coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा खुला ठाउँ मासिएपछि समस्या

काठमाडौं- स्वयम्भूमा बस्ने साफल्य आमत्य हिजोआज घरबाट बाहिर निस्कँदैनन्। ७३ वर्षिय अमात्य उमेर पाको भएर बाहिर ननिस्केका भने होइनन्। उनी घरबाहिर ननिस्कनुको एउटै कारण राजधानीको प्रदूषणले स्वास्थ्यमा पार्ने खराब असर हो।

'घरबाट कहीँ गएर प्रकृतिसँग रमाउने खुला ठाउँ नै छैन,' इतिहासकार अमात्यले भने, 'उपत्यकाका खुला क्षेत्र मासिन थालेपछि त्यसको सबैभन्दा बढी प्रभाव हामीजस्ता बुढापाका र बालबालिकामाथि परेको छ।' घरबाहिर कतै स्वच्छ हावामा सास फेर्ने र समय बिताउने ठाउँ नभएपछि घरमै खुम्चिएर बस्नु परेको गुनासो अमात्यको छ।

खुला क्षेत्र मासिँदै गएपछि ठडिएका गगनचुम्बी भवन र सडकले उपत्यकाको वातावरणमै खल्बल्याएको पाटनका शान्ताराम शाक्य बताउँछन्। खुला ठाउँ मासिएसँगै हरियाली नभएपछि स्वास फेर्न अक्सिजनयुक्त हावा नै कमी भएको शाक्यको अनुभव छ। 'हरियाली मास्दै कंक्रिट थप्नाले उपत्यकामा ठूलै समस्या निम्तिने देखिन्छ,' उनले भने, 'अहिले नै उपत्यकामा अक्सिजनको मात्रा कमी भएको मैले महसुस गरेको छु। समयमै नसोचे उपत्यकामा २० वर्षपछि कृत्रिम अक्सिजन चाहिने अवस्था आउने निश्चित छ।'

खुला ठाउँको महत्व वातावरणीय हिसाबले मात्र नभएर प्राकृतिक विपद्का बेलामा अझ बढी हुन्छ। गत वर्षको भूकम्पपछि खुला ठाउँको महत्वबारे उपत्यकावासीलाई कसैले बताइरहनु पर्दैन। तर महत्व थाहा भए पनि उपत्यकामा रहेका खुला ठाउँ मासिने क्रम भने रोकिएको छैन। 'भूकम्पका बेला हाम्रो परिवार बसपार्कमा आएर बस्यो,' बागबजारका सुसन वैद्यले भूकम्प सम्भि्कँदै भने, 'जता गए पनि घरैघर भरिएका छन्। यसो एकछिन बाहिर निस्कने, टहल्ने ठाउँ कतै भएन। टुँडिखेल त कोर सिटीका बासिन्दाले एकैछिनमा भरियो।' वैद्यले भूकम्पका बेला आश्रय लिएको बसपार्कमा अहिले काठमाडौं महानगरपालिका बाह्रतले व्यापारिक भवन काठमाडौं टावर बनाउन तम्तयार छ। उनलाई भने अर्को पटक भूकम्प आए कहाँ आश्रय लिने चिन्ताले सताएको छ।

बसपार्कमा टावर बन्ने भएसँगै राजधानीको एकमात्र ठूलो खुला क्षेत्र खुलामञ्च पनि खुम्चिएको छ। त्यहाँ अहिले बसपार्क बनाएपछि खुलामञ्च खुम्चिएको हो। इतिहासकार अमात्यका अनुसार टुँडिखेल पहिले अझै ठूलो थियो। तर अहिले खुम्च्याउँदै लगेर सानो भएको छ। '५० वर्षअघिसम्म टुँडिखेल विशाल थियो, अहिले खुम्चिरहेको छ,' अमात्य सम्झन्छन्, 'भृकृटीमण्डप, रत्नपार्क, रंगशाला, भद्रकाली, आर्मी हेडक्वार्टर र सडक बनाउने भन्दै टुँडिखेल खुम्च्याइयो।'

