७ वैशाख २०८१ शुक्रबार
समाज

आइआइटीको इन्ट्रान्स अब नेपालमै

काठमाडौं- सूचना तथा प्रविधि क्षेत्रमा विश्वकै उत्कृष्टमध्येको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी (आइआइटी)ले अब नेपाली विद्यार्थीका लागि भर्ना सहज गरेको छ। आइआइटीले नेपाली विद्यार्थीको भर्ना नेपालमै लिने व्यवस्था गरेको छ। यो व्यवस्थापछि अब नेपाली विद्यार्थीले आइआइटीमा उच्च शिक्षा अध्ययन गर्न भारतका विभिन्न सहर र आइआइटी कलेजमा इन्ट्रान्स दिनु पर्नेछैन। आइआइटीले आफ्ना कलेजमा नेपाली विद्यार्थी भर्नाका लागि इन्ट्रान्सको जिम्मेवारी नेपालस्थित भारतीय दूतावासलाई दिएको छ।

आगामी वर्षका लागि भारतीय दूतावासले नै इन्ट्रान्स सञ्चालन गरी मेरिटका आधारमा आइआइटीमा अध्ययन गर्न पाउने विद्यार्थी छनोट गर्ने छ। आइतबार दूतावासले पत्रकार सम्मेलन गरी आइआइटीकै प्राध्यापकहरूले इन्ट्रान्सबारे जानकारी गराएका हुन्।

सन् २०१७ मेमा दूतावासले स्नातकदेखि विद्यावारिधिसम्म सबै कक्षाका इन्ट्रान्स सञ्चालन गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा आइआइटी दिल्लीका प्राध्यापक नविन गर्गले बताए। 'आइआइटीमा नेपाली विद्यार्थीको भर्ना सहज बनाउन नेपालमै इन्ट्रान्स लिने तयारी गरेको हो,' आइआइटी गोहाटीका प्राध्यापक एन सेलभाराजुले भने, 'आइआइटीले छिमेकी राष्ट्रका विद्यार्थीलाई यसवर्षदेखि २० प्रतिशत कोटा लागू गरेको छ। सोहि कोटाअन्तर्गत नेपाली विद्यार्थी सहजै भर्ना हुन् भन्ने उद्देश्यले हामी यहाँ सूचना दिन आएका हौं।'

नेपालमा आइआइटी दिल्ली, गोहाटी, मुम्बई र रुड्कीका प्राध्यापकहरू अगस्ट २७–२९ सम्म बस्नेछन्। उनीहरूले नेपालमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीलाई जानकारी गराउन विद्यालय नै भ्रमण गर्ने योजना रहेको भारतीय दूतावासका डेप्युटी चिफ अफ मिसन विनयकुमारले बताए।

'आइआइटी प्राध्यापकले नेपालका डिएभी, मोर्डन इन्डियन, राई स्कुलका विद्यार्थीसँग अन्तरक्रिया गर्ने तय भएको छ,' विनयकुमारले भने, 'अगस्ट २८ र २९ मा उहाँहरू काठमाडौं विश्वविद्यालय र पुल्चोक इन्जिनियरिङ कलेजमा विद्यार्थीसँग अन्तरक्रिया गर्ने तय भएको छ।' उनले वर्षेनी २० हजारभन्दा बढी नेपाली विद्यार्थी भारतका विभिन्न शैक्षिक संस्थामा विभिन्न विषयमा उच्च शिक्षा अध्ययन गर्न जाने गरेको पनि जानकारी दिए। उनका अनुसार दूतावासले नै छात्रवृत्तिका लागि नेपालबाट विद्यार्थी छनोट गरी आइआइटीमा पठाउने छ।

आइआइटीमा इन्जिनियरिङ, मेडिकल, कृषि, नर्सिङ, व्यवस्थापन, एमटेकसहित विद्यावारिधिसम्म अध्यापन हुन्छ। स्नातकमा (बिटेक, बिएस डिग्री) अध्ययन गर्न चाहने विद्यार्थीले आइआइटीको संयुक्त इन्ट्रान्स आइआइटी जेइईमा सहभागी हुनुपर्छ भने एमटेक अर्थात् एमएस डिग्री अध्ययन गर्न चाहने विद्यार्थीले जिएटिई(गेट) उत्तीर्ण गर्नुपर्छ।

प्रकाशित: १३ भाद्र २०७३ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App