८ वैशाख २०८१ शनिबार
अर्थ

वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छ :अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनु पर्ने बताएका छन्।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआइडिसी डेभलपमन्ट बैंक लिमिटेड गाभिई एकीकृत कारोबार कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई पनि नछाड्ने प्रष्ट पारे । उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकमा एनआइडिसी  गाभिएपछि बैंक वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने विचार व्यक्त गरे।सोही अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकाले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र दुई बैंकबीच मर्ज भएपछि वित्तीय क्षेत्रमा पर्ने सकारात्मक प्रभावको बारेमा प्रष्ट पारे । उनले मर्जरपछि बैंकको एक सय ९१ वटा शाखा कार्यालय, चुक्ता पुँजी नौ अर्ब ४८ लाख, जगेडा तथा कोषहरु आठ अर्ब ३० करोड ५७ लाख, कुल सम्पत्ति एक खर्ब ८२ अर्ब ८८ करोड, कुल निक्षेप एक खर्ब ५४ अर्ब, कर्जा तथा सापट एक खर्ब, १५ अर्ब ७३ करोड र खुद नाफा तीन अर्ब १३ करोड हुनेछ।

२०१६ असार १ गते देशको औद्योगिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले एनआइडिसीको स्थापना गरिएको थियो । पछि २०७३ माघ १४ गते एनआइडिसी डेभलपमेन्ट बैक लिमिटेडलाई  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने निर्णय भएको थियो।

कार्यक्रममा सभापति रवीन्द्रप्रसाद पाण्डेले बैंकलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख चुनौती भएको जानकारी गराए । रावा बैंकका सञ्चालक एवं सयुक्त सर्जर समितिका संयोजक निर्मलहरि अधिकारीले मर्जरको सुरुवातदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी गराएका थिए । एनआइडिसी डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले मर्जर कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव राजन खनाल, सञ्ंचार सचिव एवं बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ, अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुगांना, राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंक सञ्चालक समितिका सदस्य, रावा बैंक कर्मचारी सघंका अध्यक्ष बेदबहादुर लावती, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संघठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रबन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखलगायत कर्मचारीको उपस्थिति रहेको थियो।
 

प्रकाशित: २० वैशाख २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App