काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ।
लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।
प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो। बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने महासचिव महरले बताए।
सांसद भएपछि अध्यक्ष लामाले कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएका छन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने बताइएको छ।
विसं २०७२ फागुनमा भएको २२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने महासचिव महरले बताए। बैठकले नयाँ नेतृत्वसमेत चयन गर्ने छ।
प्रत्येक दुई वर्षमा अखिलको महाधिवेशनको व्यवस्था गरिएको छ। अखिलमा अहिले १५४ जनाको केन्द्रीय कमिटी रहेको छ।
प्रकाशित: १९ वैशाख २०७५ ०४:४१ बुधबार