coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

समृद्धिको खोजीमा स्थानीय सरकार

जुम्ला – पछिल्लो समयमा सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति गराउनको लागि  स्थानीय सरकारले समृद्धिको खोजी गर्न थालेका छन्। गाउँपालिका भित्र रहेका आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय संभावनालाई उजागार गर्न रणनीतिक योजना तर्जुमामा जुटेका हुन्। 

जिल्लाको तिला गाउँपालिकाले दीर्घकालीन योजना तर्जुमाका लागि सर्वपक्षिय, सर्वदलिय भेला गराएर योजना तर्जुमाका लागि सुझाव संकलन गर्न सुरु गरेको छ। सबै क्षेत्रमा सम्भावनाहरू छन, गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने, सम्भावनाहरूको सुन्दर माला बनाउन जरुरी छ। सुन्दर माला बनाएर गाउँपालिकालाई सिंगार पटार गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो।

संघियता कार्यन्वयन भएसँगै सबै अधिकार गाउँमा आइसकेको बेला सबैले समृद्धिको सपना देख्न सक्नु पर्दछ। उनले भने, दीर्घकालीन, अल्पकालीन र मध्यकालीन योजनाको वर्गीकरण गरेर रणनैतिक योजना निर्माणमा गाउँपालिका जुटेको छ। आगामी पाँच वर्षमा गाउँपालिकाको विकासको स्वरुप बदल्ने गरि योजना निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका स्थित, राजनैतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी कार्यालय, महिला अधिकारकर्मी, बालक्लब, युवाक्लब, अपांगता भएका व्यक्ति र सञ्चारकर्मीहरूको भेला गराएर समृद्धि सपनाको खाका कोर्न थालिएको हो।

परम्परागत विकास प्रणालीले गाउँमा खासै परिवर्तन ल्याएको पाइएको छैन,अध्यक्ष योगीले भने, नयाँ संरचनासँगै नयाँ विकास योजनाको खाका बनाउन गाउँपालिकाले पहल गरिरहेको छ। आगामी आर्थिक वर्षमा सबैले माग गरेका र आवश्यकता ठानेका योजनाले प्राथमिकता पाउनेछन। समावेशी विकासको खाका तयार हुने छ। कसैले विकास नपाएको अनुभूति गर्ने छैनन्। उपाध्यक्ष विष्णु बुढा टुक्रे योजनाले विकासको अनुभव नहुने भएकोले दीर्घकालीन गौरवका आयोजनाको खोजी भइरहेको बताइन। उनले भनिन, सिंहदरबार गाउँमा आएको अनुभूति गर्न योजनाबद्ध विकास रणनीतिक योजनाको जरुरत छ।

कोही नदोहोरिउन, कोही नछुटुन र दीर्घकालीन रुपमा योजना टिकेको देख्न पाउने गरी रणनीतिक योजना निर्माण हुन लागेको हो। जिल्लाका एक नगरपालिका सहित सात वटा गाउँपालिकामा दीर्घकालीन रणनीतिक योजना निर्माणमा जुटेको तिला गाउँपालिका पहिलो हो। गाउँपालिकामा त्रिवणीधाम पर्यटकीय गन्तव्यका रुपमा रहेको छ। नदै गुफा धार्मिक पर्यटनको एक बिन्दु मानिन्छ। तिला नदी व्यर्थै बगेको छ। स्याउ, सिमी, आलु, फापरको सम्भावना युक्त क्षेत्र तिला गाउँपालिका हो। उपाध्यक्ष बुढाले भनिन, सम्भावनालाई टिपेर सुन्दर माला उन्ने पक्षमा गाउँपालिका रहेको छ।

गाउँपालिकाको समृद्धिको लागि राजनैतिक, नागरिक, समाज, सञ्चारकर्मी सबैले साथ दिएका छन्। दीर्घकालीन रणनीतिक योजना बनाउनका लागि गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन्। विश्व खाद्य कार्यक्रम, सिडिपी, क्याड नेपाल र प्लान इन्टरनेश्नल नेपालले दीर्घकालीन रणनीतिक योजना निर्माणमा सघाउ पुर्याएको गाउँपालिका कार्यालय तिलाले जनाएको छ। दीर्घकालीन रणनितीक योजना तर्जुमाका लागि आयोजित कार्यशालामा ७० भन्दा बढिको सहभागिता छ।

प्रकाशित: १९ वैशाख २०७५ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App