८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नेतान्याहु ‘कुख्यात मानिस’ भएको इरानको आरोप

तेहरान– इरानको गोप्य आणविक हतियार कार्यक्रमबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लगाएको आरोपलाई लिएर इरानले उनी ‘कुख्यात जाली मानिस’ भएको आरोप लगाएको छ।

इरानको गोप्य आणविक कार्यक्रमबारे इजरायली प्रधानमन्त्री नेतान्याहुले लगाएको आरोपलाई लिएर पश्चिमा शक्तिबीच मतविभेद भएको छ । उनको यस्तो आरोप सन् २०१५ मा विश्वका ६ वटा शक्तिशाली राष्ट्र र इरानबीच भएको आणविक सम्झौताबाट हात झिक्नेबारे अमेरिकाले निर्णय लिन लागेको केही दिन अगाडि आएको छ।

इजरायली प्रधानमन्त्रील सार्वजनिक गरेको केही विवरण सन् २००२ मै बाहिरिसकेको सूचना भएको भन्दै इरानसँग गरिएको सन् २०१५ को आणविक सम्झौतालाई कायम राख्नुपर्नेमा जोड दिएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहुको पछिल्लो आरोपपछि अमेरिकाले भने सन् २०१५ को आणविक सम्झौता राम्रो नियतले नगरिएको प्रष्ट भएको जनाएको छ ।

अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स, बेलायत र इरानबीच भएको सन् २०१५ को आणविक सम्झौताको विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उक्त सम्झौतामा कायम रहने वा उक्त सम्झौतालाई तोड्ने भन्ने विकल्पको निर्णय लिनका लागि यसै महिनाको १२ गतेसम्म समय रहेको छ । अमेरिकाबाहेक बेलायत र फ्रान्सलगायत सम्झौताका अन्य हस्ताक्षर राष्ट्रले भने इरानले सन् २०१५ को सम्झौताअनुसार काम गरिरहेको भन्दै यसै सम्झौतालाई कायम राख्नुपर्ने विषयमा जोड दिँदै आएका छन् ।
इरानले के भन्यो ?
तेहरानले आफ्नो आणविक महत्वकांक्षाबारे झुटो बोलेको भन्ने इजरायली प्रधानमन्त्री नेतान्याहुले लगाएको आरोपप्रति प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त आरोप काम नलाग्ने र लाजमर्दो भएको बताएका छन्।

इरानको गोप्य आणविक कार्यक्रम भन्दै लगाइएको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ को सम्झौतामा नै रहिरहने निर्णय लिन्छन् की भनेर डराएका इजरायली प्रधानमन्त्रीको कुटिल चाल भएको इरानी विदेशमन्त्री जाभाद जारिफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
इजरायली पक्षले जारी गरेको विवरण पुरानै आरोपको निरन्तरता भएको र यस विषयमा अन्तर्राष्ट्रिय एटोमिक इनर्जी एजेन्सी (आइएइए)ले इरानको आणविक विगतलाई अनुसन्धान गरेर पहिले नै समाधान गरिसकेकोसमेत विदेशमन्त्री जारिफले बताएका छन्।

आइएइएले कसरी प्रतिक्रिया जनाएको छ ?
इजरायली प्रधानमन्त्री नेतान्याहुले लगाएको आरोपबारे आइएइएले कुनै प्रतिक्रिया नजनाए पनि सन् २०१५ मा उसले जारी गरेको रिपोर्टमा भने सन् २००३ मा इरानले आणविक विस्फोटक उपकरणको विकास गरेको भन्ने केही सम्बन्धित तथ्यलाई भने पत्ता लगाएको उल्लेख गरेको थियो । उक्त रिपोर्टमा नै सन् २००९ पछि इरानले कुनै आणविक विकाससँग सम्बन्धित गतिविधि गरेको भन्ने विश्वसनीय स्रोत पत्ता नलागेको पनि उल्लेख गरिएको छ।

