coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छानविनमा परेका निर्देशकलाई जिम्मेवारी

काठमाडौं– दोहोरो नागरिकता लिएको भन्दै छानबिनमा परेका समाज कल्याण परिषदका निर्देशक शिवकुमार बस्नेतलाई थप जिम्मेवारी दिइएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले दोहोरो नागरिकता लिएको भन्दै छानविनको दायरामा तानिएका निर्देशक बस्नेतलाई थप जिम्मेवारी दिएकी छिन्। 

अन्य कर्मचारीले लिदै आएको जिम्मेवारीसमेत खोसेर मन्त्री थापाले निर्देशक बस्नेतलाई थप जिम्मेवारी दिएपछि परिषदमा असन्तुष्टी बढेको छ। गत वैशाख ७ गते नागरिकताका बारेमा परेको उजुरी छानविन भइरहेको वेला परिषदका निर्देशक वस्नेतलाई योजना तथा प्रशासन शाखाको थप जिम्मेवारी दिएकी हुन्।

‘नागरिकतामा छानविन भइरहेको भए पनि अनुसन्धान टुंगिसकेको होइन, अनुसन्धान नटुंगिएसम्मलाई वस्नेतजीलाई जिम्मेवारी दिएको हुँ, अनुसन्धान सकिए पछि आवाश्यक कारवाही गरुला’, मन्त्री थममाया थापामगरले भनिन्।

मन्त्री थापाले यसअघि प्रशासन शाखामा रहेकी भगवती संग्रौंलालाई विना विभागीय बनाई दिएकी छिन। ‘जसको नागरिकताका बारेमा छानविन हुदैँछ, त्यसैलाई नागरिकताजस्तो कर्मचारीको विवरण राख्ने कक्षको जिम्मेवारी दिइएको छ,’ परिषद स्रोतले नागरिकसँग भन्यो, ‘छानविन गर्नुपर्ने व्यक्तिलाई थप जिम्मेवारी दिएर मन्त्रीज्यूले ढाडस दिनु भएको छ, यो आश्चर्य लागेको छ।’ 

यस बारेमा जिज्ञासा राख्न खोज्दा मन्त्री थापाले सबै विभागीय प्रमुखलाई जिम्मेवारी बाँडफाँड र सरुवा गर्ने कार्य गरिएको बताए। ‘बस्नेतजीको नागरिकता छानविन भइरहेको भएपनि अनुसन्धान टुंगिसकेको अवस्था छैन, अनुसन्धान टुंगिएपछि आवश्यक निर्णय लिऊम्ला’, मन्त्री थापाले नागरिकसँग भनिन्, ‘तर, समाज कल्याणभित्र आर्थिक अनियमितता र अनुशासनहिनताको गुनासो आएपछि सबैलाई जिम्मेवारी हेरफेर गरिदिएको हुँ।’ उनका अनुसार नागरिकता सम्बन्धी अनुसन्धान नटुंगिसकेकाले जिम्मेवारी दिइएको हो। 

उनका अनुसार निर्देशक बस्नेतको दुईवटा नागरिकता रहेको र पहिलो नागरिकता अनुसार अवकाश पाइसक्नुपर्ने व्यक्ति दोस्रो नागरिकता अनुसार पद बहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए। 

योगीको उजुरीमा निर्देशक बस्नेतले तत्कालिन सुनाकोठी गाविसवाट दुईवटा नागरिकता लिएको प्रमाणको प्रतिलिपि राखिएको छ। झुटो नागरिकता विवरण बनाएर एक बर्ष बढी जागिर खान खोजेको आरोप लगाउँदै योगीले छानविनको माग गरेका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालयले ललितपुरले निर्देशक बस्नेतलाई बोलाएर सोधपुछसमेत गरिसकेको छ। 

गत वैशाख ७ गते दर्ता भएको उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय, ललिपुरले ४७७२ नम्वरमा दर्ता गरेर आवश्यक कारवाही अघि बढाएको छ। उजुरीमा उल्लेख भए अनुसार बस्नेतले सुरुमा लिएको नागरिकता प्रमाणपत्रको नम्बर १२६९/०३५/३६ रहेको छ भने अर्को नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा भने २/२०५ नम्वर उल्लेख गरिएको छ। 

निर्देशक बस्नेतले नागरिकतामा दुईवटा नम्बर मात्रै होइन, प्रतिलिपि वनाउँदासमेत जन्ममिति पनि एक बर्ष घटाइएको उजुरीमा उल्लेख गरिएको छ। जसअनुसार ०३५ साल चैत २८ गते नागरिकता लिदाँ सो नागरिकतामा १८ बर्ष उमेर खुलाइएको देखिन्छ भने दोस्रो पटक २०४४ माघ ११ गते प्रतिलिपी बनाउँदा भने १०१८ असार १५को मिति राखिएको छ।
तत्कालिन प्रधानन्यायधीश गोपालप्रसाद पराजुली सोही फरक फरक जन्ममितिका कारण बर्खास्त भएझै निर्देशक बस्नेतलाई पनि बर्खास्त गर्नुपर्ने माग योगीले राखेका छन्। तर, बस्नेतले भने आफनो पूर्ण मिति खुलेको नागरिकतामात्रै आधिकारिक भएको जिकिर गदै आएका छन्।

‘पहिलाको नागरिकता हराएपछि पुनः अर्को नागरिकताको प्रतिलिपि लिएको थिएँ, त्यसमा पूर्ण मिति उल्लेख छ, त्यो नै जताततै प्रयोग भएको छ,’ निर्देशक बस्नेतले नागरिकसँग भने, ‘मेरा विरुद्ध लाग्नेहरुले यो उजुरी दर्ता गराएका हुन्, यसका बारेमा मैले सिडियो कार्यालयमा पनि जानकारी गराई सकेको छु।’ पहिलो नागरिकताको आधारमा ५८ बर्ष लागि सकेका हुनाले जागिरको समयसिमा सकिएता पनि नयाँ नागरिकताको आधारमा भने निर्देशक बस्नेत अझै फागुन १५ सम्म निर्देशक पदमा रहिरहने छन्।

प्रकाशित: १९ वैशाख २०७५ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App