७ वैशाख २०८१ शुक्रबार
कला

‘घुर्नाको अर्को दिन आउँछ’

उपन्यास ‘काठमाडौंमा एक दिन’की लेखक शिवानीसिंह थारु (बायाँ) र ‘करोडौं कस्तुरी’ का लेखक अमर न्यौपाने (दायाँ) सहजकर्तासँग ।तस्बिरः केशव/ नागरिक

कोहलपुर –‘काठमाडौंमा एक दिन’ उपन्यासकी लेखक शिवानीसिंह थारुलाई अहिले धेरैजसो सोधिने प्रश्न हो, ‘घुर्नाको अर्को दिन आउँछ कि आउँदैन ?’ मंगलबार कोहलपुरमा आयोजित एकदिने घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा सहभागीले उनलाई यही प्रश्न दोहोर्‍याए । यसअघि सुर्खेत र धनगढीमा आयोजित कार्यक्रममा पनि सहभागीले यही प्रश्न गरेको लेखक थारु बताउँछिन्।  

मधेस आन्दोलन, सशस्त्र विद्रोहमाथि लेखिएको ‘काठमाडौंमा एक दिन’ उपन्यासको मुख्य पात्र हो, घुर्ना । यो उपन्यास पढेका पाठकलाई घुर्नाको अर्को दिन आउँछ कि आउँदैन भन्ने प्रश्नले घोचिरहन्छ । शिवानी भन्छिन्, ‘पाठकको माया पायो भने पक्कै पनि घुर्नाको अर्को दिन आउनेछ।’

कार्यक्रममा शिवानीले मधेश र तराईमा थुप्रै तर, फरक फरक समस्या रहेको बताइन् । ती समस्या अझै पनि ज्यूँका त्यूँ नै रहेको उनको भनाइ छ । यस्तै समस्याका बीचबाट निस्किएको आक्रोशले उपन्यास जन्माएको उनले बताइन् । ‘म जति आक्रोशित छु, त्यो भन्दा बढी उपन्यासको पात्र आक्रोशित छ,’ उनले भनिन्, ‘उपन्यास लेख्न बस्दा मलाई पात्रले चलाउँछ न कि मैले।’

कार्यक्रममा सहजकर्ताले सञ्चारकर्मीसमेत रहेकी उनलाई सञ्चार क्षेत्र छाड्नुको कारणबारे सोधे । ‘धेरैले माओवादीले बन्धक बनाएपछि सञ्चार क्षेत्र छाडेको भन्छन्,’ उनले भनिन्, ‘तर त्यसो होइन, पढाइको सिलसिलामा रिसर्च गर्नुपर्ने भएकाले मिडिया छाडेको हुँ ।’ शिवानीले आफूलाई पुरानो बाँकेको कथाका विषयमा लेख्न मन लागेको बताइन् । बाँके घर भएकी उनले आफूले भोगेका कुराहरुलाई उपान्यासमा उतार्ने बताइन्।  

अर्का लेखक अमर न्यौपानेले लेखकले वास्तविकता देखाउने बताए । तर, न्याय दिने काम लेखकको नभएको धारणा राखे । उनले करोडौं कस्तुरी, सेतो धरतीलगायतका उपन्यासका बारेमा पनि सहभागीलाई बताए । पहिले कथा प्रकाशन गर्न लाज मान्ने उनी अहिले निकै चर्चामा छन् । उनले चाँडै कर्णाली क्षेत्रका विषयमा लेखेको उपान्यास बजारमा आउने बताएका छन् । ‘ड्राफ्ट तयार भइसकेको छ,’ उनले भने, ‘बजारमा आउन दुईतीन महिना लाग्ला।’

फाइनप्रिन्ट फिभरमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरू मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानीसिंह थारु, अमर न्यौपाने, यज्ञश, नयनराज पाण्डेलगायत छन् ।

 

प्रकाशित: १९ वैशाख २०७५ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App