५० वर्ष पहिलेको टुँडिखेलपछि दोस्रो ठूलो खुला ठाउँ छाउनीमा पनि अहिले कुनै नामनिसाना छैन। नेपाली सेनाको ब्यारेक, संग्रहालय, अस्पताल र विभिन्न भवनले छाउनी भरिएको छ। 'विसं २०२० सालयता छाउनीमा भौतिक संरचना बनाउन थालियो,' अमात्यले भने, 'पहिले छाउनी खुला थियो भन्ने कुनै निसाना अहिले छैन।' छाउनीजस्तै टुँडिखेल पनि कुनै दिन खुला ठाउँ थियो अरे भन्नेमा मात्र सीमित हुने चिन्ता अमात्य गर्छन्।

खुला क्षेत्र मासिदै गएकोप्रति राजधानीका युवाले फोरम नै बनाएर आवाज उठाउन थालेका छन्। 'बस्न योग्य काठमाडौं' अभियान बनाएर आफुहरु सडकमा उत्रिएको सुरेश सिलाकारले बताए। उनीहरुले बसपार्कमा बनाउने तयारी गरिएको काठमाडौं टावर पनि रोक्न प्रयास गरिरहेका छन्। काठमाडौं क्षेत्र नं. ६ का संासद् भिमसेनदास प्रधान पनि खुला क्षेत्र मासिदै गएप्रति चिन्ता व्यक्त गर्दै खुला क्षेत्र जोगाउन लागिरहेको बताए। 'उपत्यकाका सांसद् सबै मिलेर उपत्यकालाई बस्न योग्य सहर बनाउन लागि परेका छौं,' सांसद् दासले भने, 'यो विषयमा सरकार समक्ष जोडतोड्ले आवाज उठाईरहेका छौं।' उनले बाँकी रहेका खुला क्षेत्रमा पार्क निर्माण गर्नपर्ने र आवश्यक क्षेत्रमा जग्गा खरिद गरेर पनि खुला क्षेत्र कायम गर्नपर्ने माग सरकार समक्ष गरेको बताए।

महानगरले सार्वजनिक निजी साझेदारीमा बनाउन तयारी गरेकोे टावर भन्दा खुला क्षेत्र नै आवश्यक रहेकोले यसको निर्माण रोकिनुपर्ने धारणसमेत दासको छ। खुला क्षेत्रको संरक्षण गर्नपर्ने जिम्मेवार निकाय महानगर नै व्यापारिक भवण बनाएर खुला क्षेत्रलाई नास्न लागिपरेको आरोप लगाउँदै उनले भने, 'अहिले बनेका व्यापारिक भवणहरु नचलिरहेको बेलामा व्यापारिक महल बनाउनु आवश्यक छैन।'

'कोर सिटी' भनेर चिनिने असन, इन्द्रचोक, न्युरोडमा खुला क्षेत्र नै छैन्। त्यसैगरी आसपासका त्रिपुरेश्वर, थापाथली, बागबजार, कान्तिपथलगायतका क्षेत्रमा पनि खुला क्षेत्र नरहेकोले टुँडिखेल र आसपासमा रहेका खुला क्षेत्रलाई भने कुनै प्रयोजनका लागि नास्न नहुने काठमाडौंवासीले धारणा राखेका छन्।

कोर सिटी तथा आसपासका क्षेत्रमा पनि अहिले खुला क्षेत्रहरु मासिने क्रममै रहेका छन्। केही ठाउँका सार्वजनिक जग्गा भने अतिक्रमण भईरहेको स्रोतले बतायो। केही ठाउँमा थोरै क्षेत्रफरमा रहेका खुला जमिन पनि संरक्षणको अभावमा व्यक्तिगत प्रयोग, फोहोर फाल्ने ठाउँ, गाई चराउने चौर बनिरहेका छन्।

काठमाडौं महानगरपालिकाले मिचिएका सार्वजनिक जग्गा के गर्ने भनेर योजना नबनाए पनि भएका जग्गाको लगत संकलनको काम थालेको बताएको छ। वडा स्तरमा सार्वजनिक जग्गा संरक्षण समिति गठन गरी काम अघि बढाएको महानगर प्रशासन महाशाखा प्रमुख हरि कुँवरले जनाए। उनका अनुसार बाँकी रहेका खुला क्षेत्रलाई भने महानगरले संरक्षण गर्नेछ। तर महानगरले नै खुला क्षेत्र मासेर बसपार्कमा बनाउने तयारी गरिरहेको टावर भने रोक्ने मनसायमा देखिदैन्।

प्रकाशित: १३ भाद्र २०७३ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App