४ वैशाख २०८१ मंगलबार
राजनीति

‘आपसमा भागबण्डा मिलाउन नसक्ने अनि अदृश्य शक्तिले एकता भाँड्न खोज्यो भन्ने ?’

पाल्पा– नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतन्त्रमाथि खतरा निर्वाचनबाट निर्वाचित भएर आएको सरकारबाटै सुरु भएको बताएका छन्। उनले यो वा त्यो नाममा लोकतन्त्रलाई साँधुरो बनाएर लोकतन्त्र खतरामा पार्ने काम भैरहेको भन्दै कांग्रेस चनाखो रहेको बताएका हुन्। 

‘हामी निर्वाचनको मतलाई मान्छौं। आवश्यकता परेको बेला प्रतिरोध गर्छौं। निर्वाचित व्यक्तिबाट कहिँ न कहिँ लालसा छ भने, कहाँ न कँही भोक छ भने त्यो भोकले बिस्तारै बिस्तारै लोक रिज्याईंको माध्यमबाट अधिनायकवादी चिन्तनतर्फ डो-याएर लान्छ। त्यसैले हामीलाई गम्भीर आशंका छ। जुन खालको परिवेश निर्माण गर्न खोजिएको छ। लोकतन्त्रलाई साँधुरो बनाइँदै छ,’ थापाले भने। कम्पनी खाले जस्तो गरेर एमाले पार्टीले सरकारको स्रोत र साधनको चरम दुरुपयोग गर्ने, अरुलाई आरोप लगाउने र दुई पार्टीको एकता अरुको टाउको दुःखाईको विषय नभएको भन्दै पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न समेत थापाले चेतावनी दिएका छन्।

बुधबार तानसेनमा पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता थापाले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने अनि अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु भ्रमको खेती गरेको बताएका हुन्। ‘एमाले सरकारमा हुने र नहुने कुरासँग यसका लाखौं शेयरहोल्डरको निजी जिन्दगी प्रभावित हुन्छ। हामी बोलीचालिमा भन्छौं, एनजीओ, स्कुल, माईक्रोफाईनान्स, स्कुल, सहकारी एमालेले चलाउँछ। यो आँफै चलेको होइन, यो एउटा फेनोमेनममा छ। राज्यको स्रोत ढुकुटीको दुरुपयोग गर्ने कुरामा उहाँहरु पोख्त हुनुहुन्छ,’ उनले भने, ‘त्यसकारण कांग्रेसका चुनाव लडेका नेताहरुमा जिम्मेवारी थपिएको छ, सूचना संकलन गर्नु र जनतामा ल्याउनु। हामी त्यसका लागि सचेत छौं।’ 

एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय भएको र यसमा आफूहरुलाई कति पनि चासो नभएको स्पष्ट पार्दै थापाले अगाडि भने– उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ। आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के–के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो।’ 

युवा नेता थापाले कांग्रेसका चुनाव लडेका नेताहरुलाई गाउँमै रहेर जनताको काम गर्नुपर्ने बताए।  कांग्रेस प्रदेश ५ का सांसद तथा जिल्ला सभापति वीरबहादुर रानाले कांग्रेस पनि संघीय संरचनामा जानु आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित: १९ वैशाख २०७५ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App