८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

यांगुन – हाल बंगलादेशमा रहेका म्यानमारका रोहिन्जा शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय  समुदायले सहयोग गर्ने भएको छ।

केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्ता गर्ने सम्बन्धमा सम्झौता भएको थियो। बंगलादेश र म्यानमारबीच भएको उक्त सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ।

रोहिन्जा शरणार्थीलाई म्यानमार फिर्ता लानेबारे अन्तर्राष्ट्रिय  समुदायले गर्ने भनिएको सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिसँग मंगलबार भएको भेटवार्तापछि म्यानमाली विदेशमन्त्री एवं प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले सो सहयोगप्रति समर्थन गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। राष्ट्रसंघीय प्रतिनिधि र सुकीबीच मंगलबार भएको भेटवार्तापछि बुधबार यहाँको विदेशमन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो। ‘विदेशमन्त्री सुकीले रोहिन्जा शरणार्थी फिर्तीको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य रहेको बताउनु भएको छ,’ म्यानमाली विदेश मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै एएफपीले जनाएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिसँगको भेटमा सुकीले शरणार्थी फिर्ताको लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरक्षित रूपमा आफ्नो देश फर्किनका लागि सघाउ पुग्ने धारणा राखेको बताइएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाको बारेमा अध्ययन गरेका छन्। बंगलादेशको कोक्स बजारमा अत्यन्तै कष्टप्रद रूपमा बसिरहेका रोहिन्जा शरणार्थीहरुलाईसहायता उपलब्ध गराउनसमेत उनीहरुले दातृ राष्ट्र तथा संस्थाहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले रोहिन्जाको अवस्थामा अभैm सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै कुनै प्रगति नभएको निष्कर्ष समेत निकालेको एएफपीले जनाएको छ। रोहिन्जा मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को एक प्रतिनिधिमण्डलले गएको शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमण गरेको थियो। उक्त प्रतिनिधिमण्डलले बंगलादेश र म्यानमारका उच्च सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता एवम् परामर्श गरेका थिए। सोही परामर्शका क्रममा उनीहरुले म्यान्माली विदेशमन्त्री सुकीलाई सहयोगको आश्वासन दिएको बताइएको छ।

म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका अल्पसंख्यक रोहिन्जा हाल बंगलादेशको कोक्स बजारमा मात्र सात लाखभन्दा बढी रहेको अनुमान गरिएको छ। गएको अगष्ट २५ देखि सुरु भएको हिंसाको मात्र दुई महिनाभित्र करिब सात लाख रोहिन्जा मुसलमान म्यानमारको रखाइन राज्यबाट त्यहाँ पुगेका थिए। रोहिन्जाहरु देश छोडेर भाग्ने क्रम पछिल्लो समय पनि जारी रहेको बताइएको छ।

बंगलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसिरहेका शरणार्थीहरुसँग पनि उक्त प्रतिनिधिमण्डलले भेटेर उनीहरुका अप्ठेरा र देश छोडेर भाग्नुपर्ने कारणका बारेमा परामर्श गरेको बताइएको थियो।

केही समयअघि सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको रखाइन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको छ। सोही कारण पनि रोहिन्जा शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन्। म्यानमार सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाइ छ। तर शरणार्थीहरुको यस आरोपको म्यान्माली सैनिक प्रमुखले भने अस्वीकार गरेका छन्। उनले सेनाले नै ज्यादती गरिरहेको भन्दै आइरहेका समाचारमा कुनै सत्यता नरहेको बताएका छन्।

प्रकाशित: २० वैशाख २०७५ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App