८ वैशाख २०८१ शनिबार
अर्थ

औद्योगिक व्यापार मेलामा १५ करोडको कारोबार

काठमाडौं– १५ करोडको कारोबार गर्दै १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला मंगलबार सम्पन्न भएको छ । मेला एक लाख ९० हजारले अवलोकन गरेका छन्।

राजधानीमा चलिरहेको नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबार भृकुटीमण्डपमा सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो ।

मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताइन् । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकायमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिए।

समापन समारोहमा उत्कृष्ट बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अर्गानिक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेन्ड फेल्ट क्राफ्ट, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एन्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्वारा सम्मानित गरिएको थियो।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभरका झन्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको बताए ।नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी गर्दै आएको महासंघले गत वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न थालेको हो।

नेपालका ७५ वटै जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा दुई सय ५० वटा स्टल थिए।
नेपाल घरेलु तथा साना उद्योग महासंघ आयोजक रहेको मेला सह–आयोजकमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन थिए । अन्य सरकारी निकाय तथा गैरसरकारी संघ–संस्था प्रवद्र्धक र सहयोगी थिए ।
 

प्रकाशित: २० वैशाख २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App