७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले–माओवादी एकता हुन्न : गगन थापा

गुल्मी– नेपाली कांग्रेसका नेता गगन थापाले एमाले–माओवादी केन्द्रबीच भागवण्डाका कारण एकता नहुने दाबी गरेका छन् । निर्वाचनको समयदेखि नै पार्टी एकताको हल्ला चलाइरहेको भएपनि भागवण्डा नमिलेकै कारणले अहिलेसम्म एमाले–माओवादी एक हुन नसकेको भन्दै थापाले एमाले–माओवादी एकता नहुने बताए । 

नेपाली कांग्रेस गुल्मीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थापाले पत्रकारहरुसँग सदरमुकाम तम्घासमा कुराकानी गर्दै भागवण्डाका कारण एकता हुन नसक्ने तर अरुलाई दोष लगाउने काम रोक्न आग्रह गरेका थिए । 

दुई पार्टीका नेताहरु आपसमा पदको भागबण्डा मिलाउन नसक्ने भन्दै थापाले भने, ‘अन्य शक्तिका कारण एकता हुन सकेन भनेर गलत हल्ला फैलाउने काम एमाले–माओवादीका नेताहरुले तत्काल बन्द गरेर एकता गर्नुस, मेरो उहाँहरुलाई शुभकामना छ ।’ 

उनले एकै जगंलमा २ सिंह बस्न नसक्ने उदाहरण दिँदै माओवादी एमाले एकता नै नहुने कुरामा जोड दिए । ‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ,’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के केले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउन लाज मान्नु पर्ने होइन ?’ 

चुनावमा गरेका वाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहेमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताए । ‘नेपाली कांग्रेस जनताको प्रिय पार्टी भएकाले सरकारले जनताका लागि गर्ने राम्रा काममा सधैं साथ र सहयोग रहन्छ,’ उनले भने, ‘बहुमतको धाक लगाउँदै सरकारले गलत काम ग¥यो भने हाम्रो खबरदारी रहन्छ ।’ 
सरकारलाई नेपाली कांग्रेसकै नेतृत्व तहमा रहेका नेताहरुले नै अधिनायकवादतर्फ अगाडि बढेको आरोप लगाउँदै उनले सरकार कता जाँदैछ भन्ने परीक्षा भर्खरैमात्र सुरु भएकाले हतारमा बोल्न नहुने बताए । 

प्रकाशित: २० वैशाख २०७५ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App