coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

पोखरा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन तयारी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताएका छन्। उनका अनुसार मोदी दर्शन गर्न जाने मुक्तिनाथ मन्दिर परिसर अहिले धमाधम सरसफाई गरिएको छ। त्यस्तै मोदी सवार हेलिकोप्टर अवतरणका लागि पनि व्यवस्था मिलाइएको छ।

‘मन्दिर परिसर सरसफाई गरेर सजाइएको छ,’ उनले भने, ‘त्यसबाहेक हेलिकोप्टर अवतरण गर्नका लागि पनि व्यवस्था भईसकेको छ।’ प्रजिअ पौडेलका अनुुसार मुक्तिनाथ मन्दिर अन्नपुर्ण फेरोको पदमार्गमा पर्ने भएकोले पदयात्रीको आउजाउमा पनि कडाई गरिनेछ। उनका अनुसार मनाङ हुँदै थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई मोदी भ्रमणको तीनदिन अघिदेखि पदयात्रामा रोक लगाउने तयारी छ।

‘मनाङ प्रशासनसँग समन्वय गरेर तीनदिन अगाडी नै थोराङला पास पार गरेर मुक्तिनाथ ओर्लिने पदयात्रीलाई पदयात्रामा रोक लगाउने तयारी छ,’ उनले भने, ‘पदयात्रीलाई तीनदिनसम्म मनाङको चामे वा मनाङ गाउँमै रोक्न सकिन्छ। त्यसका लागि मनाङ प्रशासनसँग समन्वय गर्नेछौ।’ थोराङला भञ्ज्याङ पार गरेर ओर्लिएका पदयात्री मुक्तिनाथ मन्दिर परिसरमै पुग्ने भएकोले आउजाउमा रोक लगाउने तयारी भएको उनले बताए। त्यसबाहेक मोदी भ्रमणका दिन मन्दिर परिसरमा अरुलाइ प्रवेश गर्न नदिने तयारी पनि छ। प्रजिअ पौडेलले आन्तरिक रुपमा योजना बनाएपनि अहिलेसम्म आधिकारिक रुपमा तयारी गर्न प्रशासनलाई जानकारी आएको छैन।

मुक्तिनाथमा रहेको चौकीका प्रहरीका अनुसार मुख्य मन्दिरभित्र अहिले धमाधम सरसफाई भईरहेको छ । ‘मन्दिर वरिपरि सरसफाई चलिरहेको छ। माटो, झार फ्याक्ने काम भएको छ,’ एकजना प्रहरीले भने, ‘मन्दिरभित्रको फोहर, सरसफाई पनि ब्यापाक रुपमा भईरहेको छ।’

जनकपुर आएका मोदि हेलिकोप्टरबाट सिधै मुक्तिनाथ दर्शन गर्न पुग्नेछन्। मुक्तिनाथबाट काठमाडौं फर्किने क्रममा पोखरा विमानस्थलमा केहीबेर अवतरण गरेर हेलिकोप्टरमा इन्धन भर्न सक्ने सम्भावना भएकोले पोखरामा पनि केही तयारी भईरहेको छ। ‘रिफ्यूल’का लागि पोखरा ओर्लेपनि विमानस्थलबाट बाहिरिने छैनन् तर, मोदी भ्रमणबारे हामीलाई अझै आधिकारिक रुपमा तयारी गर्न निर्देशन जानकारी आएको छैन,’ विमानस्थल श्रोतले भन्यो, ‘तरपनि विमानस्थल व्यवस्थापन आन्तरिक तयारिमा जुटिरहेको छ।’

मोदीको भ्रमणलाई हिमालपारिको जिल्ला मुस्ताङले विशेष महत्व दिएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न वर्षेनी ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक आउने भएकोले मोदीको भ्रमणले भारतीय पर्यटनमा ठुलो महत्व राख्ने मुस्ताङिको भनाई छ। मोदी भ्रमणपछि अझै बढी भारतीय पर्यटक मुक्तिनाथ आउने र त्यसबाट मुस्ताङले आर्थिक रुपमा फड्को मार्ने मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताए।

प्रकाशित: २० वैशाख २०७५ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App