coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिकै हातबाट 'एनजीओ'को धर्म प्रचार!

दोलखा– विद्यालय उद्घाटन गर्न डाँकिएका उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी कार्यक्रममै आयोजकले उनैको हातबाट धर्म प्रचारका सामग्री वितरण गराएको छ। 

जिल्लाको शैलुङ् गाउँपालिका ८ स्थित शैलुगेश्वरको भैंसेमा बिद्यालय भवन बनाएको ‘दयाका हातहरु’ नामक एउटा गैरसरकारी संस्थाले भवन उद्घाटन गर्न आमन्त्रण गरिएका उपराष्ट्रपतिकै हातबाट धर्म प्रचारका सामाग्री बालबालिकालाई वितरण गराएको हो। 

नेपाली सेनाको हेलिकप्टरबाट आफ्नी श्रीमती, सुरक्षाकर्मी, माओवादीका एक स्थायी कमिटी सदस्य र एक टेलिभिजन प्रस्तोतासहित मंगलबार बिहान १२ बजे कार्यक्रमस्थल झरेलगतै उपराष्ट्रपति पुनले नवनिर्मित बिद्यालय भवनको उद्घाटन गरेका थिए। लगतै भवनसँगै बनाइएको मञ्चमा औपचारिक कार्यक्रम शुरु भएको थियो। कार्यक्रमको अध्यक्षता उक्त गैरसकारी संस्थाकै अध्यक्ष बेनीबहादुर कार्कीले गरे। स्वागतका लागि गाउँपालिका अध्यक्ष भरत दुलाललाई बोलाइयो। गाउँपालिकाको ८ नम्बर वडा भरीका बिद्यालयबाट बिद्यार्थीलाई कार्यक्रममा उतारिएको थियो। 

कार्यक्रमका मुख्य अतिथि उपराष्ट्रपति पुनले बोल्नुअघि एउटा नृत्य प्रस्तुत गरिएको थियो भने गैरसरकारी संस्थाका प्रतिनिधिले बोलेका थिए। सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले भूकम्पपछि भत्किएका निजी घर र शैक्षिक संस्थाहरुको छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्ने बताए। 

सम्बोधन सकिएलगत्तै मञ्चमा रहेका आयोजकहरुले खासखुस शुरु गर्न थाले र काठमाडौंबाट लगिएकी कार्यक्रम सञ्चालिकालाई माइक मागेर गैरसकारी संस्थाका प्रतिनिधि आफैंले उपहार बाड्ने कार्यक्रम भन्दै वडाभरीका बिद्यालयका बालबालिकालाई अगाडि डाक्न शुरु गरे। उपराष्ट्रपतिका सुरक्षाकर्मीले तालिकाभित्र नरहेको कार्यक्रम किन बीचमा घुसाएको भनेर प्रश्न गरेपछि सामान्य शैक्षिक सामाग्री हो भनी जवाफ दिएलगतै प्रतिनिधिमुलक बालबालिकालाई उपराष्ट्रपति पुनले शैक्षिक सामग्री भन्दै प्याकेट बाड्न थाले। वडाभरीका ८ वटा बिद्यालयका सबै बिद्यार्थीलाई बाड्ने घोषणा गरिएको उक्त प्याकेट उपराष्ट्रपतिले बाँडेलगत्तै बोकेर फर्किएका बालबालिकासंग बिद्यालयका शिक्षक र स्थानीयले मागेर खोलेका थिए। उक्त प्याकेटहरु खोल्दा कापी कलमसँगै क्रिश्चियन धर्मका प्रचार सामग्रीहरु भेटियो।

‘क्रिश्मस र क्रिश्चियन धर्म सम्बन्धीका प्रचार सामग्री भेटिएपछि स्थानीयले गाउँपालिका प्रमुख दुलाललाई वितरण रोक्न माग गरे। दुलालले गाउँपालिकाले रोक्ने आश्वासन दिए। एक बर्षअघि पनि शारदा माविमा संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारभित्र बाइबल र धर्म सम्बन्धि सामग्री राखेर वितरण गरिएको स्थानीयले बताए। 

समापनका क्रममा सिङ्गापुर रेडक्रसको सहयोगमा २ करोड ५० लाख खर्च गरेर भवन बनाएको जानकारी गराएका आयोजक संस्थाका अध्यक्ष बेनी बहादुर कार्कीले भूकम्प लगत्तै स्थानीय चर्चको आह्वानमा राहत वितरण गरेको प्रसंग कोट्याउँदै त्यसैको श्रृंखला अन्तर्गत विद्यालय भवन पनि निर्माण गरेको बताएका थिए। 

समापनपछि उपराष्ट्रपति मञ्चमै रहेको बेला आयोजक संस्थाका कर्मचारीले एउटा खेलसहितको नाँच प्रस्तुत गरेका थिए। बालबालिकालाई रमाइलो गराउन भनेर प्रदर्शन गरिएको नाँचका क्रममा कर्मचारीले पटक पटक ‘प्रभु’ को नाम लिएका थिए। 

