१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेश नम्बर ७ लाई उपाधि

काठमाडौं – मनोज लोथ्यालको उत्कृष्ट बलिङको मद्दतमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै बुधबार मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेटको उपाधि जितेको छ। 

देश संघियतामा गएपछि पहिलो पटक संघिय ढाँचामा आयोजना गरिएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ३० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा दिएको २ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा  प्रदेश नम्बर २ ले निर्धारित ३० ओभरको समाप्तिमा ९ विकेट गुमाएर मात्र १ सय ८४ रनमा समेटिएपछि २४ रनले स्तब्ध बनेको हो। 

विजयी प्रदेश नम्बर ७ ले नगद २ लाख ५० हजार रुपैयाँ सहित क्रिकेट किट्स हात पार्दा उपविजेता प्रदेश नम्बर २ ले नगद १ लाख ५० हजार सहित क्रिकेट किट्समा चित्त बुझायो।

विजयी टोलीका कप्तान नारायण जोशीले उमेर समूहको प्रतियोगिताबाट प्रतिभावान खेलाडीले मौका पाएको बताए । जोशीले भने, ‘अन्तराष्ट्रिय मैदानमा हामी उमेर समूहका खेलाडीले आफ्नो प्रतिभा देखाउँन पाउँदा खुसी लागेको छ । आउँदा यस्तै प्रतियोगिताहरु हुँदै जाने हो भने उमेर समूहका नयाँ खेलाडीले स्थान पाउनेमा आशावादी  छौं, यस्ता प्रतियोगिताले हामीलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ।’

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर २ का लागि ओपनर अमित यादवले ८० रनको इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन्। 

पहिलो विकेटका लागि ४१ रनको साभेदारी गरेका अर्का ओपनर सहिल  पटेलले व्यक्तिगत २५ रनमा महेश सावदको वलमा बोल्ड हुँदै पवेलियन फर्किदा तीर्त राज दाशले २७ रनको योगदान गरे । यस्तै, इमरान शेखले १२ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन असफल रहे । प्रदेश नम्बर २ को इनिलाई रोक्न मनोज लोथ्यालले  सर्वाधिक ५ विकेट लिँदा नरेन्द्र सावदले ३ तथा महेश सावदले १ विकेट लिए। 

यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ७ नम्बर प्रदेशका लागि राहुल भण्डारीको सर्वाधिक ३८, ओपनर हृदय विथारीको ३३ तथा रोशन सावदको  अविजित ३७ रनको मद्दतमा निर्धारित ३० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय ८ जोड्न सफल भएको थियो।

पहिलो विकेटका २६ रन जोड्दा ओपनर राजन सिंहलाई मात्र ६ रनमा गुमाएको प्रदेश नम्बर ७ ले दोस्रो विकेट ४७ रन बटुल्दै गर्दा सुवास आयरले १४ रनमा गुमाएको थियो । यस्तै, गजेन्द्र सिंह बोहोराले १६  रन जोड्दा विनोद खत्री १३ रन जोड्दै गर्दा बिक्रम कुसवाहको बलमा बोल्ड भए भने नरेन्द्र सावद २० रनमा अविजित रहे । बलिङमा प्रदेश नम्बर दुईका विवेक यादवले २ विकेट हात पार्दा संसद अल मंसुरी, निखिल सिंह र विक्रम कुशवाहले समान १–१ विकेट लिए। 

फाइनल खेलमा मनोज लोथ्याल म्यान अफ दि म्याच घोषित भए । यस्तै, प्रतियोगितामा प्रदेश नम्बर ७ का हृदय विथारी उत्कृष्ट फिल्डर बन्दा उत्कृष्ट विकेटकिपर ७ प्रदेशकै राजन सिंह र ११ विकेट लिएका प्रदेश नम्बर ७ का नरेन्द्र सावद उत्कृष्ट बलर घोषित भए । यस्तै, उत्कृष्ट ब्याट्सम्यान २ नम्बर प्रदेशका अमित यादव घोषित हुँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रदेश नम्बर २ का विवेक यादव घोषित भए । उत्कृष्ट बलर र ब्याट्सम्यानले होटल काठमाडौ इनको तर्फबाट ५–५ हजार रुपैयाँ प्राप्ता गर्दा सर्वोत्कृष्ट खेलाडीले होटल काठमाडौं इनको तर्फबाट १० हजार रुपैयाँ हात पारे। 

प्रतियोगितालाई नजिकैबाट नियालेका नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले मनमोहन मेमोरियलको आयोजनामा भएको प्रतियोगिताले नेपाली जुनियर खेलाडीहरुको लागि प्ल्याटफर्म प्रदान गरेको बताए । टमाटाले भने, ‘जुनियर खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउने मौका पाए । सबैले राम्रो प्रदर्शन गरे । प्रतियोगिताबाट धेरै राम्रो प्रतिभाहरु देखिएका छन्।’

‘आउँदा दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनु सबैभन्दा महत्वपूर्ण छ। यू–१६ सँगै यू–१९ स्तरका प्रतियोगिताहरु हुनुपर्छ अनि मात्र राष्ट्रिय टिमा नयाँ अनुहारले स्थान पाउँछन्।’

प्रकाशित: २० वैशाख २०७५ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App