दुर्घटना र सडक

सोमबार, १३ भदौ २०७३, ०७ : ४८ राजु नेपाल

गत हप्ता काम विशेषले दुईपटक काठमाडौं बाहिर जानुपर्‍यो। सडक मार्गबाट काठमाडौं नछाडेको धेरै भएको र वर्षायाम पनि करिब करिब सकिएकाले गाडीबाटै काठमाडौं छाड्ने निर्णय भयो। दक्षिणकाली हुँदै हेटौंडासम्मको पहिलो यात्राले धेरै कुरा सिकायो भने काठमाडौंबाट मुग्लिङ नारायणघाट हुँदै पाल्पासम्मको यात्राले त जीवनको सोच नै बदल्न बाध्य बनायो। मन त्यति बेला स्तब्ध भयो जब काठमाडौं फर्केको अर्को दिन पत्रिकाको मुख्य समाचारमा 'नेपालमा एक वर्षमा १७ हजारको दुर्घटनाका कारण मृत्यु' शीर्षकको समाचारमा आँखा पुग्यो। अझै मेरो मनले यो ठम्याउन सकेको छैन कि यो सडकमा हुने मृत्यु हो कि हत्या? आफू यात्रा गर्दा सडकमा देखिएको दुर्घटना भएका सवारी साधनहरु झल्झल्ती मानसपटलमा आएर विभिन्न प्रश्न गर्न थाले। अबका कति वर्ष हामीले यस्ता समाचार लेख्ने र पढ्ने?

सडक दुर्घटना संसारमा जहाँसुकै हुन्छन्। दुर्घटना शून्य गर्न सम्भव छैन तसर्थ विभिन्न उपाय अपनाएर सडक दुर्घटना कम गर्न भने सकिन्छ। खासगरी गाडीले क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत सम्भारको अभावमा बिग्रनु आदि सवारी दुर्घटनाका प्रमुख कारण मानिन्छन्। सडकको दुर्दशा त सवारी दुर्घटनको प्रमुख कारण हो र त्यसमा सवारी साधन र चालक दुवैको गल्ती कम वा न्यून हुन्छ। दुर्घटनापछि कारण जे भए पनि सवारी साधनको चालकमाथि दोष थोपर्नु सामान्य मानिन्छ जुन सरासर गलत हो।

सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्दो छ र मानिस मरिरहेका छन्। त्यसैले अब यस्ता घटनाविरुद्ध सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुपर्ने बेला भइसकेको छ।

काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौंडा जाने बाटोले धेरैलाई सजिलो बनाएको होला। झण्डै आठ घण्टा लाग्ने काठमाडौं–हेटौंडाको यात्रालाई करिब चार घण्टामा झारेको होला। हरेक दिन सयौंको संख्यामा सवारी साधनमा हजारौंले त्यो बाटोबाट यात्रा पनि गर्छन्। तर संसारको कुनै पनि देशको कुनै पनि बाटोको स्तर हेर्‍यो भने त्यो बाटो हैन मानिस मार्ने थलोका रूपमा लिए हुन्छ। त्यहाँ सवारी साधन चलाउने चालकलाई अत्यन्त कठिन र डरलाग्दो काम गरेबापतको पुरस्कार दिए हुन्छ। अझ केही समयअघिसम्म साना सवारी साधनमात्र चल्ने त्यो बाटोमा अब त ठूला बस पनि चल्न थालेछन्। ठूला बस चल्न दिइएको इजाजतपत्रलाई यात्रुको मृत्युपत्र भनिदिए हुन्छ। के अब त्यो बाटोमा हुने दुर्घटनालाई कुनै पनि बहानामा चालकको लापरबाही भनेर चालकमाथि दोष थुपारेर अरुले उम्कन मिल्छ? त्यसलाई दुर्घटना मान्ने कि विभिन्न निकायको समन्वयमा भएको हत्या? त्यो बाटोमा ज्यान गुमाउनेहरु दुर्घटनामा मारिएका हैनन् सरकारी निर्णयको शिकार भएका हुन्।

बल्खुदेखि दक्षिणकालीसम्मको करिब १८ किमि बाटो खाल्डाखुल्डी छ, कतै मर्मत गर्न लागेको देखिए पनि टुंगिएको छैन। दक्षिणकालीदेखि कुलेखानीसम्मको करिब २५ किमि सडक त नक्सामै खोज्नुपर्ने हालत छ। सडक छ भन्ने अनुमानमा सवारी कुदाउनुपर्छ। हरेक मिनेटजसो एकतर्फी चल्ने तीन वटा सुमो र त्यत्तिकै संख्यामा चल्ने निजी सवारीका साधन अनि दैनिक करिब एक हजारको संख्यामा चल्ने मोटरसाइकल भए पनि सबैलाई सबै ठाउँमा दोहोरो आवागमन नै पुग्दैन। यस्तो सडकमा यति धेरै सवारी चल्न दिनु सरासर बदमासी हो। एकातिर मर्मत हुँदैछ अर्कोतिर भत्कन पनि सुरु भइसकेको देखिन्छ।