नेतान्याहुले सार्वजनिक गरेको डकुमेन्टमा के थियो ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सन् २०१५ मा विश्वका ६ वटा शक्तिशाली राष्ट्रसँग आणविक सम्झौता गर्नुपूर्व उसको महत्वकांक्षी आणविक कार्यक्रमबारे झुटो बोलेको प्रमाणित हुने हजारौं गोप्य आणविक फाइलको प्रमाण भएको भन्दै सोमबार विवरण सार्वजनिक गरेका थिए ।

उनले इरानले गोप्य आणविक हतियार कार्यक्रम सञ्चालन गरेका आरोप लगाउँदै सन् २००३ मा आणविक हतियार कार्यक्रम, ‘प्रोजेक्ट अमाद’बारे विश्वले थाहा पाएपछि बन्द गर्छु भने पनि निरन्तरता दिएको बताएका थिए । नेतान्याहुले जारी गरेको विवरण सन् २००२ मा इरानबाट लखेटिएका विपक्षी समूहले खुलासा गरेको विवरणसँग मिलेको छ । इरानबाट निकालिएका विपक्षी समूहले त्सबेला इरानले गोप्य रूपमा आणविक केन्द्र सञ्चालन गरिरहेको बताएका थिए ।

लामो समयदेखि एकअर्काका शत्रुका रूपमा परिचित इरान र इजरायलबीच पछिल्लो समय थप विवाद चर्किएको छ । इजरायलको उत्तरपूर्वी क्षेत्रमा पर्ने सिरियाली सहरमा इरानले सैन्य उपस्थिति विकास गरेपछि दुई देशबीचको तनाव थप चर्किएको बिबिसीले उल्लेख गरेको छ।

इरानले भने आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने आरोप जहिले पनि अस्वीकार गर्दै तीन वर्ष अघि आफ्नो आणविक ऊर्जा कार्यक्रम पनि रोक्नेबारे सम्झौता गरेको थियो । उसले विश्वका ६ शक्तिशाली राष्ट्रसँघ सन् २०१५ मा आफूमाति लागिरहेको प्रतिबन्ध हटाउने शर्तमा आणविक सम्झौता गरेको थियो ।

सन् २०१६ देखि लागू भएको आणविक सम्झौता उल्लङ्घन गरेको भन्ने आरोपको प्रमाण भने इजरायली प्रधानमन्त्रीले उपलब्ध नगराए पनि तेहरानले इरानी रक्षा मन्त्रालयमा प्रोजेक्ट अमादलाई निरन्तरता दिइरहेको जिकिर भने गरेका छन्।

अमेरिकाले के भन्यो
नेतान्याहुको आरोपबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले प्रारम्भिक प्रतिक्रिया जनाउँदै इरानसँग मजबुत गोप्य आणविक हतियार रहेको भन्ने विषयमा इजरायलसँग सहमत रहेको जनाए पनि केही पछि उसले प्राविधिक त्रुटी भएको भन्दै विज्ञप्तिमा प्रयोग गरिएको क्रियापद परिवर्तन गरेको थियो ।

‘प्रधानमन्त्री नेतान्याहुले पेश गरेको सूचनाले इरानको आणविक कार्यक्रमबारे थप विवरण पेश गरेको छ,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अमेरिकाका नयाँ विदेशमन्त्री माइक पोम्पेओले पनि इजरायली प्रधानमन्त्रीले सार्वजनिक गरेको विवरण तथ्यगत भएको बताउँदै इरानी सरकारले सत्य नबोलेको र विश्व तथा आइएइएलाई झुट बोलेको बताएका छन् ।

इरानसँग आणविक सम्झौताका लागि वार्तामा संलग्न रहेका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनका वार्ताकार रब माल्लेले इजरायली प्रधानमन्त्री नेतान्याहुले सोमबार लगाएको आरोपमा त्यस्तो नयाँ तथ्य नरहेको बताएका छन् ।

 

प्रकाशित: १९ वैशाख २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App