८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्ची सुन्दरीजल झर्नासाथ उपत्यकामा पानी

सिन्धुपाल्चोक –मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ।

नयाँ पाइपलाइन सञ्जाल विस्तार अन्तिम चरणमा पुग्नुका साथै पूरानो पाइपलाइनसमेत काम गर्ने हालतमा रहेकाले जति छिटो मेलम्ची सुन्दरीजल झर्छ उति नै चाँडो उपत्यकावासीको घर–घरमा रहेको धाराबाट पानी वितरण हुने देखिएको छ।

मेलम्ची आयोजनाको मुख्य संरचना २६ किलोमिटर लामो सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपछि सरकार उपत्यकावासीलाई आगामी दसैंमा उपहारस्वरुप मेलम्चीको पानी खुवाउने तयारीमा छ।
‘मेलम्चीको पानी सुन्दरीजल झर्नासाथ हामी उपत्यकावासीलाई पानी खुवाउन सक्छौं,’ लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले नागरिकसँग भने ।

उनका अनुसार पाइपलाइन विस्तार र रिजर्भ भ्वायर ( पानी संकलन ट्यांंकी) बनाउने जिम्मेवारी पाएको आयोजना कार्यान्वयन निर्देशनालयले कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । सात सय किमिभन्दा बढी नयाँ पाइपलाइन सञ्जाल विस्तार गर्नुपर्नेमा झन्डै सात सय किमि पाइप बिछ्याउने काम भइसकेको उनले बताए।

सुन्दरीजलबाट छुट्ने पानी ग्राहकको घर–घरमा वितरण गर्न विभिन्न ६ स्थानमा रिजर्भ भ्वायर बनिसकेका छन् भने थप नौवटा धमाधम निर्माण भइरहेका छन् । ‘मेलम्ची सुन्दरीजल आउने समयसम्म पाइपलाइन विस्तार र रिजर्भ भ्वायरको काम पनि सकिने छ,’ भट्टराईले भने । विस्तारित केही नयाँ पाइपलाइनको सफल परीक्षणसमेत भइसकेको उनले बताए । पानी अभावमा केही पाइपलाइनको परीक्षण हुन सकेको छैन।

पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेकाले उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर पानी वितरण नेटवर्क (सञ्जाल)ले क्रमशः जोडिइरहेको महाप्रबन्धक भट्टराईले बताए । ‘काठमाडौं र भक्तपुरमा पानी वितरण नेटवर्क तयार भइसकेको छ । ललितपुरमा लागि मात्र नेटवर्क बनेको छैन । त्यहाँ काम भइरहेको छ,’ उनले भने।

मेलम्ची सुन्दरीजल झर्नासाथ सफल परीक्षण भएका पाइपलाइन र पूरानै संरचनाबाट घर–घरमा वितरण गर्ने केयुकेएलको तयारी छ । नयाँ पाइपलाइन सञ्जाल पूरै परीक्षण गर्न भने समय लाग्ने छ । तर पाइपलाइन परीक्षण नहुँदैमा वितरण भने रोकिने छैन । ‘सुरुमा पूरानो सञ्जाल र परीक्षण भएका नयाँ पाइपलाइनबाट पानी वितरण गर्छौं,’ महाप्रबन्धक भट्टराई भन्छन्, ‘सँगै बाँकी पाइपलाइन परीक्षण हुँदै जान्छन् । क्रमशः नयाँ पाइपलाइनबाट वितरण थप्दै जान्छौं।’

उपत्यकामा खानेपानी वितरण गरिरहेको केयुकेएलका अनुसार पूरानो पाइपलाइन सञ्जाल भने तत्काल हटाइने छैन । नयाँ पाइपलाइनले पूर्णरुपमा काम गर्न थालेपछि क्रमशः पूरानो संरचना हट्ने छन् । केयुकेएलसँग अहिले एक हजार तीन सय किमि पूरानो पाइपलाइन सञ्जाल छ । त्यस्तै साना–ठूला गरी ४५ वटा रिजर्भ भ्वायर (पानी संकलन ट्यांंकी) छन् । यही संरचनाबाट अहिले उपत्यकावासीको घर–घरमा पानी वितरण भइरहेको छ।

गत चैत अन्तिम साता मुहानस्थल हेलम्बुको अम्बाथान–सुन्दरीजल जोड्ने मेलम्ची सुरुङ छेडिएको थियो । त्यहाँ अहिले ढलान र फाइनल फिनिसिङ गर्ने काम भइरहेको छ । मेलम्ची आयोजनाका अनुसार हालसम्म झन्डै चार किमि सुरुङ ढलान भइसकेको छ । ढलानसहित सुरुङको सबै काम सक्न चार महिना समय लाग्ने आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । ‘भदौ सुरुमा मेलम्ची पानी सुन्दरीजल झर्ने बलियो सम्भावना छ,’ उनले भने।