बिद्यालयलाई वास्तै नगरी एकलौटी कार्यक्रम

विदेशी दाताहरुले बनाउने यस्ता विद्यालय हस्तान्तरण गर्दा प्रायः स्थानीय समुदायकै अपनत्व हुने गरी उनीहरु मार्फत नै हस्तान्तरण गर्ने चलन भएपनि मंगलबार दोलखाको शैलुङमा भने फरक दृश्य देखियो। कार्यक्रम र स्टेज सबैतिर गैरसरकारी संस्थाकै हालीमुहाली। ‘यो त उहाँहरुको केही उद्देश्य पुरा गर्नका लागि मात्र भवन बनाएर उद्घाटन गरेको जस्तो देखियो’ एक स्थानीयले भने। 

बालबालिकालाई वितरण गरिएको सामानमा भेटिएको धर्मप्रचार सामग्री ।

विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर थपलियाले कार्यक्रम सञ्चालन शैली देखेर विद्यालय परिवारलाई खल्लो लागेको सुनाए। ‘विद्यालय व्यवस्थापन समिति र परिवारलाई वेवास्ता गरेर त्यसरी गर्नुहोला भन्ने लागेको थिएन’, उनले नागरिकसंग भने– ‘उहाँहरुको शैली र तरिका देखेर अभिभावकदेखि बिद्यालयका सबै कर्मचारी र शिक्षक शिक्षीकालाई खल्लो लाग्यो।’ 

गलत उद्देश्य देखेकाले रोक्यौं

गाउँपालिकाका अध्यक्ष भरत दुलालले मंगलबारको कार्यक्रममा आयोजक गैरसरकारी संस्थाको गलत उद्देश्य देखेपछि उपहार वितरण रोकेको जानकारी दिए। ‘विद्यालय व्यवस्थापन समितिसंग छलफल नै नगरी देशको त्यती ठूलो भिभिआइपी सहभागी कार्यक्रममा गलत उद्देश्यले कलिला नानीहरुलाई उपहार बाड्न थालेपछि त्यहीँ रोकेका हौं’ उनले भने– ‘अरु विद्यालयमा समेत बाड्ने जुन उद्देश्य राख्नु भएको छ, त्यसलाई पूर्ण रुपमा रोकेर नसच्चिए कारबाही गर्छौ।’ 

‘सेड्युल’ मै नरहेको कार्यक्रम नियतबस बिचमा घुसाए 

उपराष्ट्रपति पुनसगैं हेलिकप्टरमा शैलुङ पुगेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्कीले पूर्वनिधारित कार्यक्रम तालिकालाई छलेर बीचमा धर्म प्रचारका सामग्री बाँडिएको जानकारी दिए। ‘त्यो कुरा ‘सेड्युल’ भित्रै थिएन’, उनले भने– ‘बीचमा साना नानीहरुलाई कापी र कलम बाड्ने कार्यक्रम हो भने तर त्यसभित्र धर्म प्रचारका सामान रहेको कुरा मैले पनि पछि थाहा पाए।’ कार्कीले उक्त सामग्रीबारे उपराष्ट्रपति अनभिज्ञ रहेको जानकारी दिए। कार्कीले आयोजकहरुको निमन्त्रणामा उपराष्ट्रपति कार्यालयसंगको समन्वयमा कार्यक्रम टुङग्याएको र कार्यक्रम तालिका आयोजक र कार्यालयले बनाएको बताए। 

‘धर्म प्रचार गरेकै छैनौं’ 

संस्थाका व्यवस्थापक शान्तकुमार भण्डारीले देशका उपराष्ट्रपतिलाई सहभागी गराएर धर्म प्रचार नगरेको दाबी गरे। बालबालिकालाई वितरण गरिएको उक्त सामान विदेशबाटै ल्याइएको र गत क्रिश्मसमा बालबालिकाहरुले संकलन गरेका कारण मेरी क्रिश्मस लेखिएको कार्ड त्यसभित्र रहेपनि त्यसको गलत उद्देश्य नरहेको सुनाए।  

उनले २ देखि १६ बर्ष सम्मका बालबालिकालाई शैक्षिक सामाग्री सहितको बाकस वितरण गर्ने कार्यक्रम यसअघि नै स्वीकृत लिएर भएको सुनाए। ‘हामीले जिल्ला शिक्षा कार्यालयसंग स्वीकृती लिएरै यो कार्यक्रम निर्धारण गरेका हौं’ उनले नागरिकसंग भने– ‘कुनै गलत स्वार्थ राखेर बीचमा घुसाइएको हैन।’ उनले उक्त बक्स गाउँभरीका २ हजार बालबालिकालाई वितरण गर्न ल्याइएको र मंगलबार नमुनाका रुपमा ८ जना बालबालिकालाई मात्र उपराष्ट्रपतिको हातबाट वितरण गरिएको सुनाए। भण्डारीले बाकसमा शैक्षिक सामाग्री र खेलौना रहेको बताए।

प्रकाशित: १९ वैशाख २०७५ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App