७ वैशाख २०८१ शुक्रबार
समाज

अज्ञात समूहबाट केरा खेती नष्ट

केराको बोट काटेर नष्ट गरिएको बगान।तस्बिर /नागरिक

चितवन– कालिका नगरपालिका–६ भटेनीमा गरिएको केरा खेती अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ । कालिका नगरपालिकाका–१२ का किसानले लगाएको करिब तीन हजार केराका बोट काटेर नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

घटना सोमबार रातिको हो । फल लागेका र लाग्ने क्रममा रहेका तीन हजारभन्दा बढी बोट काटिएका छन् । कोपिला दाहालको बगानमा सबैभन्दा बढी क्षति पुगेको छ । उनको बगानमा १२ सय हाराहारी बोट काटिएका छन् । शोभा भट्टको बारीमा ६ सय हाराहारी र झलक सुवेदीको बगानमा तीन सय हाराहारी बोट काटिएको पन्तले जानकारी दिए।त्यस्तै, नवराज धितालको बारीमा एक सय ५०, शंकर अम्गाईंको दुई सय ५०, गोपी लामिछानेको करिब दुई सय, लिला पंगेनीको एक सय ५०, पूर्णबहादुर खड्काको एक सय, देवीप्रसाद गोतामेको ५०, ध्रुव आचार्यको ३५, गोविन्द दाहालको ५०, भूमिनन्द दवाडीको १२ बोट केरा काटिएको पन्तले बताए।

केरा नष्ट गर्ने समूहको पहिचान भएको छैन । फलेका केराका थामको बीचमा काटिएको छ । ‘यस्तो घटना सुनियोजित नै हो,’ उनी भन्छन्, ‘पूर्वयोजनाबिना यति धेरै संख्यामा क्षति गर्ने काम हुँदैन।’

केरा खेती गर्ने प्रमुख जिल्लामध्येमा पर्छ– चितवन । चितवनको पूर्वी क्षेत्रलाई केराको पकेट क्षेत्र मानिन्छ । एउटा बोटबाट किसानले कम्तीमा पाँच सय रुपैयाँसम्म आम्दानी गर्छन् । सो रकमलाई आधार मान्दा किसानको १५ लाख रुपैयाँ बराबर नोक्सानी भएको छ।

गत साता भटेनी क्षेत्रबाट लागू पदार्थ सेवन गरिरहेका केही युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाको समूहले नै केरा खेती नष्ट गरिएको आशंका किसानको छ । घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र किसानलाई क्षतिपूर्ति भराउनुपर्ने अध्यक्ष पन्त बताउँछन् । स्थानीय तह, प्रशासन, प्रहरी सबैलाई घटनाबारे जानकारी दिएर ध्यानाकर्षण गराइएको उनले बताए । दोषी पहिचान गरेर कारबाही गर्न किसानले प्रहरीमा उजुरी गरेका छन्।

 

प्रकाशित: १९ वैशाख २०७५ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App