उनका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा लगिने छ । सुन्दरीजल आउने पानी सुरुआती संकलन र उपचार गर्न त्यहाँ दुइटा प्रशोधन केन्द्र हुनेछन् । साढे आठ करोड लिटर क्षमताको एउटा प्रशोधन केन्द्र तयार भइसकेको छ भने त्यति नै क्षमताको अर्को निर्माण अन्तिम चरणमा पुगेको छ । प्रशोधन केन्द्र निर्माणमा आयोजनाको मुख्य दाता एसियाली विकास बैंक (एडिबी) र जाइकाले आर्थिक सहयोग गरेका हुन्।

एडिबी आयोजनाको मुख्य दाता हो । नयाँ पाइपलाइन सञ्जाल विस्तार पनि एडिबीकै सहयोगमा भइरहेको हो । मेलम्ची उपत्यकावासीको दुई दशक लामो सपना हो । केयुकेएलका अनुसार उपत्यकामा झन्डै ३५–४० लाख उपभोक्ता (जनसंख्या) छन् । दुई लाख १३ हजार धाराबाट उनीहरुले खानेपानी उपभोग गरिरहेका छन् । मेलम्ची आएपछि उनीहरुले खानेपानीमा थप सुविधा पाउने छन्।

उपत्यका (तीन जिल्ला)को मात्रै जनसंख्या २६ लाख छ । नौदेखि १४ लाख अस्थायी जनसंख्या रहेको अनुमान गरिएको छ । महाप्रबन्धक भट्टराई उपत्यकामा हाल दैनिक ४० करोड लिटर पानीको माग भइरहेको छ । तर बर्खामा १५ करोड र हिउँदमा १० देखि ११ करोड लिटर पानी मात्र वितरण सम्भव भएको छ । झन्डै ४० प्रतिशत पानी चुहावट भइरहेको उनले जनाए।

मेलम्ची पुगेपछि उपत्यकामा बर्खामा दैनिक ३२ करोड र हिउँदमा झन्डै २७ करोड लिटर पानी उपलब्ध हुने छ । मेलम्ची पुग्दैमा उपत्यकाको खानेपानी समस्या पूर्णरुपमा अन्त्य हुँदैन । ‘पुरानो स्रोतमा मेलम्चीको १७ करोड लिटर पानी थप्दा र हालको चुहावट रोक्दा अहिलेको खानेपानी हाहाकार धेरै हदसम्म अन्त्य हुन्छ,’ भट्टराईले भने । नयाँ पाइपलाइन सञ्जालले चुहावट रोक्ने भएकाले पनि न्यूनतम खानेपानी उपलब्ध गराउन सकिने अवस्था आउने उनी बताउँछन्।

केयुकेएलले हाल उपत्यकाका विभिन्न सहरलाई विभिन्न क्लस्टरमा बाँडेर साताको एक पटक केही घन्टा पानी बाँड्दै आएको छ । महाप्रबन्धक भट्टराईका अनुसार मेलम्ची आएपछि प्रत्येक घरका धारामा दैनिक चार घन्टासम्म पानी छोड्न सकिने छ।

उपत्यकावासीको खानेपानी समस्या दीर्घकालीन रुपमा हल गर्न मेलम्ची आयोजना–२ अन्तर्गत लार्के र यांग्री खोलासमेत एउटै सुरुङमा लैजाने सरकारको तयारी छ । यी खोलाबाट १७–१७ करोड लिटर पानी थपेपछि उपत्यकामा दैनिक ५१ करोड लिटर पानी पुग्ने छ । मेलम्ची मुहान अम्बाथानबाट उत्तर–पूर्व साविक भोताङ गाविस भएर बहने यी खोला थप्न स्पेनी कम्पनी इप्टिसाले विस्तृत डिजाइन अध्ययनको काम थालिसकेको छ।

मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले लार्के, यांग्री उपआयोजना–२ का लागि आर्थिक लगानी गर्न मेलम्चीकै मुख्य दाता एडिबीसँग छलफल भइरहेको छ । ‘एडिबी लगानी गर्न सकारात्कम छ । छलफल निकै अघि बढिसकेको छ,’ उनले भने।
 

प्रकाशित: २० वैशाख २०७५ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App