कुलेखानीदेखि भीमफेदीसम्मको करिब १५ किमि पिच छ। तुलनात्मक राम्रो भए पनि निकै साँघुरो। यस्तो सडकमा ठूला सवारी साधन चलाउन अनुमति लिने र दिने दुवैलाई भन्ने शब्द नै भेटिन्न। हरेक मोडमा यात्रु या राम राम भन्छन् या त आँखा चिम्लेर आफन्त सम्झन्छन्। त्यसैले यहाँ हुने दुर्घटनालाई चालकको लापरबाही मात्र भन्न सकिन्न। सरकारले अरुलाई दोष थोपरेर उम्कन सक्ने स्थिति छैन। त्यसउताको करिब २५ किमि सडक भने राम्रो छ। यो पूरै बाटोमा दक्षिणकालीदेखि भीमफेदीसम्म मर्मत र फराकिलो पार्ने काम नसकुन्जेल दोहोरो सवारी आवागमन रोक्नुपर्छ। दक्षिणकालीदेखि कुलेखानीसम्मको सडकको काम सकिएपछि भने समय मिलाएर एकतर्फीरूपमा सञ्चालन गर्न सकिन्छ।

अब चर्चा गरौं, काठमाडौं–नारायणघाट सडकको। यो करिब १ सय ४६ किमिमध्ये नौबीसे–मुग्लिङ खण्डको ८४ किमि खण्ड ठीकै छ। तर धेरै तौल बोकेका सवारी साधनका कारण पिच उक्केका र खाल्डा परेको छ। जति पनि क्षमताका सवारी कुद्न दिनुको परिणाम हो यो। कलंकीबाट नौबीसेसम्मको करिब २६ किमि सडक दुर्दशाको स्थितिमा छ भने मुग्लिङ–नारायणघाटसम्मको ३६ किमिको त चर्चै गर्नु पनि बेकार छ। मर्मत सम्भारको नाममा यात्रुको जीवनसँग खेलवाड गर्ने काम भइरहेको छ। कलंकी–नौबीसेको बाटो मर्मत र फराकिलो गर्ने काम सुरु भएको कति भयो? किन कहिल्यै सकिन्न? सरकारी निकायले जवाफ दिनुपर्छ। के मर्मतकै नाममा र त्यही कारणले त्यो खण्डमा हुने दुर्घटना सरकारले गरेको हत्या हैन? काम सुरु गर्ने कहिल्यै समाप्त नगर्ने परिपाटी कहिलेसम्म? त्यसैले यस्ता दुर्घटनालाई लिएर हत्याको आरोपमा सरकारविरुद्ध मुद्दा हाल्ने बेला भइसकेको छ।

मुग्लिङ–नारायणघाट सडक मर्मत र फराकिलो हुने क्रममा छ। तर निकै सुस्त छ काम गराइ। सामान्य स्थितिमा करिब ४५ मिनेटमा तय गरिने दूरी पार गर्न ५ घण्टाको औसत समय लाग्यो। साथै धेरैको ज्यानसमेत गइसकेको छ। कारण एउटै छ– सडक विस्तार वा मर्मतको समयमा चाल्नुपर्ने कदम नचालिनु। कमसेकम समय मिलाएर सवारी साधन प्रयोग गर्न दिने, रातको समयमा दुईपांग्रेलाई प्रवेश नदिने र बस तथा ट्रकको आवागमनको समय अलग अलग गर्नेमात्र गर्न सके पनि धेरै मात्रामा दुर्घटना कम हुन्थ्यो।

नत्र हरेक दिनजसो दुर्घटना हुने, निर्दोष यात्रुले ज्यान गुमाउने वा अंगभंग हुने र दोषचाहिँ एक्लो ड्राइभरले पाउने क्रम सधैं जारी रहन्छ र साँच्चिकैका हत्याका जिम्मेवार सवारी साधन सञ्चालन गर्ने समिति र सरकार भने तमासे भइरहने हुन्छन्। यी त भए राजधानी जोड्ने सडकका स्थिति। देशको राजधानी जोड्ने दुई सडकको त यो हालत छ भने अरु सडकको के हाल होला? सजिलै अनुमान लगाउन सकिन्छ। के हामीकहाँ साधन र स्रोतको अभाव हो? पक्कै हैन। अभाव हो त मात्र नेतृत्वको। 





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad