलाको फ्युजनसँगै प्रदर्शनीका रूपमा बुधबारबाट राजधानीमा ‘सिन्थेसिस’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको कला प्रदर्शनीमा पुरानो पुस्तादेखि नयाँ पुस्ताका कलाकारको सहभागिता छ।

प्रदर्शनी नियाल्दै पुराना कलाकार मदन चित्रकारले आफ्ना लागि प्रदर्शनी नयाँ अनुभव बटुल्ने थलो बनेको बताए। ‘कलाकारमा बहुमुखी कला देख्न सकिन्छ। पुरानादेखि नयाँ कलाकारका अहिलेसम्म जति पनि कला प्रदर्शनी भइरहेका छन्, ती प्रदर्शनीभन्दा यो प्रदर्शनी केही हिसाबमा फरक छ,’ उनले भने, ‘यो प्रदर्शनीमा कुनकुन पक्षमा कलाकारले कस्तोकस्तो काम र सिर्जना गरिरहेका छन्। त्यो प्रस्ट देखिएको छ। सर्वसाधारणले पनि यो प्रदर्शनी हेर्दा कलाको महत्व र अर्थ बुझ्न सक्छन्।’

तिलिचो कलाले ओल्ड दरबारको प्रायोजनमा आयोजना गरेको प्रदर्शनीमा १५ कलाकारका ५० भन्दा बढी कला राखिएका छन्। प्रदर्शनीमा सहभागी कलाकार समुन्द्रमान सिंह श्रेष्ठले तीनवटा कला प्रदर्शनका लागि राखेका छन्। ‘मैले गत वर्ष नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत कला सप्तलोचन तारासहित भूकम्पले गुम्बामा पारेको असरलाई चित्रण गर्ने कला राखेको छु,’ उनले भने, ‘दुई चित्रमा भूकम्पले क्षतविक्षत गुम्बाका चित्रको विकराल अवस्थालाई प्रस्तुत गरेको छु। यो चित्रमार्फत ‘वी विल राइज अगेन’ नारा लिएर पुनर्निर्माणको काम गरे पनि त्यो प्रभावकारी भएको छैन भन्ने कुरा देखाएको छु। कलामा व्यंग्यसँगै सन्देशको कुरा पनि राखिएका छन्।’

अर्का कलाकार लोक चित्रकारले पञ्चबुद्ध सम्झाउने पाँच बुद्धका चित्र प्रदर्शनीमा राखेका छन्। ‘मेरा चित्रमा बौद्ध दर्शनका कुरा छन् । खासगरी पञ्चबुद्धलाई विभिन्न रंगमार्फत प्रस्तुत गरेको छु,’ उनले भने, ‘हाम्रो शरीरका पाँच इन्द्रियको प्रतिनिधित्व ती चित्रमा पाइन्छ।’

त्यस्तै कलाकार आकाश श्रेष्ठले आफूले सर्कल र रंगलाई कलामा फ्युजनका रूपमा प्रयोग गरेको जनाए। आकाशले खिचेका तस्बिरमा अन्य कलाकारले रंग पोतेका छन्।

प्रदर्शनीको शुभारम्भ गर्दै ओल्ड दरबारका अभिषेक श्रेष्ठले कलासँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

प्रदर्शनीमा कलाकारले बढी मात्रामा धर्मसँग सम्बन्धित कला राखेका छन्। केही कलाकारले धर्ममा आधुनिकताको संकेत गर्ने कला पनि कोरेका छन्। प्रदर्शनी आगामी शनिबारसम्म चल्नेछ।

प्रकाशित: २० वैशाख २०७५ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App